आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सधैँ बजिरहने वाम एकताको दुन्दुभि कति कर्णप्रिय ?

शनिबार, ०७ साउन २०७९, १६ : २८
शनिबार, ०७ साउन २०७९

एकता, मिलन र सहकार्य आफैमा सुन्दर कुरा हुन्, जसले सकारात्मक ऊर्जा दिन्छ । अनेकता, विखण्डन, विभाजन र बेमेल नकारात्मक सन्देश प्रवाह गर्ने शब्द हुन् । प्रीतिकर लाग्ने कुरा सजिलै प्राप्त हुँदैन । नकारात्मक परिणतिको लागि यथेष्ट मेहनत आवश्यक हुन्न । नेपालको वाम एकतामा पनि भाँजो र फुट ल्याउने प्रशस्त पक्ष, सोच, चिन्तन, व्यवहार र गैरमार्क्सवादी दृष्टिकोण छन् । एकताको लागि चाहिने पृष्ठाधार, मिहिनेत इमान र कौशल छैन ।

तसर्थ यदाकदा देखिने वाम पुनर्मिलन पनि अनेकतामा परिणत बन्न साँझ र विहान पर्खनु पर्दैन । जुनसुकै बेला र जुनसुकै बखत दुर्घटित हुने खतरा रहिरहन्छ र देखिँदै आएको छ । विसं २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी पटक पटक फुट विभाजन र वेमेलको शृंखलाबद्ध स्वरुपमा आजसम्म आएको छ ।

वाम समर्थकको बाहुल्य भएपनि सत्ता संचालन र सत्ता नेतृत्वको अवसर कमै तर सत्ता साझेदारी सत्तामा हिस्सेदारी प्रायः पाइएको छ । एकतावद्ध हुँदा प्राप्त हुने असीमित शक्ति र सामर्थ्य वाम बुझाइमा छ तर व्यवहारमा त्यसलाई सफलीभूत बनाउन सकिरहेका छैनन् । 

आजको मूल प्रश्न यही हो कि किन कम्युनिष्टहरू आफ्नो शक्ति र सामर्थ्यको पहिचान गरेर गोलबद्ध हुन सकिरहेका छैनन् ? वाम बाहुल्य मुलुकमा किन वामइतरलाई सत्ताको तालाचाबी बुझाएर तिनले दिने भागमा एकापसमा लुछाचुँडी गरिरहेका छन् ? दिने ठाउँमा हुनुपर्ने वाम किन आज माग्ने ठाउँमा छन् ? याचक बनिरहेका छन्् ? हरेक कम्युनिष्ट नेता, कार्यकर्ताको लागि आउने पेचिलो प्रश्न हो यो । उत्तर दिन धकाउनु पर्ने प्रश्न सामना नगर्नु परेको कुनै नेता, कार्यकर्ता छैनन् ।

यद्यपि वाम नेताहरू दिलले दिमागले मिल्ने कसरत गर्दैनन् । विचार, राजनीति सिद्धान्त र संगठन मिलाउने यत्नमा जुटदैनन् । प्राविधिक एकताका कुरा गर्छन्, भावनात्मक एकता रोज्दैनन् । जुटी हालेमा मेरो स्थान कहाँ र के हुने भनी शीर्ष नेताहरू स्वयं नै भविष्यको पदीय ग्यारेण्टी खोज्छन्् । स्वार्थ सिद्ध मात्रै अभिष्ट राख्नाले कम्युनिष्ट बारम्बार विघटन र विभाजनको सम्मुख पुगिरह्न्छन््, फुटिरहन्छन््, चोइटिरहन्छन् । 

वास्तवमा फुट अविश्वास र धोखाधडी कम्युनिष्ट जीन र चरित्र हो । सामान्य कुरालाई सैद्धान्तिक लेपन लगाएर कम्युनिस्ट फुट्न उद्दत बन्छन् । माओकी कान्छी श्रीमती च्याँङ्चिङ्लाई हेर्ने दृष्टिकोणदेखि मोहनविक्रम सिंहकी कान्छी श्रीमती दुर्गाको कारण पनि कम्युनिष्ट फुट्ने गरेको कारण र प्रमाण छन् । 

अतः कम्युनिष्टहरू फुट्न सामान्य कारण प्रयाप्त देखिन्छन् । अझ अर्को रमाइलो पक्ष के छ भने कम्युनिष्ट नेता, कार्यकर्ता बन्नु जस्तो असजिलो वर्तमानमा केही हुन्न । विगतमा असजिलो यस मानेमा हुन्थ्यो कि कम्युनिष्ट कार्यकर्ता इमानी हुन्छन्, जोखिम मोल्छन्, मिहिनेती, मर्यादित, सहयोगी, सकारात्मक ऊर्जा भएका र कठोर अनुशासन पालन गर्ने, निष्ठा र विचारमा प्रतिवद्ध समतामूलक समाजका हिमायती, जनजाति र दलितका प्रिय, गरिबका मित्र आदि । 

तर आजकल कम्युनिष्ट नेता, कार्यकर्ता यति फ्लेक्जिबल छन् कि साँझमा कुख्यात दुश्मन, वर्गीय शत्रु र अपराधी घोषितसँग नै विहान सबेरै हातेमालो गरेर मित्रशक्ति मान्ने स्थितिमा पुग्छन् । दिउँसो प्रतिगामी भनिएको शक्ति मध्यरातमा अग्रगमनकारी भैसक्छ । अघिल्लो हप्ता गद्दार घोषणा गरिएको कमरेड एक हप्तामै क्रान्तिकारी बनिसक्छ । 

यसरी विरोधाभासमा पल पल बाँचेर नीति र नैतिकता लिलाम गरेर, रङ्ग परिवर्तन गर्दै हिँड्नुपर्ने, सिद्धान्त एकातिर बोली र व्यवहार अर्कोतिर गर्नुपर्ने विषम परिस्थितिमा नेपालको वाम आन्दोलन गुज्रेको छ । अविश्वसनीय गतिविधि, अस्थिरता, अन्यौल चारित्रिक स्खलन, सैद्धान्तिक विचलन, सामाजिक मूल्यको विघटन, स्वार्थको सौदाबाजी, तिरोहित व्यक्तित्व आदि कारण नेता जनता समर्थक शुभेच्छुक सबै दिग्भ्रमित बन्नु परेको छ । 

परस्परलाई गद्दार घोषणा, निलम्बन, फुट कम्युनिष्ट राजनीतिका पेवा बनेका छन् । यस्तो बेला एकताको दुन्दुभि त कर्णप्रिय सुनिएला तर रूपान्तरण र एकताको वातावरण बन्न सहज छैन । वाम एकताको सन्दर्भमा चुनाव पराजयको भयले सिर्जना गरेको आपतकालीन स्थितिभन्दा अर्को कुनै परिपक्व राजनीतिक र दार्शनिक धरातल तयार छैन । 

चुनावको भयले एकै ठाउँ टाउको लुकाउनु एउटा कुरा, तर तनमन सबै जोडेर एकता गर्न यही मात्र कारण पर्याप्त हुन्न । भएमा पनि दिगो दरिलो बन्दैन । आकस्मिक एकता अप्रत्यासित विभाजनमा पुग्छ, जसका लागि नेकपा फुट नै पर्याप्त छ भने अरु उदाहरण खुद्रा होलान् ।

त्यसैले नेपालका कम्युनिष्ट र तिनका नेताले बेमौसमी खेती गरेर एकताको नारा लाउनुभन्दा विभाजन र बेमेलको प्रधान कारण खोज्दै वातावरण सन्तुलित परिपक्व र बिस्तारित बनाउन मिहिनेत गर्नु जरूरी छ । 

वामदेवले हालसालै वाम एकताको नारा लगाएर केही दौडधूप भेटघाट पनि गरेका छन् तर उनको आफ्नै पोजिसनको सुनिश्चितताको ग्यारेन्टी नेताले दिनुपर्ने हुन्छ । अब चुकेका, चुक्दै गरेका नेताहरूबाट होइन, तेस्रो पुस्ताका युवा नेताहरूबाट एकताको पहल र सैद्धान्तिक व्यावहारिक आधार पहिल्याउदै गर्नुपर्छ । वृद्ध नेताहरुको अवकाश नै निकासको बाटो बन्ने आधार बन्नसक्छ । 

कसरी बन्छ वाम एकताको वातावरण ?

कम्युनिष्ट जार्गन प्रचलित भाष्य हो आत्मालोचना । केवल कृत्रिम नभई आत्मालोचना स्वतस्फूर्त र परिस्थितिको विहंगम मूल्याङ्कन गरेर बिना मोलाहिजा निर्ममतापूर्वक गरिनुपर्छ । प्राप्तिको जस लिनेले गुमाउँदाको अपजस पनि लिने इमानदारपन देखाउने प्रयास गर्नुपर्छ । उपलब्धि र क्षतिको यथोचित समीक्षा गर्न एक दिन, एक हप्ताले पुग्दैन । लामो समय कमजोरी स्वीकार गर्ने र अब आइन्दा नगर्ने वचनवद्धतामा खर्चिनु पर्छ । र, व्यवहारिक दृष्टान्त प्रस्तुत गर्दै जानुपर्छ ।

त्यसो त एक अर्काको सैद्दान्तिक निगरानी र व्यक्तिगत खातिरदारी पनि त्यतिकै महत्वपूर्ण रहन्छ । कम्युनिष्टको गन्तव्य कहाँ हो, कसरी भेटिन्छ समाजवादको लक्ष्य ? यसमा महिनौ छलफल आवश्यक हुन्छ । कम्युनिस्ट सरकार बन्दा किन समाजवादको बाटो तय भएन, कमजोरी कहाँ रह्यो ? कमजोरी केलाउने, निफन्ने कामले निरन्तरता पाउनुपर्छ । 

विश्व कम्युनिस्ट आन्दोलन धक्का खाँदा पनि नेपाली राजनीतिक भूमि कम्युनिष्टको लागि उर्वर रहेको तथ्यको विश्लेषण कसरी गर्ने ? नेता प्रधान भएर बिग्रेको कम्युनिष्ट आन्दोलन नीति प्रधान बनाउन नेताले देखाउने त्यागको उदारताको खाँचो छ । ओलीले भनेझैँ ‘स्वार्थको एकता स्वार्थकै टकरावले फुट्छ,’ चाहे त्यो पार्टी एकताको स्वार्थ होस् या गठबन्धन नै किन नहोस् ? 

एकतामा बाधक नेता व्यवस्थापन 

निर्वाचन आयोगमा विधिवत दर्ता भएका मात्रै १४ वटा दल वामपन्थी रहेका छन् । त्यो भन्दा बाहिर पनि वामपन्थीको नाममा पार्टीगत गतिविधि गर्ने केही दल छन् । त्यसैले वाम एकताको अर्को बाधक तत्व नेता व्यवस्थापन पनि हो । नीति प्रधान पार्टी बनाउन नसकेको कारण नेता प्रधान पार्टी बनेको र थुप्रै खुद्रा मसिना दल कम्युनिष्टको नाममा संचालित छन् । 

यसबाट बुझ्नुपर्ने र सिक्नुपर्ने तथ्य के हो भने वाम एकतामा नेता व्यवस्थापनको चुनौती जटिल छ  । २०७५ जेठमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई पार्टी एकता गर्दा नेता व्यवस्थापनको समस्याले कति असहज भयो, कति झमेला झेल्नु पर्यो ? झन वाम एकताकै कुरा गर्दा त्यसको व्यवस्थापन कति विकराल बन्छ हेक्का राख्नुपर्ने देखिन्छ ।

दुई पार्टी एकीकरणमा कमिटिहरू कति भद्दा र निकम्मा भए त्यसको पनि व्यापक रूपमा समीक्षा हुनुपर्ला । नेताहरूले एकको अर्काले नेतृत्व स्वीकार गर्न नसक्ने, स्वीकार्दा तल परेको मनोविज्ञान बन्ने हुनाले नेकपाले डबल अध्यक्षको प्रणाली अवलम्बन गर्यो । तर यो टिकाउको बन्न सकेन । 

अन्य पार्टीहरूको एकीकरणमा समेत यो समस्या दुरुह थियो । मधेसवादी दलले त आधा दर्जनले अध्यक्षता गर्ने आलोपालो प्रणाली बनाए । विवेकशील र साझा पार्टीले पनि उज्ज्वल थापा र रवीन्द्र मिश्रलाई अध्यक्ष घोषणा गरेर पार्टी एकीकरण गरे,त्यो पनि कामयावी बन्न सकेन । उनीहरू फुटे । पुनः जुट्दा पनि शक्ति सन्तुलनको लागि अध्यक्ष र संयोजक राखेर पार्टी एकता गरे, जसमा निम्तिएको भद्रगोल सबैका आँखाअघि छ ।

उता बाबुराम र उपेन्द्र यादवको जसपा पनि अध्यक्ष र संघीय परिषद अध्यक्षको अवधारणा राखेर संचालन भयो । तर, दुईतिर पावर सेन्टर खडा गरिँदा आएको अवस्थाले अहिले त्यो दल फुटको संघारमा छ ।

यसर्थ दल एकताको नारा र पहल सुन्दा मीठो र सकारात्मक लागे पनि त्यस भित्रको व्यवहारिक कठिनाई अत्यासलाग्दो हुन्छ । नेताहरूको इगो व्यवस्थापन गर्न एकै पार्टीभित्र अनेक पद सिर्जना गर्नेदेखि अनेक नाजायज सम्झौता गरेर पार्टी चलाउनुपर्ने अवस्था बन्दछ । अर्को पार्टीसँगको एकीकरण र अरु थुप्रै वाम पार्टीबीच एकता गर्दा आउने उल्झनको ख्याल नराखी त्यसमा भरपूर गृहकार्य नगरी एकता गर्दा दुर्घटनाको जोखिम शतप्रतिशत रहन्छ ।

व्यानरमा पार्टीको नामको अक्षर ठूलो, सानोको विषयलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रको घोषणा सभामा व्यवधान आएको धेरै भएको छैन । हतारको निर्णयले फुर्सदमा पछुताउने बनाउँछ । नेताहरूमा बलियो पार्टी निर्माण गर्दा त्यागको भावना हुनुपर्छ, जुन अहिलेका नेतासँग अपेक्षा गर्नु व्यर्थ छ । 

२०४६ साल र त्यो भन्दा अघिदेखि निरन्तर पार्टी सत्तामा बसेका नेता एकले अर्कोलाई छाडेर भुइँमा बस्छन् भन्ने कल्पना गर्न सकिएला । व्यवहारमा कति उतारिन्छ, त्यो देखिजानेकै विषय हो । त्याग र समर्पण गर्ने नेता, कार्यकर्ताको जमात तयार नभएसम्म अल्पकालीन एकता र चुनावमा शक्ति आर्जन गर्ने एकतासम्म सीमित हुन्छ । पार्टी र राष्ट्रको बृहत हितको लागि एकता बन्न सक्दैन । राजनीतिक वर्चस्व, सरकार र यसका अङ्गमा सामेल हुन चुनावी मोर्चासम्म उचित देखिन्छ तर अहिले नै एकताको खिचडी कथं पाकिहाले पनि त्यो पाचन क्रियामा धक्का लगाउने खालको बन्ने छ । 

स्कुल विभाग र पार्टी प्रशिक्षण

मार्क्सवादी स्कुल अफ थटमा प्रसस्तै समस्या छन् । मार्क्सवादी अब पार्टी नेता कार्यकर्तालाई पढाइ रहने विषय होइन । यो प्रयोग गर्ने, अनुशरण गर्न लगाउने, आचरण निर्माण गर्ने, नैतिकता देखाउने र समाज परिवर्तन गर्न आफू परिवर्तन भएर देखाउने नियम हो । प्रयोगको विज्ञान हो, पूजाको ग्रन्थ होइन । मार्क्सवाद जडसुत्रवाद हैन, विज्ञान हो । गीता, कुरान, बाइबल र त्रिपिटक जस्ता धर्म ग्रन्थ पनि होइन । तर मार्क्सवादीहरू धर्मभीरुहरूले झैँ माक्र्सवादको व्याख्या गर्छन् । जडताको कुरा गर्छन् । शास्त्रीय व्याख्यामा अल्झन्छन् । यसको धरातल टेकेर नयाँ विश्वमा नयाँ मार्गको खोजी, समाजवादमा पुग्ने तरिकामा ध्यान दिंदैनन् । 

त्यसैले कम्युनिष्टहरूको स्कुल विभाग र प्रशिक्षण विभागलाई सामयिक, वैज्ञानिक र युगानुकूल बनाउनुपर्ने देखिन्छ । नेताले नीति व्यवहारिक प्रयोगबाट कार्यान्वयन गरेर देखाउनु पर्छ । चुरोट नखाऊ, रक्सी नपिऊ भनेर उपदेश दिने होइन, आफूले नखाएर मार्गनिर्देशन गर्ने हो । जुन कुरा प्रायः नेताहरुको साझा समस्या हो । 

नेता, कार्यकर्ता जनतातर्फ फर्क

कम्युनिष्ट पार्टीका नजिकका मित्र दलाल, व्यापारी र विचौलिया भएका छन् । जनतासँग सम्पर्क टुटाएर उनीहरू राज्य दोहन गर्ने ठेकेदार, काला व्यापारी र तत् प्रवृत्तिका मान्छेको नजिक छन् । कम्युनिष्ट पार्टीको नजिक सर्वसाधारण जनता, गरिब विपन्न निमुखा मान्छे दलित, महिला र तल्लो तह र तप्काका मजदुर किसान हुनुपथ्र्यो । तर विलासी गाडी, आलिसान बंगला, चन्दा दिने, गुण्डा दिने, साम, दाम दण्ड सबै दिने नेताहरूको प्रिय नजिकको र भरपर्दो बनेका छन् । यो प्रवृति आम राजनीतिज्ञको हो । 

अरुको कुरा छाडौं, परम्परागत र सच्चा कम्युनिष्टका लागि यो सैद्धान्तिक अवसान र नीति क्षय हो । कम्युनिष्ट बन्न सबै नेतामा कम्युनिष्ट चरित्र हुनु अत्यावश्यक गुण हो । आधारभूत रूपमा कम्युनिष्ट चरित्र र गुण गुमाएकासँग एकता सम्भव हुन्न । 

तसर्थ पहिले सबैजना कम्युनिष्ट बन्नुपर्ने आचरण सुधार्नुपर्ने खाँचो देखिन्छ । कम्युनिष्ट अनुयायी तयार गर्न सामान्य मेहनतले पुग्दैन । कम्युनिष्ट नर्सरी अनेरास्ववियु, युवासँग युथफोर्स, वाइसियललगायत अन्यले गर्ने गुण्डागर्दी, विचौलियाको  भूमिका, चन्दा असुलीलाई रोकेर सैद्धान्तिक र व्यवहारिक कम्युनिष्ट बन्न अभिप्रेरित गर्नुपर्छ । 

विद्यार्थीलाई विद्यार्थी नेता बन्न सिकाउनु पर्छ, न कि पूँजीवादी कुनै नेताको शैली । जनतासँग घुलमिल भएका र चरित्रमा दाग नलागेका नेतामार्फत् जनतासँग सबै वाम दलले सम्बन्ध नवीकरण गर्नुपर्छ । कम्युनिष्ट भनेका विश्वासिला र जनताका साथी हुन् भन्ने विश्वास जित्नुपर्छ । 

वाम एकता दीर्घकालीन रूपमा विकास गर्न नेता, कार्यकर्ताले परस्परको आरोप लान्छना र तिक्तता कम गर्दै विशुद्ध सैद्धान्तिक आलोचना र विचार मात्र व्यक्त गर्नुपर्छ । आवेग र झोकमा कहिल्यै मिल्ने छैन भने जसरी आरोप लगाउने र अप्ठ्यारोमा परेपछि लौ न भनेर हार गुहार गर्ने स्थितिको अन्त्य हुनुपर्छ । 

पूर्ण शुद्धीकरण र सत्य बोल्ने सामर्थ्य आजका मान्छेसँग छैन । तर, लोकले छि छि भनेर थुक्ने र आँखा चिम्लने गरी गरिने अश्लील राजनीतिमा व्यापक सुधार गर्नुपर्छ । एकतामा आत्मसमर्पण र अभिमान दुवै खतरनाक हुन्छन् । यी बाट जोगिने बाटो पहिल्याउनु पर्छ । 

अन्त्यमा, लेफ्टिस्टहरू वाम एकताको नाममा एक भए भने राइटिस्ट पनि सुध्रिने विकल्प रोज्न बाध्य हुनेछन् । देशको बृहत्तर हितको लागि वाम एकता आवश्यक र औचित्यपूर्ण छ तर आज र अहिले नै हतार हुन्छ । सडकमा देखेको यो भनाई वाम एकताको सन्दर्भमा पनि सान्दर्भिक देखिन्छ । ‘ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ । अन्यथा वाम एकताको निरन्तर बजिरहने दुन्दुभि कर्णप्रिय मात्रै हुनेछ ।

लेखक त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा एमफिल–पीएचडीका  अनुसन्धाता हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जिव कार्की
सञ्जिव कार्की
लेखकबाट थप