शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

दलहरुले मानसिकता परिवर्तन नगरे भविष्य छैन : मन्त्री चौधरी

आइतबार, ०८ साउन २०७९, १६ : ५९
आइतबार, ०८ साउन २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

‘जनताले खासखास ठाउँहरुमा प्रमुख दलहरूलाई चुनौति दिएका छन् । यो राम्रो पनि हो । अब पनि दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी अब सुध्रिन जरुरी छ । हाम्रा व्यवहारहरु सुध्रिनु जरुरी छ,’ मन्त्री चौधरीले भने । 

प्रशिक्षणात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले मेयर उपमेयरहरुलाई भने, ‘तपाईँहरू जनताका घरघरसँग जोडिनुभएको छ । साँचो अर्थमा संघीयता कार्यान्वयन गर्ने ठाउँमा हुनुहुन्छ । अब पनि मेयर उपमेयर भएर जनतालाई थर्काउने, पुलिसलाई थर्काउने, काममा ढिलाई गर्ने र भ्रष्टाचारमा रम्ने हो भने जनताले सहँदैनन् । तपाईँहरु दलका प्रतिनिधि हुनुहुन्छ । दलहरूको औचित्य पुष्टि गर्नुस् ।’ 

अहिले जनताको मानसिकता बदलिसकेकाले जनप्रतिनिधिबाट उनीहरुले धेरै आशा र अपेक्षा गरेको उनले बताए । मन्त्री चौधरीले थपे, ‘म सुध्रिन्छु, तपाईँहरु पनि सुध्रिनुस् । म गलत गर्दिनँ, तपाईँहरु पनि गलत नगर्नुस् ।’ 

सहरी विकासमन्त्री चौधरीले भौगोलिक, आर्थिक, सामाजिक एवं विविध कारणले पछाडि परेका नगरपालिकाहरुलाई समान ढंगले विकासको मार्गमा अघि बढाउन मन्त्रालय तयार रहेका बताए । हरेक नगर पालिकामा कम्तिमा ३ जना अर्बन प्लानरको व्यवस्था गरेर व्यवस्थित सहर बनाउने उनले  आफ्नो योजना समेत सुनाए । अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका नवनिर्वाचित मेयर, उपमेयर एवं प्रशासकीय अधिकृतहरुको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप