बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फा निर्वाचनका ‘गेम चेन्जर’ नै अल्पमतमा

आइतबार, ०८ साउन २०७९, १३ : ४७
आइतबार, ०८ साउन २०७९

नेपाली फुटबलको राजनीतिमा नवीन पाण्डे चुनाव ताका निकै चर्चामा आउने गर्छन् । फुटबलमा उनको राजनीति मज्जाले चल्छ । त्यसैले त पाण्डे एन्फाको विदेश विभागको कुर्सीलाई सारै माया गर्छन् । कर्मा छिरिङ शेर्पा नेतृत्वमा आउँदा होस् या अहिले पंकजविक्रम नेम्वाङ नेतृत्वमा आउँदा होस्, उनको मुख्य योजना भनेको नै विदेश विभाग प्रमुख बन्ने थियो । 

तर एन्फा निर्वाचनमा पंकज विक्रम नेम्वाङलाई जिताउन मुख्य भूमिका खेलेका जर्मन नागरिक पाण्डे यतिबेला आफै अल्पमतमा छन् । अघिल्लो नेतृत्वमा विवादमा आएर राजीनामा दिएका उनी यो पटक पनि लामो समय सो कुर्सीमा बस्ने अवस्था छैन । उनलाई बर्खास्त गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का उपाध्यक्ष दीपक खतिवडासहित दश सदस्यहरुले माग गरिसकेका छन् । विदेशी नागरिक भएर नेपालमा श्रम स्वीकृत नै नलिई उनलाई एन्फामा नियुक्त गरिएको उनीहरुको आरोप छ । एन्फाको विधानमा विदेशी नागरिकलाई कुनै पनि पदमा राख्न नमिल्ने व्यवस्था छ। 

पाण्डे यसअघि कर्मा छिरिङ शेर्पा नेतृत्वमा हुँदा पनि अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख तथा अध्यक्षका मुख्य सल्लाहकार थिए । तर एक वर्षपछि नै उनी राजीनामा दिएर बाहिरिएका थिए । त्यस्तै एन्फाका अर्का प्रमुख पात्र दावा लामा लामालाई शेर्पाले फुटसल समितिको संयोजकबाट हटाइएको थियो । त्यसपछि मात्र उनीहरु दुवै जना नेम्वाङसँग नजिकिएका थिए ।

बालुवाटारको सहयोगमा एन्फा अध्यक्ष पदमा नेम्वाङलाई जिताउन आफूले ‘गेम चेन्जर’ को भूमिका खेलेको पाण्डेले दाबी गर्दै आएका छन् । चुनावमा पाण्डेले लगाएको गुनको ऋण तिर्न नेम्वाङले अहिले उनकै निर्देशनमा नियुक्ति र निर्णयहरु पारित गर्दै आइरहेका छन् । नेम्वाङले पहिले बैठकमा नै पाण्डेलाई विदेश विभाग प्रमुख र किरण राईलाई महासचिवमा नियुक्त गरे । पहिलो बैठकमा नै आफ्नो दुई धार देखिने हिसाबले थापा र शेर्पा प्यानलले केही बोलेन । तर अहिले अवस्था फेरिएको छ ।

यतिबेला एन्फामा पूर्व अध्यक्ष गणेश थापाको प्यानल बलियो साबित भएको छ । एन्फाको कार्यसमितिमा जम्मा १९ सदस्य छन् । त्यसमा थापा पक्षका १० सदस्य छन् । बाँकी ७ कर्मा छिरिङ शेर्पा र दुई सदस्य मात्र अहिले लामा पक्षका छन् ।

पाण्डे र लामा अल्पमतमा परेपछि एन्फा कार्यसमितिको दोस्रो बैठक बस्न सकेको छैन । पहिलो बैठकमा नेम्वाङ अस्पताल भर्ना भएका कारण बैठक बस्न सकेन भने दोस्रो बैठकमा एजेन्डामा प्रवेश नगरी नै स्थगित भयो ।

सुशासन र सामूहिक एकताको नारा बोकेका नेम्वाङलाई अहिले पाण्डेको विदेश विभाग कार्डले सताएको छ । यता थापा पक्षले पनि नेपाली फुटबलमा पछिल्लो समय पुनः राज गर्न खोजिरहेको देखिन्छ । एन्फामा स्पष्ट बहुमत भएको थापा पक्षले नेपाली फुटबलमा अबको चार वर्ष राज गर्ने अवस्था छ ।

पाण्डे बर्खास्त नभएसम्म थापा पक्षले एन्फा बैठक चलाउन दिने अवस्था छैन । ‘विधान मै नभएको व्यक्तिलाई ल्याएर विदेश विभाग प्रमुख बनाएका छन् । उनी पहिले पनि त्यो पदमा बस्दा विवाद भएर छोडेका थिए । अहिले पनि उनले राजीनामा नदिएसम्म कार्यसमिति बैठक प्रभावित हुने सम्भावना छ,’ एन्फाका एक सदस्यले भने । यसरी जर्मन नागरिक पाण्डे र गणेश थापा पक्षबीच नेपाली फुटबलमा हाबी हुने होडले नेपाली फुटबलको विकास नै ओझेलमा पर्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप