बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एमालेलाई कमजोर बनाउन विदेशीले सत्तारुढ गठबन्धन बनाए : ओली

शनिबार, ०७ साउन २०७९, १४ : २३
शनिबार, ०७ साउन २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशी/विदेशी प्रतिक्रियावादीहरुले आफ्नो पार्टीलाई कमजोर बनाउन सत्तारुढ गठबन्धन बनाएको दाबी गरेका छन् । अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्ति नेकपालाई विभाजन गर्ने काम पनि प्रतिक्रियावादी शक्तिहरूले नै गराएको जिकिर गरेका हुन् । 

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आठौं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष ओलीले मजदुर वर्ग पक्षीय शक्तिहरुलाई कमजोर पार्ने प्रयास भइरहेको र त्यसैको परिणाम स्वरूप आफू नेतृत्वको तत्कालीन नेकपा विभाजन भएको उहाँको तर्क थियो । प्रतिक्रियावादी शक्तिहरूले जहिले पनि मजदुर वर्ग र उनीहरूको पक्षधर शक्तिलाई विभाजित गर्ने काम गरिरहेको पनि उल्लेख गर्नु भयो । 

ओलीले भने, ‘मजदुर वर्ग पक्षीय विचारहरूका संवाहक शक्तिहरू, ती हितहरूका संवाहक शक्तिहरू, तिनीहरूलाई प्रतिक्रियावादी शक्तिहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै विभाजित गर्न खोज्दैछन् । आज हाम्रो देशमा तथाकथित जुन गठबन्धन भन्ने देखा पर्‍यो । यो गठबन्धन के हो ? यो गठबन्धन, यस्ता गठबन्धन, हाम्रो पार्टी जसरी गत वर्ष विभाजन गराइयो, गरियो । यही अहिले मैले भनेका मजदुर वर्ग पक्षीय विचारहरू, मजदुर वर्ग पक्षीय हितहरू, मजदुर पक्षीय सङ्गठनहरू, संस्थाहरू, मजदुर वर्ग पक्षीय आन्दोलनहरू, तीनलाई कमजोर पार्ने प्रयासहरू । किनभने अन्तिममा समृद्ध नेपाल: सुखी नेपालीको गन्तव्य कसको हो त ? यो सम्पन्न सम्भ्रान्त वर्गको गन्तव्य त होइन । उसका लागि अहिले नै समृद्धि छदै छ नि ।  उनीहरूको गन्तव्य त होइन त्यो । यो गन्तव्य मजदुर वर्गीय गन्तव्य हो । श्रमिक वर्गीय गन्तव्य हो । श्रमजीवी वर्गीय गन्तव्य हो । अहिले पनि जो मानवोचित जीवन जिउन वञ्चित छन् । निरपेक्ष गरिबिको रेखामुनि छन् । अथवा रोजगारीको अवसरबाट वञ्चित छन् । अथवा जीवन निर्वाह गर्न पुग्ने गरी ज्याला अथवा आम्दानीको अवसरबाट वञ्चित छन् । सहज जीवन जिउन सकिरहेका, पाइरहेका छैनन् । तीनका निम्ति समृद्ध नेपाल: सुखी नेपालीको गन्तव्य, त्यो राष्ट्रिय आकाङ्क्षा आवश्यक छ । र, त्यो वास्तवमा त्यस वर्गका लागि आवश्यक छ । यसर्थ मजदुर वर्ग यस कुरा प्राप्तिका लागि वर्गीय हिसाबले नै प्रतिबद्ध हुन्छ । वर्गीय हिसाबले नै इमानदार हुन्छ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी मजदुर वर्गको हितका लागि सदैव एकताबद्ध, प्रतिबद्ध र ऐक्यबद्ध रहेको पनि बताउनु भयो । मजदुरहरूको सफलतामा आफ्नो पार्टीको सदा साथ रहने उहाँको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप