आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

ट्राफिक र सहचालकको भाइरल भिडियो : वास्तविकता के हो ?

आइतबार, ०८ साउन २०७९, ११ : १९
आइतबार, ०८ साउन २०७९

काठमाडौंको महाराजगञ्जमा सार्वजनिक गाडीका सह चालकबाट ट्राफिक प्रहरीका सहायक हवल्दारले पैसा लिएको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । बाबा गोकर्णेश्वर यातायातको प्रदेश–३–०१–००६ख ०५८० नम्बरको बसको अघिल्तिर उभिएर सहायक हवल्दारले पछाडि हात लगेका छन् । सह–चालकले पैसा गनिरहेको भिडियोमा देखिन्छ ।

साउन ३ गतेको सो घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानविन गरिरहेको छ । प्रारम्भिक छानबिनबाट ट्राफिक प्रहरीले पैसा लिएको पुष्टि नभएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख (डीआईजी) मीरा चौधरीले रातोपाटीलाई बताइन् ।

सो गाडी अमृत तामाङले चलाएका थिए । रोक्न निषेध गरेको ठाउँमा चालकले बस रोकेपछि हटाउन खोज्दा पेल्दै बस अघि बढेपछि सहायक हवल्दार गाडीको अघिल्तिर उभिएको डीआईजी चौधरीले बताइन् । उनले भनिन्– ‘पैसा दिएको होइन, सह–चालकलाई हामीले बोलाएर सोधपुछ गरेका छौं ।’

सह–चालकले ट्राफिक प्रहरीलाई पैसा दिएको कुरा अस्वीकार गरेका छन् । भिडियोमा देखिने सहायक हवल्दार नवराज अधिकारी हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा गएर सह चालकले आफुले अधिकारीलाई पैसा नदिएको भनेर कागज गरेका छन् ।

भिडियोमा ट्राफिकले सह चालकलाई धकेलेर पछाडि पठाएका छन् । सहचालक पछाडि गएपछि अधिकारीले आफ्नो दुई हात पछाडि लान्छन् । एकछिन पछि एउटा हात अघि ल्याएको र सहचालकले पछाडिबाट पैसा राखिदिएको जस्तो देखिने भिडियो ट्विटर र टिकटकमा भाइरल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप