शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आरजुलाई प्रधानमन्त्री र शेरबहादुरलाई राष्ट्रपति बनाउने सहमतिको हल्ला अपराधिक हो : प्रचण्ड

शनिबार, ०७ साउन २०७९, २१ : २२
शनिबार, ०७ साउन २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ दिल्लीमा आरजु देउवा र आफूबीच आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र शेरबहादुर देउवालाई राष्ट्रपति बनाउने सहमति भयो भनेर फैलाएको हल्ला हावादारी भएको प्रतिक्रिया दिएका छन् । 

शनिबार जनकपुरमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘यो सव हावा कुरा हो । यो एक भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको अपराधिक हल्ला हो, यसमा कुनै सत्यता छैन, त्यो हुन सक्ने कुरा पनि होइन’, प्रचण्डको स्पष्टोक्ति छ । 
उनले आरजु उपचारका क्रममा दिल्लीमा भएको र नेपाली राजदूत शंकर शर्माले ब्रेकफास्ट मिटिङ भनेर दूतावासमा बोलाएका बेला आरजुसँग भेट भएको बताए । त्यहाँ राजदूत शर्माले आरजुलाई समेत बोलाएकाले एकछिन ब्रेकफास्टका बेला सँगै बसे बाहेक अरु केही कुरा नभएको प्रचण्डले बताए ।

‘अरु केही कुरा अरु कसैसँग त्यो हुनसक्ने कुरा पनि थिएन । तर त्यो प्रचार भयो र यति प्रचारमा लाने कोशिस गरियो कि अन्तर्राष्ट्रियस्तरमा समेत लगिएछ’, प्रचण्डले भने, ‘सोही कारण मोदीले नभेटेको भन्ने पनि विल्कुल होइन ।’ उनले त्यस्ता वाहियात र षडयन्त्र मूलक प्रचारबाजीबाट सर्तक हुन समेत सबैलाई आग्रह गरे ।

अध्यक्ष प्रचण्डले संसदले नागरिकता विधेयक पारित गरेर झण्डै ७ लाख नेपालीहरु नागरिकताबाट बञ्चित हुने अवस्थाको अन्त्य गरिएको पनि बताए । समाजवादी केन्द्र र वामपन्थी एकताबारे सोधिएको प्रश्नमा प्रचण्डले जनता समाजवादी पार्टी फुटिसकेको भन्दै औपचारिकता दिन बाँकी रहेको र दुवै पक्ष (उपेन्द्र र बाबुराम) सँग छलफल चलिरहेको बताए । 

उनले उपेन्द्र यादवले नेतृत्व गरेको समूहसँग सरकार र गठबन्धनमा सँगै रहेको भन्दै बाबुरामले बनाउने भनेको अर्को पार्टी पनि गठबन्धनभन्दा बाहिर नहुने भनेर उनले भनेको बताए ।  ‘गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै समूहसँग हामीहरूको कुरा चलिरहेको छ । यसमा माधवजीहरुसँग, उपेन्द्रजीहरुसँग, बाबुरामजीसँग र वामदेवजी पनि त्यसमा अहिले मिसिनुभएको छ’, प्रचण्डले गठबन्धनभित्रका वामपन्थीहरुबीच चुनावी विशेष मोर्चा बनाउने प्रयास भइरहेको बताए ।  

‘हामीले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा राम्रो समझदारी बनाउनुपर्छ र सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुनसक्छ । भोलि पार्टी एकताका लागि संयोजन समिति पनि हुनसक्छ भनेर छलफल चलिरहेको छ’, प्रचण्डले भने, ‘अन्तिम निर्णय भैसकेको छैन । सम्भवतः केही दिनभित्र निर्णयमा पुग्छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप