महारानी इन्दु (राजेश्वरी)–१
हामीले वीर र वीरङ्गनाका धेरै कथा सुनेका छौँ । दक्षिण एसियाको सबैभन्दा पुरानो मुलुक नेपाल साँच्चै नै वीरहरूको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ ।
नेपालले आफ्नो स्वाधीनताका लडाइँहरू लडिरहँदा थुप्रै महिला तथा बालबालिकाहरूले वीरतापूर्वक लडेको बाहेक कुनै विराङ्गनाहरूको बहादुरी चर्चा गरेको पाइँदैन । तर इतिहासमा यो देशमा त्यस्ता थुप्रै विराङ्गनाहरू पनि थिए, जसको चर्चा हुनु आवश्यक छ । हाम्रो देशमा त्यस्ती एक महिला पनि थिइन्, जसले दक्षिणी बादशाहलाई धुलो मात्र चटाइनन्, बङ्गाली बादशाहले बन्दी बनाएका दुई सेन राज्यका राजाहरूलाई उनीहरूको कब्जाबाट मुक्त पनि गराइन् । राजाहरूको अभावमा रहेका दुईवटै राज्यको ११ वर्षसम्म राज्य सञ्चालन पनि गरिन् । यहाँ तिनै विराङ्गना मकवानपुरे सेन राजा हरिहर सेनकी नातिनी बुहारी विजयपुरका प्रथम राजा विधाता इन्द्र सेनकी रानी महारानी इन्दु (राजेश्वरी) को वीरता आख्यान शैलीमा प्रस्ट्याउने प्रयास गरिएको छ ।
भाग १
माथि ढुङ्गे गढीको थुम्कालाई बादलले छोप्ने र उघार्ने गरिरहेको छ । भर्खरै उदाउँदै गरेको घामको प्रकाशले एक्ले खेतदेखि जुरीथुमसम्मै धान, जुनेलो, कोदो पाकेको मनमोहक दृश्य देखिएको छ । बड्कुले, रामधुनी, गँगटेतिर खेतालाहरू बिहानैदेखि घैया झार्न थालेका छन् । गढीभन्दा अलिमाथि कागुनु, स्कुस, बोडी लटरम्मै फलेका छन् ।
वंशगोपालको मन्दिर नजिकैको पारिजातको फूल पूरै मकवानपुर राज्यलाई नै बास्ना दिने गरी मगमगाइरहेको छ । दसैँ मुखैमा आएकाले होला, लगभग सबै घरमा चिउरा कुट्ने काम भइरहेको छ । बुढीचौर, सुकौरा, सामरी, भैरव गाउँदेखि देवकोटसम्मका किसानले बेच्न ल्याएको घैयाले मुकामका सयौँ घरले चिउरा तुल्याउँछन् ।
यहाँको घरघरमा ढिकी कुटेको आवाज आइरहेको छ । धर्का धर्का देखिने गरी लागेको घामले गढी मुकामलाई साँच्चै आकर्षक देखिएको छ । गढीका अड्डाहरूदेखि पूर्वमा डढुवासम्म, पश्चिममा धरमपानीसम्म उत्तरमा सामरी खोलासम्म, दक्षिणमा गोवाबारी, राजदेवी अनि गुफासम्मै घरैघर देखिएका छन् । सेतो कमेरोले पोतेका घरलाई रातो माटोले बुट्टा काटिएकाले मुकाम साच्चै नै बेहुलीझैँ देखिएको छ ।
वि.सं. १७६३ साल कात्तिक महिनाको एउटा बिहान, ७ जति बजेको होला । पर पर पूजा गरेको, शङ्खघण्ट बजाएको अनि तल गुम्बामा लामाहरूले ओम मणि पद्मे हुम् भन्दै बाजागाजा गरेको अनि ढ्याङ्ग्रो बजाएको ध्वनिले वातावरणलाई आनन्दमय बनाएको छ ।
सबैरै उठेर पूजाआजा सकेका महाराज शुभ सेन विजयपुर प्रस्थानका लागि तयार हुँदैछन् । विजयपुरका महाराज विधाता इन्द्र सेनसँग कोसीमा भेट गर्ने अनि दुवै काका भतिज (विजयपुरका राजा विधाता मकवानपुरे राजा शुभका भतिज हुन्) बङ्गाली राजाको आग्रहअनुसार पूर्णिया पुग्ने र तीनवटै देशको सीमा विवाद समाप्त गर्ने महान योजना छ । दुवै देशका राजाहरू सेन राज्यतर्फका भूभाग बङ्गालीलाई तलमाथि गर्न नदिने पक्षमा दृढ छन् ।
शुभ साइतअनुसार शुभ सेन अर्याल र कोइराला थरका पुरोहितहरूको मन्त्रोच्चारण लामाहरूको शान्ति वाचन, मोरुहाङबाट आएका सेता वस्त्र लगाएका लिम्बु गुरु, आठराई, हरिहरपुरका देवास अनि रामेछापे सुनुवार गुरुहरूको मुन्धुम मन्त्रोच्चारण दमाहीहरूको नौमते बाजासहित धुमधामसँग बाहिरिन्छन् । उनलाई विभिन्न तहको सुरक्षा घेराले पहरा दिँदै अगाडि बढाइन्छ । अन्नभण्डार, लत्ताकपडा, बारुद, धनुकाण, फलाम, तामा लगायतका देशलाई चाहिने हरेक कुरामा आत्मनिर्भर मकवानपुरे राजाको सुरक्षाको पहिलो घेरामा राजपुत भनिने सेन भारदारसहितको ठकुरी सेना त्यसपछि महत, बानियाहरूसहितको सेना, किरात सेना, मगर सेना, तिमालका मिझारले महाराजको सुरक्षामा पठाएका अतिरिक्त तामाङ सेना सहभागी छन् ।
प्रमुख मन्त्री प्रबोधदास बानिया, मन्त्री महतलगायत भाइभारदारहरू अनि सबै महारानीहरू मुमा महारानीसहित राजपरिवारका सदस्यहरू बिदाइमा उपस्थित छन् । उनको बिदाइमा नेपाल खाल्डोको प्रतिनिधित्व गर्दै टिष्टुङे सामन्त पनि उपस्थित भएका छन् ।
“महाराज ख्याल गरिबक्सेला, जुवामा र सत्तामा कोही पनि हार्न चाहँदैन । जितका अवसर पर्खेर बसेकाहरूबाट हजुरलाई घात हुन सक्छ, सावधान होइबक्सेला । बङ्गाली राजाले पहिले पनि छल गरिसकेको छ, विधाताकै पनि के भर छ र ?” महारानीले हिँड्नै लागेका शुभ सेनका नजिकमा गएर सावधान रहन भन्छिन् ।
“महारानी ! के भनेकी तिमीले ? मलाई बङ्गालीको कब्जाबाट कसले छुटायो ? पाटन, भादगाउँ र कान्तिपुर तीनवटै रजौटा मिलेर हाम्रो बुबाहजुरको नाममा स्थापित सिन्धुलीगढी, दिङदिङ र तीनपाटनमेत कब्जा गर्दा ती भूमि फिर्ता ल्याउन हामीलाई कसले सघायो ? गोरखा, लमजुङ, पाटन, भादगाउँ र कान्तिपुर मिलेर हामीलाई आक्रमण गर्दा तनहुँसँगै विजयपुरले सहयोग गरेको बिर्सियौ ? हामीलाई गुणमाथि गुण लगाउने त्यही भतिजोलाई म कसरी शङ्का गरौँ ? महाराजले आस्वस्त पार्न खोजे ।
“पूर्वमा टिष्टा नदी, उत्तरमा भोट, दक्षिणमा चम्पारणदेखि पूर्णियाको मधुवनी, विजयपुरका सबै हाङहरू, पश्चिममा अयोध्याधाम, देवघाट, बेनीघाटदेखि कुरिनटारसम्मै भएको विशाल मकवानपुरको हकदार उही थियो । आज उसको राज्य हामीले खोसेका छौँ, के थाहा ? अन्तरमनमा बदलाभाव पो लुकेको छ कि ?” महारानीेले थप शङ्का व्यक्त गरिन् ।
“हो हामीले उसको राज्य खोस्यौँ, उसलाई अन्याय ग¥यौँ, ऊ विशाल मकवानपुरको हकदार थियो । तर उसलाई राम्रोसँग थाहा छ, मकवानपुरको राजा हुने मेरो रहर थिएन । मलाई भतिजोको अधिकार खोस्न मन नहुँदा पनि बुबाहजुरले मलाई युवराज घोषणा गरिबक्सेको हो । मैले युवराजको पद अस्वीकार गरेको भए पनि बुबाहजुरले विधातालाई युवराज बनाइबक्सने थिएन,” महाराजले थप आस्वस्त पारे ।
महाराज शुभ सेन भुटनदेवी मन्दिरबाट आएका पूजारी वीरमान राईले चढाएको प्रसाद ग्रहणपछि र चौघडामा दाम चढाइएको खबरपछि राज पुरोहितले दुनाबाट खुवाएको दही घुट्क्याउँदै हात्तीमा चढेर यात्रा अगाडि बढाउँछन् । ढुङ्गे गढी, भञ्ज्याङ, ठिङ्गन, अम्बास, बेतिनी, भोर्लेनीे, हरिहरपुर हुँदै माडी, कमलामाई मन्दिर, अमाहा, काउसे, दुधौली, गाईघाट हुँदै कोसीसम्म १५ दिनको यात्रा हुन्छ ।
हात्तीघोडाका लावालस्कर हेर्न कमला खोँचका बालकदेखि वृद्धसम्मका प्रजाहरू तँछाड मछाड गर्दै गरेको देख्न सकिन्छ । केटाकेटीहरू घोडचढीले उडाएका धुलोलाई पछ्याउँदै परसम्मै दौडन्छन् र रमाउँछन् ।
बीच बीचमा नागरिक अभिनन्दन, सिकार र मनोरञ्जन गर्दै पन्ध्रौँ दिनमा कोसी पुगेका महाराजालाई लिन विशाल डुङ्गा र हातहतियारले सुसज्जित सेनाहरूसहित विजयपुरका मन्त्री श्रीकान्त राय (राई) उपस्थित हुन्छन् । श्रीकान्तले महाराजको भव्य स्वागत गरेपछि महाराजलाई विजयपुर प्रवेश गराइन्छ । भतिजोको राज्यमा उनको स्वागत र सम्मानमा कुनै पनि कमी हुन दिइँदैन ।
शुभ सेनको राजा भएपछिको यो पहिलो विजयपुर राज्यको भ्रमण हो । उनीलाई मकवानपुरको युवराज घोषणा गरिनुअघि विजयपुर मकवानपुरकै भूभाग थियो । शुभ सेनलाई युवराज घोषणा गरिएपछि युवराज क्षत्रपतिका छोरा नवयुवराज विधाता रिसाएर मकवानपुर टुक्र्याएका थिए । युवराज क्षत्रपतिको अकालमै मृत्यु भएपछि राजा हरिहर सेनले माहिली रानी पट्टिका छोरा शुभ सेनलाई भावी राजा घोषणा गरेका थिए ।
त्यसपछि पटक पटक युद्ध भएकाले काका भतिजा राजाहरूबीचमा सम्बन्ध सुमधुर हुन सकेको थिएन । भतिजाले राज्य अलग गरेपछि शुभ सेनले फेरि त्यो भूभागलाई मकवानपुरमा मिलाउन ठूलै सङ्घर्ष गरे । आक्रमणबाट मोरङतर्फका केही भूभाग मकवानपुरमा मिलाउन सके पनि त्यस बाहेकका कोसी पारि टिष्टासम्मा पूरै विजयपुर विधाताले कब्जामै राखे ।
शुभ सेनले विजयपुरलाई मकवानपुरमै मिलाउन, गोर्खा, पाटनलगायतका राज्यको मद्दत लिएर पटक पटक प्रयास गरे तर सफल हुन सकेनन् ।
काका शुभ सेनका कारण विधाता इन्द्रसेनले विजयपुरको राजगद्दीमा बसेर आनन्दले शासन गर्न भने पाएनन् ।
शुभ सेन र विधाता इन्द्रसेन या काका भतिजको बीचको झगडा निरन्तर चलि नै रह्यो । त्यो झगडा दुवै राज्यका लागि घातक सावित हुँदै गयो । सेनहरूबीचमै लडाइँ झगडा भएको फाइदा उठाउँदै बाहिरी शक्तिहरू खुब चलमलाए । मन्त्री तथा भारदारहरूले विदेशीको सहयोगमा मकवानपुर र विजयपुरमाथि आक्रमण गर्ने काम गरे । दुवै राज्यले थुप्रै षड्यन्त्र र असहज परिस्थितिको पनि सामना गर्नु प¥यो । राजा र मन्त्रीका बीचमा विवाद र झगडा सुरु भयो । उनीहरूले सेन दरबारमा षड्यन्त्रको बिजारोपण गरे ।
यसै क्रममा मोरङको दक्षिणतिर पर्ने पूर्णियातिरका मुसलमानहरूको आक्रमणको सामना गर्नुपर्यो । राजा शुभ सेनका तत्कालीन मन्त्री प्रद्युम्न उपाध्यायलाई मुस्लिमहरूले हात लिएर मकवानपुर र मोरङको दक्षिणी भाग मुसलमानहरूका क्षेत्र हुन् भन्ने दाबी गर्न लगाएका थिए ।
शुभ सेनका मन्त्री प्रद्युम्न उपाध्याय तनहुँका थिए । तिनको मेलमिलाप राजा शुभ सेनसँग हुन सकेन । तसर्थ उनले एक पटक पूर्णियाका नबाब इस्फुन्दियार खानसँग सहयोग मागे र शुभसेनलाई पक्रिएर पूर्णियाको जिम्मा दिएका थिए । मकवानपुर र मोरङको ऊर्वर जमिनमा आँखा गाडिरहेका पूर्णियाका नबाबले पनि यताको झगडाको फाइदा उठाउने कोसिस गरिरहन्थे । तसर्थ तिनले शुभ सेनलाई गिरफ्तार गरेर पूर्णियातिर नै राखेका थिए । तर विजयपुरका राजा विधाता इन्द्र सेनले इस्फुन्दियार खानसँग लडाइँ गरी हराए र काका शुभ सेनलाई छुटाएर ल्याए ।
विधाताले आफूलाई अन्याय गर्ने काकालाई मुस्लिम राजाको कैदबाट छुटाएपछि काका भतिजका बीचमा मधुरता छायो । उनीहरू दुवैले आफू आफू लड्दा सत्रुहरू बलिया हुँदै गएको महसुस गरे र दुवै सेन राज्यहरू मिल्न पुगे । यसै पनि विवाह गरेको लामो समयसम्म पनि बालबच्चा नभएपछि विधाता काका शुभ सेनप्रति नरम हुँदै गएका थिए भने विदेशीको पञ्जाबाट छुटाएका भतिजप्रति काका शुभको पनि मिजास फेरिएको थियो । विधातालाई आफ्ना राज्यका शक्तिशाली मन्त्री तथा भाइभारदारहरूको पनि डर थियो ।
त्यसैले उनले काकासँग दूरी घटाउन भूमिका खेलेका थिए । दुई राज्य मिलेपछि सेन राज्यको सिमाना फेरि पनि पूर्णियासम्म पुगेको थियो । तर पूर्णियामा दिल्लीका मुगल बादशाहसँग फेरि सीमामा समस्या पर्यो । त्यही समस्या सुल्झाउन तीनवटै देशका राजाहरूबीच छलफल गर्न पूर्णियामा बैठक डाकिएको थियो । त्यही बैठकमा उपस्थित हुन राजा शुभ सेन विजयपुर आएका थिए । दरबारमा विधाताले काकाको भव्य स्वागत गरे ।
“विधाता तिम्रो मानमनितोले मलाई प्रसन्न बनायो, तिमी बहादुर त छौ नै मकवानी संस्कार तिम्रो हृदयमा छ,” शुभ सेनले भने ।
“काका हजुर, मेरो बुवा भने पनि काका भने पनि हजुर नै त होइबक्सिन्छ नि । विगतलाई भुल्न नै उचित हुन्छ नि होइन र ?” विधाताले जवाफ दिए ।
“दर्शन काका हजुर !” काका भतिजको कुराकानी भइरहेको ठाउँमा विजयपुरकी महारानी राजेन्द्रलक्ष्मी इन्दुको प्रवेश हुन्छ ।
“भाग्यमानी हुनु दुलही महारानी । वीरता र पराक्रमले बङ्गालदेखि दिल्लीसम्मलाई हायल कायल पारेकी छौ । काका भतिजाको उध्रिएको सम्बन्धलाई कहिलै नच्यातिने गरी जोडेकी छौ । यो सौर्य र पराक्रम कहिल्यै नडगमगाओस् मैले अरू आशीर्वाद के नै दिन सक्छु र ?” महाराजले प्रसंशासहितको आशीर्वाद दिए ।
काका हजुर यति लामो यात्राबाट आइबक्स्या छ, थकाइ लागेको होला, खोपीमा सवारी होस् । गफ गर्न त अरू दिन पनि छँदैछ नि,” महारानीले शुभ सेनलाई उनका लागि तयार पारिएको खोपीतर्फ लिएर गइन् । विधाता र शुभ सेनका अङ्गरक्षक पनि सँगसँगै खोपीतर्फ नै जान्छन् ।
विजयपुरमा महाराज शुभ सेन तीन दिनसम्म बस्छन् । बराह क्षेत्र लगायतको धार्मिक यात्रा गर्छन् । तीन दिनको बसाइँपछि दुवै सेन राजाहरू पूर्णिया पुगे । कसैले पनि हातहतियार र सेना लिएर नआउने सर्तअनुसार सामान्य अङ्गरक्षक र मन्त्रीहरूसहित त्यहाँ पुगेका सेन राजाहरूलाई सर्तभन्दा बढी नै सेना लिएर बसेका खानले स्वागतको नाटक रच्छन् ।
“दुवै महाराजलाई सलाम ! हिन्दूपति महाराजका छोरा अनि नातिलाई इस्फुन्दियार खान आफ्नो साम्राज्यमा हृदय ओछ्याएर स्वागत गर्छ ।” बङ्गाली नवाबले चिल्लो घस्छन् ।
“धन्यवाद नवाब ! हामी सीमा जोडिएका राज्यहरूबीचमा एकता र सद्भाव आवश्यक छ । तब मात्रै हाम्रो सामूहिक हित हुन्छ,” शुभ सेनले औपचारिकता देखाए ।
“हो नि नवाब ! मकवानपुर र विजयपुरबीचमा लडाइँ हुँदा अन्यले फाइदा लिए तर अहिले हामी मिलेर अन्यको सामना गरेका छौँ, बङ्गाल साम्राज्य पनि हामीसँग मिल्यो भने हामी अझ बलियो हुन्छौँ । हामीलाई फिरङ्गीहरूले पनि केही गर्न सक्दैनन् । हामीसँग तनहुँ र कान्तिपुर पनि सहकार्य गर्न तयार छ,” विधाताले कुरा थपे ।
विधाताको कुरा सुनेर मुसुक्क हाँसेका नवाब शुभ सेनसँग कुरा गर्न थाल्छन् । कुराकानी हुँदै गर्दा बङ्गाली सेनाहरू थपिँदै जान्छन् । ठाउँ ठाउँमा लुकेर बसेका सशस्त्र सेना फुत्त फुत्त बाहिर निस्कन थाल्छन् ।
यस्तो देखेपछि विजयपुरका मन्त्री प्रबोध दास विधाताको कानमा भन्छन्, “महाराज हामीलाई धोका भयो ! हामीलाई चारैतिरबाट बङ्गाली सेनाले घेरिसकेको छ ।,”
विधाताले चारतिर हेरेर मन्त्रीलाई भन्छन्, “प्रबोध, तिमी कागजपत्र लिन जाने भन्ने बहानामा भागिहाल । मकवानपुर र विजयपुर दुवै राज्यका सेना प्रमुखलाई राज्यमा खतरा आउन सक्ने जानकारी गराऊ, हामीलाई बन्दी बनाउने अवस्था आए, प्रतिकार गर्नु । महारानीलाई मकवानपुर र विजयपुर दुवै देशको बराबर ख्याल राख्न हुकुम भएको छ भन्नु, मान्धाता र मानिक दुवैलाई विजयपुरमा सुरक्षित राख्नु । किराती लडाकुहरूलाई हाम्रो निगरानीको जिम्मा दिनू !”
महाराजको निर्देशनपछि मन्त्री प्रबोधदास राई आफ्ना दुई र राजाहरूसँग आएकामध्ये एक एकजना सेना गरी चारजना लडाकु लिएर विजयपुरतिर कागजपत्र लिने बहानामा फर्कन्छन् ।
नवाब केहीबेर दुवै राजाहरूसँग गफ गरेको र मानसम्मान गरेको नाटक गर्छन् अनि महाराज शुभ र विधातालाई कब्जामा लिएको घोषणा गर्छन् ।
“महाराजहरू तपाईंहरू दुवैजना मेरो कब्जामा हुनुहुन्छ । तपाईंहरूलाई मैले नियन्त्रणमा लिएको छु । अब मकवानपुर र विजयपुर बङ्गाल साम्राज्यका हिस्सा हुन् भन्ने कुरा स्वीकार गरे मात्र तपाईंहरूलाई मुक्त गर्छु । अन्यथा तपाईंहरूको वास जीवनभर कोठरीमा हुनेछ । तपाईंको राज्यका तर्फबाट प्रतिकार भए तपाईंहरूले वीरगति पाउनुहुन्छ,” नवाबले नवाबी शैलीमा फरमान जारी गरे ।
“नवाब यो कस्तो षडयन्त्र हो ? काका हजुरलाई बन्दी बनाउँदा हामीले तपाईंका सेनाहरूलाई धुलो चटाएको विर्सनु भो ? यस्तो नचाहिने कुरा नगर्नुस् । तपाईं आफूले खनेको खाल्डोमा आफैँ पर्नु हुनेछ,” विधाता च्याँठ्ठिए ।
“नेपाल, तनहुँ, विजयपुर, मकवानपुर हामी सबै एक छौँ । हामीले गुहार मागे पाल्पा, गोरखा, लमजुङसबै मिलेर बङ्गालबाट तपाईंको नामोनिसान मेट्न सक्छन् । यस्तो दुस्साहस नगर्नुस्,” शुभले थपे ।
“हा हा... गुहार माग्ने ? कसरी महाराज ? को मार्फत् ? कागजपत्र लिन गएका मन्त्रीमार्फत् ? हाहा... उनी त यतै आउँदैछन् तर जीवित हैन मृतावस्थामा । उनलाई जहाँ भेट्यो त्यहीँ तोपले उडाउन मेरा सिपाहीहरू गइसकेका छन्,” नवाबले भने ।
नवाबको कुरा सुनेपछि म्यानबाट तरबार थुतेर विधाता चिच्याउँछन्– “काका हजुर हामी मकवानीले हारेको इतिहास छैन । हाम्रा पुर्खा तुला सेनदेखि मुकुन्द सेन अनि मुकुन्द सेनदेखि हिन्दूपति हरिहर सेनसम्म कसैले पनि कसै सामु घुँडा टेकेका छैनन् । निरास नहोइबक्स्योस् । पीठमा छुरा रोप्ने कायरहरूसँग डराएर आत्मसमर्पण गर्नुहुन्न ।”
“चुप, एकदम चुप” नवाब कराउँछ ।
“साना साना पहाडे रजौटाहरूले ठूला ठूला कुरा गरेको सुहाउँदैन । हिजो पनि तिमीहरू हारेका थियौ, आज पनि तिमीहरू हार्छौ र भोलि पनि तिमीहरू हार्ने छौ, बुझ्यौ ? हाहा... हारेको इतिहास छैन रे... तुला सेनदेखि हिन्दूपतिसम्म रे हाहा... तिमीहरूका पुर्खा तुला सेनलाई मेरा पुर्खाले ७ सय वर्षअघि राज्य च्यूत गरेर पहाडतिर खेदेको हो । तिमीहरूका पुर्खासँग हाम्रा पर्खाले वीरतापूर्वक जितेको राज्य म अहिले सम्हालिरहेको छु ।”
शुभ सेनको सहनशीलताको बाँध टुट्यो, “कायर, नामर्द तिमीहरूका पुर्खाले वीरतापूर्वक जितेको होइन, हाम्रा पुर्खालाई, छल कपट र धुत्र्याइँले राज्य हत्याएको हो र फेरि पनि छल कपटकै सहारा लिँदैछौ तिमीहरू । तर यो पटक पनि तिमीहरू नराम्ररी हार्नेछौ ।”
“ए मूर्ख राजा ! कोसँग हार्ने ? हाहा... हिजो पो भतिजो थियो, काकालाई बचाउने ! तर आज त काका भतिजै मेरो जालमा जो परेका छौ ।”
“महारानी इन्दु राजेश्वरी ! एउटी विराङ्गना ! घाइते बघिनी ! तिमीहरूकी काल !” शुभ सेनले आक्रोशित हुँदै भने ।
“हा.. हा.. हा.. मेरो काल एउटा नाथे आइमाई हा... हा...” नवाबले खिल्ली उडाउँछन् । (बाँकी दोस्रो भागमा)