बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रदेश र समानुपातिक प्रणाली खारेजीको माग गर्दै प्रदर्शन

शनिबार, ०७ साउन २०७९, १५ : ४०
शनिबार, ०७ साउन २०७९

आगामी चुनाव अघि नै प्रदेश र समानुपातिक निर्वाचन प्रणालीको खारेजीको माग गर्दै नेपाल स्वतन्त्र नागरिक सञ्जालले माइतीघरमा प्रदर्शन गरेको छ । चुनाव अघि नै प्रदेश र समानुपातिक प्रणाली खारेज नगरे कडा आन्दोलनको चेतावनी समेत दिएको छ । 

सञ्जालका संयोजक दिनेश सुवेदीले प्रदेश र समानुपातिक निर्वाचन प्रणाली नेपालका लागि उपयुक्त नभएको प्रमाणित भइसकेको तर्क गरे । उनले तत्काल खारेज नगरे देश ठूलो सङ्कटमा जाने बताए । सुवेदीले सञ्जालले देशव्यापी रूपमा प्रदेश र समानुपातिक प्रणाली खारेजीका लागि अभियान नै चलाउने बताए । प्रदेश निकै खर्चालु भइसकेको र देशले थेग्नै नसक्ने उनको भनाई थियो । दिनेश सुवेदीले संविधान निर्माणका क्रममा संविधान सभाका सदस्यहरूले सुझाव सङ्कलन गर्दा र सभा भेलाहरू गर्दा देशभरका अधिकांश जनताले प्रदेश सरकार संविधानमा राख्न पाइँदैन, प्रत्यक्ष निर्वाचन हुनपर्दछ, समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणाली नराखियोस् भन्ने सुझाव दिएका थिए । 

त्यसलाई बेवास्ता गर्दै फाष्ट ट्रयाकको नाममा विधि र प्रक्रिया मिचेर जन आवाज विपरीत देशी विदेशी शक्तिको दबाबमा प्रदेशहरू र मिश्रित निर्वाचन प्रणाली राखिएको बताए । समानुपातिक सहितको मिश्रित निर्वाचन प्रणालीमा कुनै दलको पनि बहुमत नआउने हुँदा शासन सत्ता सधैँ अस्थिर हुने हुँदा समावेशी सहित पहिलो हुने निर्वाचन प्रणाली चुनाव अघि नै संविधान संशोधन गरी लागु हुनुपर्ने उनले बताए ।

सञ्जालका सदस्य समेत रहेका ललितपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गरेका डा. दीपेश केसीले दलीय सिन्डिकेट बनाएर जनताले नचाहेको प्रणालीहरू लाद्ने गतिविधिविरुद्ध विद्रोह अनिवार्य भएको बताए । उनले जाति जातिलाई लडाउने गरी धर्ममाथि प्रहार भएको बताए । भाषा, संस्कृतिमाथि एकपछि अर्को आक्रमण गरी देशलाई द्वन्द्वमा लान खोजिएकोमा सचेत हुनुपर्ने बताए । 

सञ्जालका सदस्य सुमन केसीले स्वतन्त्रहरूको आवाज देशभर गुञ्जिइरहेको बताए । उनले जनताको अपमान गर्दै दलहरूले जबर्जस्ती समानुपातिक निर्वाचन प्रणाली र प्रदेशको व्यवस्था लागू गरेर देशलाई बर्बादीमा लगेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप