बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्न जोड

आइतबार, ०८ साउन २०७९, १२ : ३०
आइतबार, ०८ साउन २०७९

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरु सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोगहरु बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धि र पूर्व तयारीको काम गर्नुपर्ने बताए । नेपालको स्वास्थ्य क्षेत्रको क्षमताका कारण कतिपय बिरामीहरू उपचारका लागि देशबाहिर जानुपर्ने अवस्था रहेको समेत अध्यक्ष तिमिल्सिनाले औंल्याए। ‘नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य सम्बन्धि अध्ययनका लागि रकम बाहिरिरहेको छ,’ उनले भने, ‘यो हाम्रो स्वास्थ्य क्षेत्रको क्षमता कमजोर वा विश्वासको कमीले हो।अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा कति रकम बाहिरिएको छ भनेर पनि अध्ययन जरुरी छ।‘

स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि तथा विश्वास बढाउनका लागि स्वास्थ्य क्षेत्रमा कार्यरतसँगै जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण हुने धारणा उनले राखे। राजनीतिक परिवर्तनका नाममा देशले लामो समय गुजारेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले अब देशमै अध्ययन, उपचारको व्यवस्था र रोजगारीका अवसर सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । 

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले कोरोना लगायतका महामारी र अन्य रोगहरु बढ्ने क्रममा रहेकाले पूर्वतयारीका काममा सरकार र सरोकारवाला निकायको ध्यान पुग्न जरूरी रहेको बताए।
‘कोभिड लगायतका महामारीले गर्दा स्वास्थ्यमा मात्रै नभइ मानसिक, आर्थिक र सामाजिक लगायतका समस्याहरु पनि बल्झिएको छ,’ राष्ट्रिय सभाका सांसदहरु सहभागी कार्यक्रममा उनले भने, ‘स्वास्थ्यलगायत राष्ट्रिय समस्याबारे गम्भीर छलफल र समाधानका लागि हामीले चासो राख्नुपर्छ।‘

अध्यक्ष तिमिल्सिनाले एकातिर कोभिड विरुद्धको खोप म्याद गुज्रेर जाने अवस्था रहेको छ भने अर्कोतर्फ कतिपय नागरिकले खोप लगाउन नमानेको रिपोर्टहरू आइरहेको बताउनुभयो। यो अवस्थाको अन्त्य गर्न र शतप्रतिशत नागरिकलाई खोप लगाउनका लागि जनचेतना फैल्याउने दायित्व सरकारसँगै जनप्रतिनिधिको पनि भएको औंल्याए । 

उनले अहिले पनि कोभिडको जोखिम उत्तिकै रहेको बताउँदै उनले स्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गर्दै लक्षण देखिँदा परीक्षण गर्न आग्रहसमेत गरे । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले देशको स्वास्थ्य अवस्थाबारे राष्ट्रिय सभाले देखाएको चासो र जनस्वास्थ्यका लागि खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरे। उनले अहिले सर्ने र नसर्ने रोगका कारण समस्या थपिरहेको सन्दर्भमा जनप्रतिनिधिले निर्वाह गर्ने भूमिकाले मन्त्रालयलाई मार्गनिर्देशन गर्ने अपेक्षा व्यक्त गरे ।
त्यसैगरी विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश संभाजीराव पाण्डवले आपत्कालिन पूर्वतयारी लाई सबल बनाउन र समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सांसदहरूको भूमिका महत्वपूर्ण रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप