नीतिका कुरा : आगो, विष र शत्रु सानो हुँदैन
महाभारतको नाम भाइबहिनीहरूले पनि सुनेकै । विश्वकै गहन र वृहद् ग्रन्थ हो यो । कतिपयलाई लाग्न सक्छ यहाँ युद्ध, मारकाट र छलछाम मात्र छ तर यथार्थ अर्कै छ । व्यासजीको भनाइलाई मान्ने हो भने यहाँ जेजति कुरा उल्लेख भएका छन् ती संसारका अन्य कुनै पनि ग्रन्थमा भेटिन्न र यहाँ उल्लेख नभएका कुरा पनि संसारका अन्य ग्रन्थमा भेट्न गाह्रो पर्छ । नीतिशास्त्रका दृष्टिले भन्ने हो भने त भण्डार नै मान्दा हुन्छ । भाइबहिनीहरूका जानकारीकारीका लागि यहाँ यस्तै केही नीतिसम्बन्धी प्रसङ्ग प्रस्तुत गरिएको छ ।
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः ।
चत्वारि सम्प्रवर्धन्ते कीर्तिरायुर्यशो बलम् ।। (उद्योगपर्व ३९।७४)
अर्थात् जसको स्वभाव नम्र छ, जो विनयशील छ, जसले गुरुजन तथा वृद्धजनको कुरा सुन्ने गरेका छन् र नजिक बसेर उनीहरूका आवश्यकता बुझी सो अनुसारको सेवा दिने गरेका छन् उनीहका आयु, आरोग्य, यस, कीर्ति र बल बढ्ने गर्छ । संसारमा गुरुजन तथा अग्रजहरूको सेवा र सम्मानभन्दा ठूलो धर्म अर्को छैन, हुँदैन । धेरै होइन आदरपूर्वक उनीहरूका कुरा सुनेर उनीहरूले बताए अनुसारको बाटोमा हिँड्ने बानी मात्र बसाउने हो भने धेरै कुरा सिक्न, बुझ्न र प्राप्त गर्न सकिन्छ ।
उत्साहश्चापि यत्नेन कर्तव्यो भूतिमिच्छता । (आदिपर्व २३९।८५)
अर्थात् यदि जीवनमा धनसम्पत्ति तथा ऐश्वर्य र कल्याणको कामना गर्ने मानिसले आफू स्वयं उत्साहित भई अघि बढ्ने प्रयास गर्नुपर्छ । अर्कोले गरिदेला भनेर पर्खनु पनि हुँदैन र कसैको बाटो हेरेर बस्नु पनि बुद्धिमानी होइन । आफ्नो जीवन आफैले जिउने हो भने आफू हिँड्ने बाटो पनि आफैँले बनाउने हो, पहिल्याउने हो । कतिपय मानिस भाग्यको कुरा गर्छन् तर के बिर्सनुहुन्न भने त्यस्तो भाग्य बनाउने काम पनि आफैँले गर्ने हो । भाग्य न आफैँ बन्छ न धामीझाँक्री बसाएर वा चिनाटिप्न हेराएर प्राप्त गर्न सकिन्छ । भाग्य त त्यसैलाई प्राप्त हुन्छ, जसले बनाएको छ ।
ऋणशेषमग्निशेषं शत्रु शेषं तथैव च ।
पुनः पुनः प्रवर्धन्ते तस्माच्छेषं न धारयेत ।। (शान्तिपर्व १४०।५८)
जीवनमा उन्नति र प्रगति गर्न चाहने मानिसले कहिल्यै पनि ऋण, अग्नि र शत्रुलाई शेष राख्नु हुँदैन । अर्थात् तिनीहरूलाई तत्कालै हटाउने वा व्यवस्थापन गर्ने गर्नुपर्छ । अन्यथा कतिबेला कसको अवस्था कस्तो हुन्छ कसैले पनि भन्न सक्दैन । यिनीहरू भनेका यस्ता रक्तबीज हुन्, निरन्तर बढ्दै गएर कुनै पनि घरखेत समाप्त पार्न सक्छन् । न आगोलाई बढ्न बेर लाग्छ न ऋण र शत्रुलाई बढ्नै समय लाग्छ । त्यतैले आत्मकल्याणको कामना गर्ने मानिसले यसतर्फ सतर्क हुनैपर्छ ।
दैवी सम्पद्विमोक्षाय निबन्धायासुरीमता । (भीष्मपर्व ४०।५)
अर्थात् दैवी सम्पत्तिले अर्थात् धर्मपूर्वक गरेर कमाएको सम्पत्तिले सुख, शान्ति र आनन्द दिन्छ भने अनीतिपूर्वक जम्मा गरेको सम्पत्ति छ भने दुःख बाहेक केही पनि दिँदैन । यहाँ धर्मपूर्वक भन्नाले आफैँले परिश्रम गरेर कमाएको सम्पत्ति बुझ्नुपर्छ । त्यस्तै अनीतिपूर्वक कमाएको सम्पत्ति भन्नाले घुस, भष्टाचार तथा जुवा तास आदिबाट कमाएको सम्पत्ति बुझ्नुपर्छ । जसले परिश्रम गरेर सम्पत्ति कमाएको छ उसका निम्ति देवता, पितृ, इष्टमित्र छरछिमेकी सबै खुसी हुन्छन् र परेको बेला सहयोग पाइन्छ । नराम्रो काम गरेर सम्पत्ति कमाएको छ भने त्यस्ता मानिसलाई कसैले पनि मन पराउँदैनन्, जसले गर्दा परेको बेला कसैबाट पनि सहयोग पाइन्न ।
न च शत्रुरवज्ञेयो दुर्बलोऽपि बलीयसा ।
अल्पोऽपि हि दहत्यग्निर्विषमल्पं हिनस्ति च ।। (शान्तिपर्व ५८।१७)
शत्रु दुर्बल होस सबल कहिल्यै अनदेखि गर्नुहुँदैन । जसरी अग्निको सानै झिल्कोले पनि तत्कालै बढ्दै गएर सबै चीजलाई भष्म पार्न सक्छ र विषको एउटै थोपाले पनि जीवन लिन सक्छ त्यसैगरी शत्रुले पनि कतिबेला कस्तो उधुम मच्चाउने हो यसै भन्न सकिन्न । त्यसैले जतिसुकै बलियो भए पनि बुद्धिमान त्यही हुन्छ, जसले शत्रुलाई बेवास्ता गरेर बस्दैन वा बसेको छैन ।
स्रोत कल्याण नीतिसार अङ्क, गीताप्रेस गोरखपुर