शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओली, प्रचण्ड र माधवलाई पुष्पलालको फोटो राख्ने अधिकार नै छैन’

शनिबार, ०७ साउन २०७९, ११ : ०६
शनिबार, ०७ साउन २०७९

 उमेरले ६ दशक पार गरिसकेका लोककृष्ण भट्टराई पुराना वामपन्थी नेतामध्येमा पर्छन् । खासगरी पुष्पलालसँगको राजनीतिक शिक्षादीक्षाबाट हुर्केका भट्टराई पुष्पलालले स्थापना गरेको नेपालको कम्युनिस्ट पार्टी छिन्नभिन्न भएकोमा आक्रोशित छन् । नेपालको समाजवादी आन्दोलनका प्रणेता मानिएका पुष्पलालले लिएको नीति, विचार र सिद्धान्त बोक्ने भनिएका कम्युनिस्ट पार्टी र तिनका नेताहरू नै साम्राज्यवादका दलाल भएकाले उनीहरूबाट समाजवादको कल्पना गर्न नसकिने भट्टराईको विश्लेषण छ ।

नेपालको समाजवादी कम्युनिस्ट आन्दोलनमा पुष्पलालले अघि सारेको विचार र अहिलेका कम्युनिस्ट नेताहरूले अँगालेको बाटो कहाँ गएर मेला खाला ? प्रस्तुत छ पुष्पलालको ४४औँ स्मृति दिवसका सन्दर्भमा नेता भट्टराईसँग विविध पक्षमा गरिएको कुराकानी : 

तपाईंले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालसँग धेरै नजिक भएर काम गर्नुभयो । उहाँसँगको सहकार्य वा काम गर्दाको अनुभवबारे केही बताइदिनुस् न ?

पुष्पलालसँग मेरो सहकार्य नै त भन्न मिल्दैन । किनभने उहाँ मेरो बाउसँगको साथी भएकाले पुष्पलाल मेरो नेता हो । तर उहाँसँग मेरो चिनजान भयो, सुखदुःखको हैसियत भयो, उहाँको सङ्गतबाटै म कम्युनिस्ट पार्टीमा लागेँ ।

पुष्पलाल र अहिलेका कम्युनिस्ट पार्टीका नेताबीच कुनै समानता छ ?

पुष्पलालसँग अहिलेका कम्युनिस्ट पार्टीका नेताहरूको तुल नै हुन सक्दैन । पुष्पलाल वास्तविक सर्वहारा र श्रमजीवी वर्गको नेता हुनुहुन्थ्यो । यिनीहरू त दलाल पुँजीपति वर्गका प्रतिनिधि मात्र हुन् । उहाँको लक्ष्य नेपालमा लोकतन्त्रको पुनर्बहाली त हुँदै हो, काँग्रेस र कम्युस्टिलाई पनि सँगै मिलाएर लैजाने सिद्धान्त पनि हो । त्यसबेला अहिलेका प्रचण्डहरू गद्दार पुष्पलाल भनेर बुरुकबुरुक उफ्रन्थे । पहिला मोहनविक्रम सिंहका चेला प्रचण्ड अहिले शेरबहादुर देउवाको चेला भए । माधवकुमार नेपाल पनि पनि शेरबहादुरकै चेला भए, यस्तो लाजमर्दो पनि हुन्छ ? त्यसकारण पुष्पलाल भनेका त्यस्ता व्यक्तित्व हुन् नेपालको जनताको अधिकार पुनर्बहाली गर्ने आन्दोलनको ‘रियल फिलोसफर’ हुन् ।

पुष्पलालले अनुसरण वा प्रतिपादन गरेको कम्युनिस्ट विचार, नीति र सिद्धान्त चाहिँ कस्तो अवस्थामा छ ?

प्रजातान्त्रिक आन्दोलन अघि बढाउने नेपालमा केही नेता थिए । पहिलो पुष्पलाल र बीपी कोइराला । दोस्रो गणेशमान सिंह र मनमोहन अधिकारी । तेस्रो मदन भण्डारी र अरू बाँकी । तर अहिले शेरबहादुर देउवालाई र बीपी र गणेशमानको फोटो टाँस्ने अधिकार छैन भने प्रचण्ड, केपी ओली, माधव नेपाल जस्ता आफूलाई कम्युनिस्ट भन्नेहरूलाई पुष्पलाल र मनमोहन अधिकारीको फोटो टाँस्ने अधिकार छैन ।

नेताहरूले त्यो अधिकार कसरी गुमाए ?

काँग्रेस वा देउवाले बीपीको आदर्श छोडेर पुँजीपतिका सेवक बनिसके । प्रचण्ड, ओली र माधव नेपालहरूले पुष्पलालको विचार र आदर्श त्यागेपछि उनीहरूले त्यो अधिकार पाउने कुरै हुँदैन ।

जसले बोक्नुपर्ने हो, उनीहरूले नै छोडेपछि पुष्पलालको विचार मरेको हो ?

कहाँ मर्छ ? जनताले बोकिरहेका छन् । पुष्पलाल, बीपी, गणेशमान जनताका नेता हुन्, त्यही भएर जनताले उनीहरूको विचार छोडेका छैनन् । पार्टी खोलेर अध्यक्ष हुँदैमा विचार बोकिँदैन । व्यवहार र कार्यशैली पनि सोहीअनुसार हुनुपर्छ । हिजो २०४६ साल अगाडि मेरो जिल्ला ओखलढुङ्गामा कम्युनिस्ट पार्टीको मान्छे म मात्रै थिएँ । सबै पञ्च थिए । काँग्रेसका एकजना चन्द्रकान्त दहाल भन्ने थिए । त्यस्तै अहिले पुष्पलाल, बीपी र गणेशमान, मनमोहन वा कृष्णप्रसादको विचार बोक्ने, उनीहरूका अनुयायी बाँकी रहेनन् । अहिले रहेको नेपाली काँग्रेस पनि पुँजीपति दलाल वर्गको विचार र सेवा गर्न थाल्यो । कम्युनिस्ट पार्टी भन्नेहरू पनि पुष्पलालको विचारबाट च्यूत भए ।

तर नेपालमा कम्युनिस्ट नामका पार्टीहरू बग्रेल्ती छन् । उनीहरूले बेलाबेला पुष्पलालको फोटो पनि पूजा गरिरहेको देखिन्छ नि ?

म मार्क्स जन्मेको स्थान जर्मनीको ट्रायरमा गएँ । जहाँ मार्क्सले कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । त्यहाँ मार्क्सले प्रतिपादन गरेको कम्युनिस्ट पार्टीको पक्षमा ३२८ भोट आयो भने उहाँको विपक्षीको २८ हजार भोट आयो । तर मार्क्स खराब हुन् त ? होइनन् । त्यहाँ पनि मार्क्सको नाम लिएका मान्छे बदनाम भए भने अहिले नेपालमा पनि कम्युनिस्ट पार्टीको नाम लिएर जो आएका छन् ती मान्छेहरू बदनाम भए । तर पनि अहिले नेपालमा ७० प्रतिशत मानिस कम्युनिस्ट पार्टीकै भोटर छन् । यदि कम्युनिस्टहरू मिल्ने हो भने काँग्रेसको केही चल्दै चल्दैन । तर राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति लागेर नेपालका कम्युनिस्टलाई एक हुन दिँदैनन् । ती अन्तर्राष्ट्रिय शक्तिको पछाडि, केपी ओली प्रचण्डहरू दौडिएका छन् । त्यसकारण उनीहरू पुष्पलालको विचारअनुसार हिँडेको मानिँदैन । हिजो नेकपा फुट्नु पनि त्यही कारण हो । यो भएकाले मैले उनीहरूलाई पुष्पलालको फोटो टाँस्ने अधिकार छैन भनेको हो । नेकपा विचारका कारण फुटेको होइन, केपी ओली दुई तिहाइले प्रधानमन्त्री भएका बेला संवैधानिक नियुक्तिमा प्रचण्डका केही मान्छे नियुक्ति गरिदिएको भए नेकपा नै फुट्ने थिएन । त्यसैले म यिनीहरूलाई कम्युनिस्ट होइन ‘इगोटिस्ट’ हुन् भन्छु, दे आर नट कम्युनिस्ट । त्यसैले यिनीहरूले जतिसुकै पुष्पलालको फोटो टाँसे पनि विचार बोक्न सक्दैनन्, मध्यम वर्ग, दलाल नोकरशाही पुँजीपति वर्गको ताबेदारमा हिँडिरहेका छन् ।

पुष्पलालले त्यसैबेला गणतन्त्र र समाजवादका लागि आन्दोलन थालेका थिए, तर अहिलेका कम्युनिस्टहरू पनि त्यही कुरा दोहोर्याइरहेका छन् नि ?

यिनले यस्तो कुरा गर्नुको केही अर्थ छैन । गणतन्त्र र समाजवादका लागि पुष्पलालले त्यहीबेला आन्दोलन र विचार अघि सारे । राजाको श्रीपेच फालेर गणतन्त्र त आयो तर त्यति मात्रै गणतन्त्र हो र ? होइन । नारायणमान विजुक्छे पुष्पलालकै कार्यकर्ता हो, उहाँले गणतन्त्र गन्हाउने तन्त्र हो भन्नुभयो । साँच्चै गणतन्त्र आएको हो भने त समग्र नेपाली जनता, गरिब असाहय, पछि पारिएकाहरूले अवसर पाउनुपर्यो नि ! पुष्पलालले सोचेको गणतन्त्र यस्तो होइन । अहिले विनोद चौधरी, खेतान, दुगड, टिवडेवाल हाबी हुन्छ भने त्यो गणतन्त्रबाट ती सामान्य नागरिकले के पाउँछन् । फरक यति हो पहिला एउटा राजा थिए, अहिले सयौँ राजा आए । पुष्पलालले कल्पना गरेको गणतन्त्र सयवटा राजा आउनु होइन । उहाँले कल्पना गरेको वास्तविक जनवादी गणतन्त्र, जो तलदेखि माथिसम्म सबैले बुझ्ने, लेख्ने र सबैले रोजगारीको अवसर पाउने गणतन्त्र हो । नेपाली विदेश पठाएर उनीहरूले पठाएको रेमिट्यान्स खाएर बस्ने गणतन्त्र पुष्पलालले कल्पना गरेका होइनन् । अहिले व्यापार घाटा हेर्दा नेपाल रहन्छ कि रहँदैन भन्न सक्ने अवस्था छैन । भारत, चीन दुवैसँग व्यापार घाटा बढ्दो छ, उत्पादन र निर्यात केही छैन । ब्राजिलबाट मकै, भारतबाट चामल र तरकारी आउने कल्पना पुष्पलाल र बीपीले कल्पना गरेका थिएनन् । त्यसैले पुष्पलालको फोटो टाँस्ने अधिकार यिनीहरूलाई छैन ।

अहिलेका कुनै पनि कम्युनिस्ट पार्टीलाई त्यो अधिकार छैन ?

छैन । काम जति सबै निजीकरण गर्ने, अनि किन पुष्पलालको फोटो दुरुपयोग गर्ने यिनीहरूले ? शिक्षा, स्वास्थ्य, रोजगार हेर्नुस् त ! एउटा गरिबले उपचार पाउन सक्छ ? पुष्पलालले त्यही सोचेका थिए ? पुष्पलालले त शिक्षा, स्वास्थ्य सबै राष्ट्रियकरण गर्ने भनेका थिए । रोजगार बढाउने, कृषि र ऊर्जामा २० प्रतिशत बजेट छुट्याउने पुष्पलालको सोचाइ थियो । अहिले बिजुली बेच्ने कुरा गर्छन् तर पुष्पलालको विचार बिजुली उत्पादन गर्ने र नेपालमै खपत गर्ने । झुलाघाटबाट स्याङथापुसम्म केवलकार रोपवे हाल्ने । पेट्रोलियम पदार्थ विस्थापित गर्ने । विजुलीबाटै यातायात चलाउने गर्दा खर्बौं बजेट विदेशिनबाट रोकिन्छ । साथै विदेशी मुद्रा वचत गर्ने र देशभित्रैबाट मासु, तरकारी, फलफूल र खाद्यन्न आत्मनिर्भर बन्ने र सोही किसिमका उद्योग खोलेर उत्पादन बढाउँदै विदेश निकासी गर्ने पुष्पलालको सोच हो ।

एमाले, माओवादी, नेकपा समाजवादी र मोहन वैद्यलगायतका पार्टीले पुष्पलाललाई सम्झन्छन् । तर पुष्पलालसँग उनीहरूको कार्यनीति र कार्यशैली कति मेल खान्छ होला ?

मोहन वैद्यको कुरा नगरौँ उहाँ, सादा जीवन उच्च विचारमै कायम रहेकाले पुष्पलालसँग नजिकनजिक नै हुनुहुन्छ । बाँकी विनोद चौधरीसँग नजिक छन् ।

जो पुष्पलालको बखान गरेर थाक्दैनन्, उनीहरू सुध्रने सम्भावना देख्नुहुन्छ ?

नसुध्रे फ्याँकिन्छन् । अमेरिकामा डेमोक्रेटिक र रिपब्लिक पार्टीले मार्क्सवाद विस्थापित गर्न जनतालाई रोजगार दिए, उत्पादन पनि गरे, कृषिमा २२ प्रतिशत बजेट छुट्याए त्यस्तो किसिमको पोलिसी लिएर अरू आए भने विस्थापित हुन्छन् । नेपाल यस्तो संवेदनशील देश हो, जहाँ चीन र भारतको सिमाना छ । तिब्बत नजिकै छ, यो संसारको सबभन्दा रुफ अफ द वर्ल्ड हो । यहाँ तेल, अग्रख, हीरा, मोती, सुन दस हजार वर्षभन्दा बढीलाई पुग्ने छ । रुसको साइबेरियामा पनि मध्यपूर्वमा ३० वर्षलाई पुग्ने तेल छ । त्यसैले युरोप अमेरिकाको लक्ष्य भनेको तिब्बतलाई चीनबाट छुटाउने, रुसलाई कमजोर बनाउने । तर युरोप अमेरिकाको दुर्भाग्य के भने रुसलाई डिसमेन्टल गरे पनि पुटिन आइदिए । नेपालमा गणतन्त्र आए पनि चीनमा सी चिनफिङ आइदिए । यहाँबाट चीनलाई विस्थापित गर्नसक्ने हैसियत नभए पनि कोसिस गरिरहेका छन् । तर सक्दैनन् । यहाँ अमेरिकनहरूले शेरबहादुरलाई किनिरहेका छन्, एमसीसी पास गर्नुको कारण त्यही हो ।

नेपालको राष्ट्रियता र स्वतन्त्रता हाम्रो नियन्त्रण बाहिर गयो ?

जनताको नियन्त्रणमा छ । हाम्रो उत्तरमा चीन र दक्षिणमा भारत छ । जबसम्म चीन र भारतको डाइभर्स कन्ट्रयाडिसन हुँदैन तबसम्म हाम्रो सोभरियन्टी जाँदैन । प्रचण्ड जो यत्रो जनयुद्ध गरेर आए, उनले त्यो पार्टी जोगाउनुपर्दैन ? किन फुटाएको ? किन वैद्य विप्लव हिँडे ? आज शेरबहादुरलाई नेता बनाएर वैद्यलाई माइनस गर्ने प्रचण्ड कुनै कम्युनिस्ट हुनसक्छन् ? म विश्वास गर्दिनँ । एमाले र माओवादी मिलेर नेकपा बन्यो तर दुई जनाका कारण फुट्यो । ओली र प्रचण्डबाहेक अरूको लडाइँ नै होइन त्यो । पावरको लडाइँले नेकपा फुट्यो । केपी ओलीले ५२ जना संवैधानिक नियुक्ति गरे, प्रचण्डले भनेको कोही पनि गरेनन्, त्यसपछि प्रचण्डले १९ बुँदे ल्याए, त्यसपछि ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरे । त्यसैले यिनीहरूको यात्रा साम्यवादको त कुरै छैन, समाजवादसम्मको पनि छैन, जाँदैनन् । अहिले संसद् र संसद् बाहिर रहेका जुनसुकै कम्युनिस्ट पार्टीहरू समाजवादमा जान्छन् भनेर आशा गर्नु नै बेकार छ । कार्यकर्ता बरु समाजवादमा जान हिँडेका छन् । नेताहरू कार्यकर्तालाई भुलभुलैयामा अल्मल्याइरहेका छन् । प्रचण्ड जसले हजारौँलाई सहिद बनाए अहिले उनी कसको घरमा बस्दैछन् ? त्यो अधिकार छ ? छैन । झापा आन्दोलनमा कयौलाई सहिद बनाएर आएको परिवर्तनमा अहिले केपी ओलीलाई मोजमस्ती गर्ने अधिकार छ ? छैन । त्यसैले जनताले उनीहरूलाई फाल्छन् । त्यस्ता कम्युनिस्ट र काँग्रेसका नाममा आएका फटाहाविरुद्धको आन्दोलन हामी जनता गर्छौं । पुष्पलाल, बीपी, गोशमानहरूको अभिशाप बनेर जो आएका छन् र आफूलाई काँग्रेस र कम्युनिस्ट भनिरहेका छन्, तिनको विरुद्ध नेपाली राष्ट्रियता र समाजवादका लागि हुने आन्दोलनको हामी लिड गर्छौं ।

साम्राज्यवाद र पुँजीवादको विरोधी रहेका पुष्पलालकै शिक्षादीक्षा लिएकाहरू के कारणले यसरी फस्न पुगेहोला ?

पुष्पलालको वृत्तचित्र केही समयपछि आउँदैछ । दरभङ्गा अहिले भारतमा पर्छ । त्यहाँ डा. विश्वनाथ सिंहको घर छ, त्यहाँ उनकी ८८ वर्षीय श्रीमती छन् । पुष्पलाल त्यही घरमा बसेका थिए । अहिले पनि पुष्पलाल सुतेको खाटमा तन्ना कसिराखेकी छन् । बिहारमा भूमिगत हिसाबले भूमिहीन किसान आन्दोलनको नेता पुष्पलाललाई मान्थे । पुष्पलालले दरभङ्गाको प्लेटफर्ममा जहाँ बत्ति थिएन, त्यो प्लेटफर्ममा बसेर लेखेका किताब ३२ वटा छन् । ती किताब नेपालको प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित छन् । त्यसरी पुष्पलालले लेखेका किताब पढेर कम्युनिस्ट भएका प्रचण्ड, केपी, माधव नेपालले पुष्पलालप्रति प्रतिबद्ध हुने हो भने आजै आफूलाई डिग्रेड गर्नुपर्छ । पाँच पाँचवटा च्वाँ च्वाँ गर्ने गाडी छोड्नुपर्छ, एउटा गाडी भए पुग्छ । केपी ओलीले पुष्पलाललाई मान्ने हो भने बालकोटको घर सरकारका नाममा पास गर्नुपर्छ । माधव नेपालले कोटेश्वरको घर पास गर्नुपर्छ । शेरबहादुरले बूढानीलकण्ठको बङ्गला सरकारलाई दिनुपर्छ । यदि त्यसो नगर्ने हो भने यी नेताले पुष्पलाल वा बीपीको फोटो झिकेर विनोद चौधरी वा खेतानहरूको फोटो टाँस्दा हुन्छ ।

आर्थिक सङ्कट चुलिँदो छ, सत्तामा बस्नेको कुनै भिजन छैन, सामान्यतया यसलाई उकास्न के गर्नुपर्ला ?

केही गर्नुपर्दैन चीनले डेनमार्क, जर्मनी, भियतनाम र थाइल्यान्डबाट आयात गर्छ । यदि नेपालले चाहने हो भने प्रत्येक घरमा २० वटा बङ्गुर पालेर सरकारले मासु अत्याधुनिक कारखाना खोलेर त्यो मासु निकासी गर्ने हो भने नेपालबाट रोजगारीका लागि कही जानुपर्दैन चीनमा बङ्गुरको मासु निकासी गरे राजगारी पुग्छ र नेपाल नै युरोप बन्छ । तर यो फिलोसफीमा न प्रचण्ड लाग्छन् न देउवा न ओली ?

नेपाली समाजलाई हेर्ने पुष्पलालको वैज्ञानिक दृष्टिकोण अहिलेका कम्युनिस्ट पार्टीले समातेको भए नेपाल र नेपालीको अवस्था कस्तो हुन्थ्यो होला भन्ने परिकल्पना गर्न सकिन्छ ?

यदि पुष्पलालको दृष्टिकोण समातेको वा त्यो बाटोमा हिँडेका भए नेपाल हेभेन भैहाल्थ्यो नि ! उत्पादन बढाउने, त्यसका लागि कृषि र ऊर्जामा बजेट हाल्ने उहाँको नीति हो । यसले रोजगारी सिर्जना हुनुका साथै निर्यात बढ्ने र व्यापार घाटा कम गर्छ ।

नेपालको राजनीतिक मूलधारमा कम्युनिस्टहरू आएको झन्डै ३० वर्ष हुन लाग्यो । यो समयमा उनीहरूले सरकार पनि चलाए तर देश विकास हुनु त कता हो, कता अरूलाई मात्रै गाली गरेको सुनिन्छ यसको कारण के होला ?

यहाँ दलाल नोकरशाही ब्युरोक्रेसी छ त्यो साम्राज्यवादी एकाधिकार पुँजीवादपरास्त छ । त्यो ब्युरोक्रेसीले नेपालका कम्युनिस्ट र काँग्रेसलाई किन्यो । त्यसलाई नियन्त्रण गर्ने कुनै नेता भएन । यो भएसम्म समस्या रहिरहन्छ । अहिले त अहिलेको निर्वाचनमा पार्टीका नेताहरूलाई चुनाव जिताउन पनि त्यही ब्युरोक्रेसीले पैसा खोजिदिन्छ । उसले शेरबहादुरलाई १० हजार रुपैयाँ खोजिदिन्छ भने त्यो कर्मचारीले ९० हजार आफू खान्छ । प्रचण्ड ओलीको पनि हालत त्यही हो । चीनमा चाउएनलाई १८ घण्टा काम गर्थे । यहाँ को छ १८ घण्टा काम गर्ने ? केही गर्न कृष्णप्रसाद भट्टराई र मनमोहनले गर्न खोजेका थिए तर उनीहरूलाई हराउने र हटाउने कामहरू भए । अहिले त सबै बीपी र पुष्पलालका कार्यकर्ताहरू साम्राज्यवादका एजेन्ट हुन पुगे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप