शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीमा अन्तर्घात: रङ्गेलीमा २ हजार २ सय पार्टी सदस्य, मत आयो १३ सय

पार्टी पराजयका ५ कारण पहिचान
शनिबार, ०७ साउन २०७९, १९ : ०५
शनिबार, ०७ साउन २०७९

प्रदेश १ नेकपा (माओवादी केन्द्र)को बैठकले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पराजयको ५ कारण पहिचान गरेको छ । सुनसरीको इटहरीमा शुक्रबार सम्पन्न बैठकले पहिचान गरेका कारणहरूमा सांगठनिक अवस्था मजबुत नहुनु, काँग्रेसको गुटगत झगडाले गठबन्धन प्रभावकारी नहुनु, उम्मेदवार छनौटमा कमजोरी रहनु, कतिपय क्षेत्रमा घात अन्तर्घात हुनु, र उम्मेदवारी घोषणा तथा गठबन्धनको निर्णय ढिलो हुनु रहेका छन् ।

बैठकमा माओवादीका १४ जिल्लाकै जिल्ला समन्वय समितिका संयोजकहरूले रिपोर्टिङ गरेका थिए । सोही रिपोर्टिङका आधारमा प्रदेश समितिले हारका कारण ठोस गरेको हो । यस्तै माओवादी केन्द्रले अब आगामी हुने संघ र प्रदेशको निर्वाचनमा केन्द्रित हुने निर्णय पनि गरेको छ । 

जसअनुसार माओवादीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचन संयोजन समिति गठन गरेको छ । अब पार्टीका सबै गतिविधि त्यही समितिबाट हुने माओवादी केन्द्रले जनाएको छ । बैठकले जिल्ला समन्वय समिति, जनवर्गीय संगठन, जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको भेला तथा बैठक पनि छिट्टै बोलाउने निर्णय गरेको छ । यस्तै प्रदेश १ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको भेला गर्ने माओवादीले निर्णय गरेको छ । माओवादी केन्द्रले खाली रहेको प्रदेश समिति सदस्यको स्थानमा नयाँ सदस्यहरु मनोनित गर्नुको साथै प्रदेश समितिको सचिवालय गठन पनि गरेको छ । 

प्रदेशको नाम किरात–कोशी हुनुपर्ने

प्रदेश १ को नामकरणको बहस चलिरहेको बेला नेकपा (माओवादी केन्द्र) प्रदेश समितिले किरात कोशी नाम हुनुपर्ने अडान लिएको छ । बैठकमा प्रदेश १ का माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले किरात कोशीको प्रस्ताव गरेका थिए । आङ्बोको उक्त प्रस्तावलाई प्रदेश १ का माओवादी अध्यक्ष हर्क नेम्वाङ (मिक्सो)ले पनि समर्थन जनाउँदै थप व्याख्या गरेका थिए । त्यसपछि किरात कोशीमा जाने औपचारिक निर्णय गरेको माओवादी स्रोतले जनाएको छ । 

पोलिटब्यूरो सदस्यले नै अन्तर्घात गरे

माओवादी केन्द्र झापाले स्थानीय तह निर्वाचन हार्नुमा अन्तर्घात मुख्य भएको बताएका छन् । झापा जिल्ला समन्वय समितिका संयोजक राजु आचार्य (अग्नि)ले भद्रपुरमा अन्तर्घातले उपमेयर हारेको बताएका थिए । 

यस्तै ३४ प्रदेश सदस्य भएको झापामा सबै वडा हारेको भन्दै उनले पार्टीका पोलिटब्युरो सदस्यले नै उम्मेदवार हराउन लागेको आरोप पनि लगाएका थिए । उनको आरोप पार्टीकी नेतृ धर्मशीला चापागाईंप्रति लक्षित थियो । 

यस्तै मोरङका जिल्ला समन्वय समिति संयोजक विजयकुमार विश्वासले आन्तरिक एकता नहुँदा हार भएको बताए । उनले मोरङमा गठबन्धन असफल भएको पनि बताएका थिए । यसपटक २०७४ को मत पनि सुरक्षित गर्न नसकिएको र रङ्गेलीमा २ हजार २ सय पार्टी सदस्य हुँदा पनि प्रमुखलाई १ हजार ३ सयमात्रै मत आएको बताएका थिए । 

उदयपुरमा भने विगतमा भन्दा सुधार भएको रिपोर्टिङ भएको छ । यस्तै पाँचथरमा गठबन्धन सफल भए भए पनि काँग्रेसको अन्तर्घातको कारण आफूहरू पीडित बन्नुपरेको रिपोर्टिङ भएको छ । धनकुटामा भने काँग्रेसको चुनाव चिन्ह लिएर लडेकाहरू काँग्रेस नै बन्ने खतरा भएको रिपोर्टिङ भएको छ । खोटाङमा गठबन्धन सापेक्षित सफल भए पनि पार्टीभित्रको आन्तरिक एकता राम्रोसँग नहुँदा केही ठाउँमा हार व्यहार्नुपरेको रिपोर्टिङ भयो । यस्तै भोजपुरमा पनि सापेक्षित सफल भएको रिपोर्टिङ भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप