राजनीतिमा तेस्रो धारको चर्चा कति बलियो ?
नेपालको राजनीतिमा विभिन्न प्रयोग र अभ्यास हुँदै आएको छ । यही प्रयोग र अभ्यासको बारम्बारको पुनरावृत्तिले गर्दा राजनीतिले लामो कोर्स पूरा गर्दासम्म पनि निश्चित आकार लिन सकेको छैन । राजनीतिक मामला मात्र होइन, सबै मामलामा नेपाल प्रयोगशाला जस्तो देखिन्छ । यसको पछाडि आन्तरिक र बाह्य दुबै शक्ति केन्द्र तथा स्वार्थ समूहहरूको भूमिका जिम्मेवार मानिएको छ । यिनै घरेलु र बाह्य शक्ति केन्द्रहरूको दबाब र प्रभावलाई रोक्न सक्ने सामर्थ्य नभएका कारण र कतिपय नेताहरू सत्तामा टिकी रहनका लागि नेताहरूले यिनै शक्ति केन्द्र धाएका कारण पनि नेपालको राजनीतिले स्थायित्व लिन सकेको छैन ।
अस्थिर राजनीतिकै बीचमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । संघ र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने प्रक्रिया अघि बढेको छ । स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै राजनीतिक दलहरूले आगामी संघ र प्रदेशको निर्वाचनका लागि चुनावी रणनीति बनाउँदैछन् । यही चुनावी रणनीति या सत्ता छिनाझपटीका बीच राजनीतिमा तेस्रो धारको राजनीतिक शक्ति निर्माणको चर्चा चलेको छ ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको शब्दलाई सापटी लिने हो भने नेपालमा २००७ सालदेखि २०६२/०६३ सालसम्म सम्पन्न भएका राजनीतिक क्रान्तिहरू हलाल (छ्याक छ्याके) प्रकृतिका थिए । क्रान्तिका लक्ष्यहरू पूरा भएनन् । क्रान्तिहरू जनअपेक्षा विपरीत सम्झौतामा टुङ्ग्याइयो । अपूर्ण क्रान्तिले सधैँ पूर्ण क्रान्तिको माग गरिराखेको हुन्छ । अपूर्ण क्रान्तिको बीचमा एउटा ग्याप पैदा भएको हुन्छ । यो ग्यापले राजनीतिक प्रणालीलाई सधैँ अस्थिरतर्फ डोर्याउँछ । यो अस्थिरता घरेलु र बाह्य शक्ति केन्द्रहरूका लागि स्वर्णिम र अनुकूल हुन्छ ।
बाह्य र आन्तरिक शक्ति केन्द्र तथा स्वार्थ समूहहरूलाई निस्तेज गरी नेपालको धरातलीय अवस्थाले सिर्जना गरेको वस्तुगत अवस्था र विश्व परिवेशलाई समेत विश्लेषण गरी नेपालको समकालीन राजनीतिमा तेस्रो धारको नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय हुन आवश्यक छ । यो आवश्यकताको पुष्टि स्थानीय तहको चुनावको मत परिणाम र स्वतन्त्र उम्मेदवारहरूको विजयले पनि प्रमाणित गरिसकेको छ ।
प्रगतिशील समाज शास्त्रीय दृष्टिकोणका आधारमा समाजको विश्लेषण गर्दा हरेक राजनीतिक समाजमा तीन खाले वैचारिक दृष्टिकोणलाई समर्थन या प्रतिनिधित्व गर्ने मानिस रहेका हुन्छन् । पहिलो पश्चगामी, दोस्रो यथास्थितिवादी र तेस्रो प्रगतिशील । नेपालको राजनीतिक समाजमा पहिलो समूहको नेतृत्व राजतन्त्रवादी सोच तथा पुरातन मान्यतालाई अङ्गीकार गर्ने व्यक्तिहरूले गर्दछन् । दोस्रो वैचारिक सोच या मान्यता राख्ने व्यक्तिहरूको समूहको प्रतिनिधित्व नेपाली काँग्रेस र नेकपा एमालेलाई समर्थन गर्ने व्यक्तिहरूको समूहले गर्दछन् भने तेस्रो समूहको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (विप्लव), (वैद्य),नेपाल कम्युनिस्ट पार्टी मसाल, नारायणमान बिजुक्छेले नेतृत्व गरेको नेपाल मजदुर किसान पार्टी र माओवादी पार्टीभित्र रहेको क्रान्तिकारी स्प्रीट र आदर्श बोकेका ठूलो पङ्क्तिले तेस्रो धारको प्रतिनिधित्व गर्दछन् ।
२०१७ सालदेखि २०४६ साल सम्म झण्डै ३० वर्षसम्म पुरातनवादी (दैवीय शक्ति) सोचमा आस्था वा मान्यता राख्ने राजनीतिक शक्ति जसको नेतृत्व राजाले गरे, त्यसले राजकीय सत्ताको कार्यकारिणी तहमा बसेर शासन गरे । यो शक्तिको परीक्षण भैसकेको छ । समाज विकासको सरल नियम के हो भने इतिहास दोहोरिन्न तर विकास हुन्छ । समाज विकाससम्बन्धी सामान्य नियमका आधारमा हेर्दा पुरातनवादी सोच राख्ने पहिलो समूहले आफूलाई उन्नत ढङ्गले परिष्कृत नगरेसम्म यो धाराले राजकीय सत्ताको नेतृत्व गर्न सक्ने अवस्था छैन । दोस्रो धारको नेतृत्व गर्ने नेकपा एमाले र नेपाली काँग्रेसले २०४६ सालदेखि २०६२/०६३ सालसम्म र त्यसपछि पनि निरन्तर रूपमा राजकीय सत्ताको नेतृत्वमा रहेर शासन गरिरहेका छन् ।
२०६२/०६३ पछि नेकपा माओवादी भित्रको संशोधनवादी धारले पनि सत्ताको नेतृत्व गरी सकेको छ । यी राजनीतिक दलहरूले बोकेको राजनीतिक विचार, आदर्श र नेतृत्व शैली समेत पूर्णतः असफल भैसकेको अवस्था हो । यो अवस्थामा तेस्रो राजनीतिक शक्तिले मात्र नेपाली जनतामा केही थप उत्साह जगाउन सक्दछ । राजनीतिक व्यवस्था प्रतिको जनआक्रोश र वितृष्णालाई मत्थर गर्न सक्दछ ।
राजनीति शास्त्रीय दृष्टिकोणबाट हेर्दा कुनै पनि विचार र नेतृत्व आकस्मिक रूपमा पैदा हुँदैन । कुनै विशिष्ट राजनीतिक घटनाक्रमले विचार र नेतृत्वको विकास हुन्छ भन्ने मान्यता रहँदै आएको छ । विचार र नेतृत्व विकाससम्बन्धि अन्तर्राष्ट्रिय घटनाक्रमहरूको अध्ययनले पनि यही मान्यतालाई पुष्टि गर्दछन् । नेपालको अहिलेको परिवेशमा चर्चामा आएजस्तो तेस्रो धारको राजनीतिक शक्तिको विकास चमत्कारपूर्ण या आकस्मिक रूपमा विकास हुन सम्भव छ ? के नेपालको सत्ता राजनीतिमा पूर्णतः परीक्षण भैसकेका उमेरका हिसाबले पनि उत्तरार्द्धतर्फ ढल्कँदै गरेका माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र आंशिक रूपमा परीक्षण भएका बाबुराम भट्टराई र पुष्पकमल दाहालले आफूले सत्ताको नेतृत्व गर्दा गुमाएको जनविश्वासलाई पुनर्जीवित गर्न सक्दछन् ?
प्रश्न विचारको भन्दा पनि पहिलो र महत्त्वपूर्ण प्रश्न भनेको नेतृत्वको हो । यी नेतृत्व जसले राजकीय सत्ताको नेतृत्वमा रहेर प्रत्यक्ष या परोक्ष लामो समयसम्म शासन गरे, उनीहरू हजार पटक दूधको कुण्डमा डुबुल्की मारेर हामी शुद्ध भयौँ भने पनि जनताले हत्तपत्तै या तुरुन्तै विश्वास र स्विकार्ने अवस्था देखिन्न । भनिन्छ, भोगटेको बोटमा सुन्तला फल्दैन ।
नेतृत्वपछि दोस्रो महत्त्वपूर्ण प्रश्न हो विचार । नेपालको कम्युनिस्ट आन्दोलनको टुटफुट र विभाजनको इतिहास हेर्ने हो भने यी चर्चामा आएका नेताहरूले नेतृत्व गरेका पार्टीहरूले अङ्गीकार गरेका राजनीतिक आदर्श वा वैचारिक दृष्टिकोणमा देखिएको विचलन या वैचारिक मतभिन्नताकै कारण नेपालका कम्युनिस्टहरू बारम्बार विभाजन हुँदै आएको तितो अनुभव हाम्रो सामु छर्लङ्गै छ । नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा यी परिदृश्यमा देखिएका नेताहरू जिम्मेवार छन् ।
अहिले नेपालमा के त्यस्तो विशिष्ट परिघटना घट्यो या घट्दै छ, जसले यी नेताहरूको चेत रातारात खुल्यो या खुल्दैछ ? यी नेताहरूले तत्कालै आफ्ना राजनीतिक दस्तावेजलाई पुनर्लेखन या खारेज गर्ने आधार र औचित्य कसरी प्रमाणित गर्ने, आधार के ? र, के त्यो सम्भव छ ? के वर्षौंदेखि थाती रहेका विवादित विषय या मतभिन्नताहरू जादुको छडी जस्तै गरी तत्कालै घटाउन या सल्टाउन सक्ने अवस्था छ ? एकले अर्काको नेतृत्व स्वीकार गर्न नसकेकै कारण विगतमा विभाजित भएका नेताहरूमा यो उमेरमा सबैले सबैलाई स्वीकार गरेर तत्कालै सर्वसम्मत विचार र नेतृत्व स्वीकार र निर्माण गर्ने सम्भावना र अवस्था छ ? यस्ता थुप्रै प्रश्नको चित्तबुझ्दो जवाफ नेताहरूले नदिंदासम्म यी उद्धृत नेताहरूबाट तेस्रो धारको वैकल्पिक शक्ति निर्माण गर्ने सम्भावना र अवस्था देखिन्न ।
सत्ता र शक्तिको स्वादको परख गरेका नेताहरूलाई सत्ता बाहिर बस्दा पानीविनाको माछा जस्तै छटपटी हुने गरेको अनुभव नेपालीहरूले राम्रै गरी अनुभूत गरेका छन् । संघ र प्रदेश सांसदहरूको कार्यकाल मङ्सिरमा सकिदैछ । नेकपा माओवादीलगायत पार्टीहरूलाई सत्ताको नेतृत्वमा पुग्न नेपाली काँग्रेस र नेकपा एमाले जस्ता ठूला पार्टीहरूको सहारा आवश्यक छ । त्यो सहाराको खोजीमा अन्य साना दलहरू पनि लागेका छन् । धेरै सिट यी दुई स्थापित शक्तिहरूमध्ये कोबाट पाउन सकिन्छ भन्ने मनसायले तेस्रो उपगठबन्धनको चर्चा चलाएको भन्ने आरोप यी चर्चामा आएका नेताहरूलाई लागेको छ । यो तर्क र आरोपमा धेरै सत्यता छ ।
जब जब चुनाव आउँछ, तब तब यस्ता फण्डा निकालेर नेताहरूले सस्तो लोकप्रियताका लागि मिडियाबाजी गर्दछन् । निर्वाचन सकिएको भोलिपल्टदेखि नै यस्ता चर्चा सेलाउन थाल्दछन् । सत्तामा रहँदा आफ्नो आदर्श र जनताका सामु गरेका बाचा भुल्ने प्रवृत्ति र मनोदशाबाट ग्रसित नेताहरूबाट तेस्रो वैकल्पिक शक्ति निर्माण गर्ने सतत् प्रयास गरेका होलान् भन्ने भरपर्दो आधार र विश्वास देखिन्न ।
कम्युनिस्ट र गैर कम्युनिस्ट नेताहरूले वृहत् समाजवादी केन्द्रको निर्माण गरेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गरी एमाले र नेपाली काँग्रेसको विरासत तोड्नका लागि तेस्रो वैकल्पिक राजनीतिक शक्ति निर्माण आजको आवश्यकता हो । तेस्रो शक्तिको आवश्यकताको महसुस गरी बहस चलाउनु समय सान्दर्भिक छ । यो समयको माग पनि हो । मार्क्सवादमा आस्था राख्ने सबै नेताहरूले आफ्ना विगतका कमीकमजोरीहरूबाट पाठ सिकेर त्यागको भावनालाई शीर्षस्थानमा राखेर अघि बढ्ने प्रण गर्दा यो सम्भव पनि देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिङ–नौबिसे सडकखण्ड आंशिक बन्द गरेर धमाधम काम, तस्बिरहरु
-
सामाजिक सञ्जाल प्रयोगमा कठोर बन्दै दलहरू
-
ओलम्पिक कमिटीको कार्यालयमा प्रहरी परिचालन
-
सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा, यस्तो छ कारण
-
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
-
इलाका प्रशासन कार्यालय रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु