शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निकुञ्जका कारण परेको समस्या समाधान हुन्छ : मन्त्री यादव

शनिबार, ०७ साउन २०७९, १४ : ३९
शनिबार, ०७ साउन २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरुलगायत संरचना आज निरीक्षण पश्चात् मन्त्री यादवले रोकिएका काम अगाडि बढाइने बताएका हुन् ।

निरीक्षणका क्रममा सँगै रहेकी भरतपुर महानगरप्रमुख रेनु दाहालका अनुसार मन्त्री यादवले तत्काल काम अघि बढाउनका लागि  आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए । निरीक्षणमा वन मन्त्रालयका सचिव डा.पेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा.रामचन्द्र कँडेल लगायतको उपस्थिति थियो । माडीमा हाल विद्युत् लाइन लगेको क्षेत्रमा थप काम गर्न कुनै समस्या नहुने र नयाँ ठाउँ प्रयोग गर्नुपरेमा आवश्यक प्रक्रिया अघि बढाउन र सबै समस्या एकमुष्ट रुपमा तत्काल प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिए ।

माडी चितवन क्षेत्र नं ३ मा पर्दछ । जिल्लाका दलीय प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरु सहित नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको एक टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी त्यहाँको समस्याबारे अवगत गराएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले यस विषयमा तत्काल सम्बोधन गरिने आश्वासन दिएका थिए ।]

महानगर प्रमुख दाहालले भनिन्, “मन्त्रीज्यू निकै सकारात्मक हुनुहुन्छ । हामीलाई विश्वास छ निकुञ्जका कारण माडीमा भएको समस्या अब समाधान हुन्छ ।” माडी हुँदै जाने हुलाकी सडक स्तरोन्नति, पुल निर्माण, खर्कट्टा बगई सडक निर्माण र  भूमिगत विद्युतीकरणको काम निकुञ्जकै कारण समस्यामा परेका थिए । 

प्रधानमन्त्रीसँगको भेटमा गरिएको अर्को भरतपुर विमानस्थल विस्तारको प्रस्तावमा गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको उपस्थितिमा भरतपुरमा छलफल गरिएकोे थियो । यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएकामा सो विषयमा पनि छलफल सकारात्मकरुपले अघि बढेको  महानगरप्रमुख दाहालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप