सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग

आइतबार, ०८ साउन २०७९, १५ : ०२
आइतबार, ०८ साउन २०७९

प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेकी छन् । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेकी हुन् ।

उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरिन् । उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराइन् । बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा कार्यक्रम रोकेको उनले बताइन् ।

विशेष समयमा सांसद भीमबहादुर रावलले एक महिनाअघि स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने सरकारको निर्णय कार्यान्वयनका सन्दर्भमा सभामुखबाट दिइएको निर्देशन पनि सरकारले नसुनेको बताए । उनले तत्काल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले गोरखा भर्तीसम्बन्धी सन्धिका असमानता हटाउन पहल गरी देश र जनताको हितमा ध्यान दिइ सरकारलाई आग्रह गरे ।
 
सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ मार्ग अघि बढाउन र चीनसँग आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ गरी समृद्धिका लागि बलियो पूर्वाधार तयार पार्न ध्यानाकर्षण गराए । बालाजु–रानीपौवा–पिपल्टार पासाङल्हामु राजमार्ग निर्माणकार्य उतारचढावका बीच अहिले अलपत्र अवस्थामा पुगेकाले तत्काल निर्माण कार्यलाई तीव्रता दिन उनले आग्रह गरे । 

सांसद रामबाबु यादवले पीडित किसानका लागि राज्य उदासिन भएको बताए । उनले किसान मल मागिरहेको तर राज्यले मल दिन नसक्नु दुखद् भएको बताए । साउन दोस्रो हप्ता आउँदा पनि पानी नपरेर कृषि कर्ममा लागेका किसान छटपटाइरहेका र रोपेका धानखेत सुक्न थालेको बताए । 

सांसद हृदयेश त्रिपाठीले आर्थतन्त्रको अवस्था कमजोर हुँदै आएको बताए । मल नपाउँदा उत्पादनमा कमी आउने देखिएकाले गार्हस्थ उत्पादनमा ध्यान दिन आग्रह गरे । सांसद अतहर कलाम मुसलमानले नागरिकता विधेयकका सम्बन्धमा अभिव्यक्ति दिँदा सचेत हुनुपर्नेमा जोड दिए । राष्ट्रहितमा नागरिकता विधेयक अघि बढेको पनि उनले बताए । 

सांसद दिलकुमारीले रौतहटमा दाइजोका कारण बिहे भएको २७ दिनमा नै महिलाको हत्या भएको भन्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गरिन् । सांसद गङ्गा चौधरीले सीमासुरक्षामा सरकारको ध्यान नपुगेको बताइन्  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप