बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिले तरलता झन् सङ्कुचन गर्ने स्थिति देखियो : उपाध्यक्ष अग्रवाल

मौद्रिक नीति अझै कसिलो आउनुपर्दथ्यो : डा. खनाल
शनिबार, ०७ साउन २०७९, १७ : १६
शनिबार, ०७ साउन २०७९

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हासिल गर्न मद्दत नपुगेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मौद्रिक नीति आउनुभन्दा पहिले नै सङ्कुचनकारी र कठोर नीति ल्याउँदैछौं भनेर भनिएको थियो । अहिले मौद्रिक नीति सङ्कुचित भएर आएको हो । सधैँ नै यही कुरा सुनेका थियौँ । हामी २ वर्षदेखि कोभिडबाट प्रभावित थियौँ । पुनर्उत्थान न हुन बाँकी छ । ग्लोबल इकोनोमीमा फरक भयो । यो आर्थिक वर्षको सुरुवातमा नै तरलताको चरम अभाव भयो । यो निजी क्षेत्र हतोत्साहित भएको वर्षको रूपमा रह्यो । सरकारले विदेशी मुद्राको उचित व्यवस्थापन गर्न सकेन । त्यसको कारणले आयात नियन्त्रण गर्नुपर्यो ।’

उनले थपे–‘उच्च ब्याजदर, नेपाली मुद्राको अवमूल्यनको अवस्था छ, गत ज्येष्ठ १५ गते बजेट आयो । त्यसमा ८ प्रतिशतको वृद्धिदर लक्ष्य राखियो । मौद्रिक नीतिमा आर्थिक वृद्धिद्धरको कुरा हुनुपर्दथ्यो । तर, त्यो देखिएन ।’

उनले बजेटमा प्रक्षेपित ८ प्रतिशतको जिडिपी ग्रोथ गर्नको लागि झण्डैझण्डै ७०० बिलियन नयाँ क्यापिटल इन्जेक्सन हुनुपर्ने उल्लेख गर्दै भने,‘नयाँ कर्जा प्रवाह गर्ने वातावरण मौद्रिक नीतिमा हुनुपर्दथ्यो । जबकि अहिले आएको नीतिले त तरलतालाई झन् सङ्कुचन गर्ने स्थिति देखियो । तरलता व्यवस्थापनमा ब्याजदर अस्ति तीन महिना अघि मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दाखेरि बैंक ब्याजदर ५ देखि ७ प्रतिशत गरेको थियो । अहिले आएर साँढे ८ प्रतिशत गरिदियो । यसले गर्दा उच्च ब्याजदर हुने भयो । यस्तो व्यवस्थाले कसरी सरकारले राखेको आर्थिक वृद्धिद्धरको लक्ष्य पूरा हुन्छ ? यो आफैँमा ठुलो चुनौती छ ।’

अर्थविद् डा. डिल्लीराज खनालले मौद्रिक नीति अझै कसिलो आउनुपर्ने थियो भन्ने धारणा राखेका छन् । उनले भने,‘के विशुद्ध रूपमा मूल्य भन्ने कुरा मुद्राप्रदायले मात्रै निश्चित गर्छ ? मौद्रिक नीति बढी माग पक्षबाट निर्देशित छ । मलाई कताकता के लागेको छ भने  अहिलेको पोलिसी आर्थिक स्थायित्व र ब्यालेन्स अफ पेमेन्टमा स्थायित्व, यो दुवै कुरामा नीतिमा असफल भएको छ ।’

उनले सप्लाई साइट र उत्पादनको साइटलाई बजेटले निर्देशित गरे बमोजिमको नीति नआएको हो कि भन्ने पनि गुनासो रहेको सुनाए ।उनले भने,‘ब्याजदर ज्यादै उच्च दर छ । मागमा सङ्कुचनमा ल्याउनुहुन्छ भने लगानी माग घट्छ । नेपालको अर्थतन्त्र अहिले ट्रयापमा छ । मूल्य अन्तर्राष्ट्रिय कारणले बढ्दै जाने अवस्था, रियल स्टेटको लगानी कम गर्ने कुरा हो, यो सकारात्मक छ ।’ उनले राष्ट्र बैंकले भोलिका दिनमा अहिले उठेका सबै आशङ्कालाई चिरेर जानुपर्नेमा जोड दिए । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले मौद्रिक नीतिले आयात प्रतिस्थापन गर्नको लागि उल्लेखनीय कुरा नगरेको टिप्पणी गरेका छन् ।

उनले भने,‘अहिलेको आर्थिक अवस्थाको कुरा गर्दा, वैदेशिक मुद्रा सञ्चिति, व्यापार घाटा, चालु खातामा रकम हेर्ने हो भने निराशा लाग्ने अवस्था छ । कर्जा धेरैजसो त अनुत्पादक क्षेत्रमा गयो । वैदेशिक मुद्रा आर्जन गर्ने भनेको कि एफडिआई लिएर हो कि रेमिट्यान्सलाई फर्मललाईज च्यालनबाट लिएर हो । या त निर्यात बढाएर हो । यो कुरामा मौद्रिक नीतिले सम्बोधन गरेको छैन । समग्रमा आयात प्रतिस्थापनमा पनि त्यति धेरै उल्लेखनीय कुरा भएको छैन ।’

वैदेशिक मुद्रा सञ्चितिको अवस्था उल्लेख गदै उनले श्रीलङ्का, लाओस् र पाकिस्तान जुन समस्यामा गएका छन् त्यो समस्यातिर जानबाट नेपाललाई रोक्ने नदेखिएको टिप्पणी गरे । उनले भने,‘हाम्रो वैदेशिक ऋण उनीहरूको तुलनामा कम होला ।’  उनले अहिलेको आर्थिक अवस्थाको सुधारको लागि फजुल खर्च कम गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप