राजनीतिक दलहरुमा नागरिकता विधेयक पासको जस लिने होडबाजी
सरकारले शुक्रबार संसदबाट नागरिकता ऐनको संशोधन विधेयक पारित गरेको छ । नागरिकता विधेयक पारित हुने वित्तिकै त्यसको जस लिने होडवाजी चलेको छ । संसदबाट विधेयक पारित हुने वित्तिकै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले हिजो आफ्नो पार्टी कार्यालयमा त्यसको खुसियालीमा दीपावली नै गर्यो । आफूहरुको पहलका कारण संसदबाट नागरिकता संशोधन विधेयक पास भएको भन्दै लोसपाले दीपावली मनाएको हो ।
यता, काँग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले पनि आ–आफ्नो दावी छाडेका छैनन् । काँग्रेसका नेताहरुले आफ्नो दल नेतृत्वको सरकार नभएको भए नागरिकता विधेयक पारित हुने थिएन, काँग्रेसकै कारण यो विधेयक पारित हुन सम्भव भएको बताइरहेका छन् ।
त्यस्तै, माओवादी केन्द्रले सरकारमा रहेर यसका लागि पहल गरेको कारण विधेयक पारित हुन सम्भव भएको दाबी गर्दै आएको छ । पेरिसडाँडामा शुक्रबार भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरूको जोडबलमा नै नागरिकता विहीन नेपाली नागरिकले नागरिकता पाउन लागेको दावी गरेका थिए । उनले आफूले पटकपटक नागरिकता विहीनलाई नागरिकता दिलाउने प्रतिबद्धता गरेको स्मरण गरे ।
उता, उपेन्द्र यादव नेतृत्वको जसपाले पनि संशोधन विधेयक आफ्नो पार्टीले गरेको संघर्षका कारण पारित भएको दावी गरेको छ । सो पार्टीका केन्द्रीय सदस्य एवं वनमन्त्री प्रदीप यादवले भने, ‘मैले पटक–पटक सडकदेखि सदनसम्म उठाएको आवाज प्रतिनिधिसभाले सुनेको छ । प्रतिनिधिसभाको बैठकले नेपाल नागरिकता संशोधन ऐन पास गरेको छ । जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिलाउन सफल भएकोमा जसपाका अध्यक्ष उपेन्द्र यादव, प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई हार्दिक बधाई छ ।’
‘जसपाले मधेशी जनअधिकार फोरम हुँदादेखि नै नागरिकताको विषयमा कुरा उठाउँदै आएको हो, त्यसका लागि पटक पटक आन्दोलन गरेकै हो । प्रधानमन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउनेदेखि सदनमा कुरा राख्ने सम्मको काम जसपाले गरेको हो, अरु क–कसले के दावी गरे त्यो थाह छैन तर मधेशी जनतालाई थाह छ कि यो नागरिकता विधेयक कसरी आएको हो, त्यसैले यसमा मधेशी जनतालाई समेत धन्यावाद दिन्छु’ उनले भने ।
लोसपा कार्यकारिणी सदस्य केशव झाले लोसपा नेपालको विषेश पहलमा नागरिकता विधेयक पारित भएको बताए । ‘लोसपाले पटक–पटक नागरिकताको विधेयकको विषयमा कुरा उठाउँदै आएको हो, यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत पनि नागरिकताको समस्या समाधान गर्ने प्रयास लोसपा (त्यतिबेला जसपामा महन्थ ठाकुरको समूह) ले ने गरेको हो’ उनले भने, ‘यसका लागि पटक पटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने देखि लिएर विभिन्न संघर्षका कार्यक्रमहरु गर्दै आएको सबैलाई थाहा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत
-
‘नेपाल टेलिकमले ५ हजारसम्मको उपहार दिन्छ भन्ने सूचना झुटो’
-
बैंकर्सलाई गभर्नरको सहानुभूतिपूर्ण सन्देश, ‘हिजो ध्यान दिएको भए आजको अवस्था आउँदैनथ्यो’
-
धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने
-
नेपालीले एकदिनमा कति खान्छन् राँगा र भैँसीको मासु ?