शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कोभिडबारे श्वेतपत्र जारी गर्न सरकारलाई काँग्रेस नेतृ डिला संग्रौलाको आग्रह

आइतबार, ०८ साउन २०७९, १४ : २४
आइतबार, ०८ साउन २०७९

 नेपाली काँग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डिला संग्रौला पन्तले कोभिडबारे श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्धि र आगामी चुनौती समेटेर श्वेतपत्र जारी गर्न आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट सक्रिय संक्रमितहरूको संख्या देशभर झन्डै तीन हजार पुग्न लागेको उल्लेख गर्दै उनले कोभिडको अर्को चरणबाट हाम्रो देशको अर्थतन्त्र र जनसमुदायलाई कसरी जोगाउने भन्नेबारे सरकारको पर्याप्त ध्यान गएको नदेखिएको पनि बताइन् ।

उनले भनिन्, ‘केन्द्रमात्रै हैन, प्रदेश र स्थानीय सरकार, गैर सरकारी संस्था तथा आम जनसमुदायलाई परिचालित गरेर कोरोना संक्रमणसँग जुध्न अभियान नै सुरु गर्न पनि म आग्रह गर्दछु ।’ विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेको र ७५ देशमा १६ हजार भन्दा बढीमा यसको संक्रमण पुष्टि भइसकेको सन्दर्भमा यसबारेमा पनि सचेतक रहन जरुरी रहेको उनले प्रस्ट पारिन् ।

उनले स्वास्थ्य बीमा कार्यक्रम बापत सरकारले दिनुपर्ने भुक्तानी प्राप्त नभएको भन्दै सरकारी अस्पतालहरुले नै उक्त कार्यक्रम स्थगित गरिएको सार्वजनिक सूचना प्रकाशित गरिरहेको अवस्था अत्यन्तै गम्भीर विषय भएको भन्दै यो समस्या तत्काल समाधान गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप