शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जराको शक्ति

शनिबार, ०७ साउन २०७९, १० : ३१
शनिबार, ०७ साउन २०७९

जीवन बाहिर खोज्छौँ हामी । तर, जीवन जरामा छ । जीवनलाई हामी हमेसा पातमा खोज्छौँ । पतिङ्गरमा खोज्छौँ । हाँगामा हेर्छाँै । टुप्पामा देख्न खोज्छौँ । तर, जीवन बाहिर कहाँ यति सजिलै देखिन्छ र ! जीवनको मूल सारतत्व अदृश्य जरामा छोपिएको छ । माटो मुनिमुनि छोपिएको छ ।  बाहिरका हाँगाबिगाँ र पातहरू त यसका देखिने साकार रुपहरू हुन् । जीवनको मूल विन्दु अरुप निराकार ऊर्जाबाट परिचालित छ ।

पातको यात्रा देखिने दिशातिर अभिमुख छ । जराको यात्रा अदृश्य पथमा गहिरिँदो छ । जरा धर्तीभित्र जलकुण्ड भेट्न आतुर छ । त्यो आतुरी पातको पोषणको निम्ति हो । त्यो हतार उसलाई हरितकण पिलाएर हरिलो–भरिलो पार्ने उद्देश्यले परिलक्षित छ । 

रुख पातको भारी बोकी ठिङ्ग उभिने भरियामात्र होइन, फूलहरूले शोभायमान हुनु छ जरालाई । फलहरूले लदावदीले हुनु छ यसलाई । त्यसको लागि जरा अदृश्यमा रहेर महान काम गरिरहेको छ । जराको काम गोचर दुनियाँले त्यति सजिलै देख्तैन । अदृश्यमा चलेको काम बाहिरी आँखाले देख्न सक्तैन । यसका लागि भित्री आँखा नै खुल्नुपर्छ ।

जराको शक्तिले रुख उभिन्छ । जराको शक्तिले त्यसको सुख जोडिन्छ । जरा निर्वल बन्यो भने रुख आफैँमा ठडिन सक्तैन । धेरै साल अघि मैले जराको आर्तनाद बुझेर एक कविता लेखेथँे । अर्थात् जराको तप्त वेदनालाई बुझेर जराको दुःख कोरेथेँ । वास्तवमा बाहिर डालीमा, हाँगामा फूलको अपूर्व हर्षनाद चलेको बेला जरा कठिन दुःखमा हुन्छ । ऊ माटोमुनिको अँध्यारो गुप्तवासमा छोपिएको हुन्छ । बेढ्ङगसित फिँजारिएको हुन्छ । लयहीन जिङ्ग्रिङ्ग्रसित निस्सासिएको अवस्थामा फूलको गोठालो बनिरहेको हुन्छ ।

टुप्पामा फूल त्यसै हाँसेको हुन्न । फूलको मुस्कानमा जराले पुर्याएको मलजलको पोषण कुन कविका आँखाले अहिलेसम्म देख्यो र ? जरा आफू अँध्यारोमा छ । तर, फूललाई रङको रोशनी उसैले दिइरहेको छ । जरा आफू कुरुप संसारमा छ ।  तर, फूललाई धर्तीकै सुन्दरतम सृजनहारले ढकमक्क पारिरहेको छ । आफू थिचिएर छोपिएर पनि कसैलाई प्रकाशवान पार्नु, कसैको सौन्दर्य सतहभरि बिखर्नु कति ठूलो काम हो ! आफू चट्टानको चेपमा चेपिएर बसेको छ र पनि फूललाई चाहिने खानापानी ठेल्न रत्तिभर कन्जुस्याइँ गर्दैन ।

यसले भोगेको छ, असाध्यै ठूलो कालो तमिस्राको सास्ती । सो कुरा फूललाई अलिकति पनि थाहा हुन्न । फेरि फूललाई सबैले देख्छन् । जरालाई कसैले देख्तैनन् । कविको काव्यरसमा फूल नाच्तै आउँछ । वयली खेल्दै आउँछ । सुगन्ध छर्दै आउँछ । चरा र पुतलीलाई आमन्त्रण दिँदै आउँछ । गायकको गीतमा पनि यो झङ्कृत हुन्छ । पूजारीको थालीमा पनि यो सजिन्छ । कुनै नवयौवना षोडसीको कपालमा पनि शिरफूल बन्न सक्छ । यसरी जताततै फूलको हाँसो र हर्षनाद चलेको बेला कसले बुझ्छ, जराको दुःख ? चल्छ त फूलको मात्र यशोगान चल्छ । जरालाई कसैले एकरत्ति सम्झिँदैन ।

यसको सुवास÷सुगन्धको चर्चा चल्छ । सौन्दर्यको मिमांशा हुन्छ । तर, जराको दुःख काहीँ कतै फिटिक्क उच्चारण हुँदैन । जराको सौन्दर्य, जराको सुगन्ध कुनै काव्यमा स्फूरण भएको छैन । फूलको विपुल अर्चनामा हामी निमग्न बनेको वखत जरा चर्चाविहीन रुपमा परित्यक्त छ । उपेक्षित छ । अपमानित छ । ताडित छ । बाधित छ । आफ्नै पीडा र औडाहामा भित्रभित्रै गुम्फित छ । जसै नेतो फूल बनेर डालीमा लच्किएको बेला जन्तो जरा बनेर टाक्सिएको छ पाखाभित्तामा, अँध्यारो कुनाकानीमा ।

प्रकृतिमा आँधी हुरी आयो भने फूललाई हाँगाबाट झरिदिए पुग्छ । यसउपर कुनै ठूलो जिम्मेवारी छैन । तर, आँधी हुरी चलेको वेला सिङ्गो रुखलाई जराले थाम्नुपर्छ । जरा कमजोर बन्यो भने रुख ढल्छ । रुखको सकल अस्तित्व जराको बलमा उभिएको हुन्छ । जरा कमजोर र जीर्ण बन्यो भने सुमनसौरभको आशा टुट्तछ ।

जरालाई सानो कीराले काटिदिएमा पात पहेंलिन्छ । फूल अत्तालिन्छ । ओइलाउँछ र माटोमा झर्छ । जराको शक्तिमा तरुवर तङ्ग्रिएको कुरा छोटो दृष्टिका मनुवाले भुल्दछन् । गहन लम्वे अन्र्तदृष्टि बोकेका जनले जराको ताकतलाई कहिले खेलाँची नजरले हेर्दैनन् । तर, जरालाई हमेसा चुनौती मनपर्छ । आँधीले हल्लाएको रुखको जरा जति मजबुत हुन्छ, त्यति मजबुत आँधी हुरी नझेलेका जरा किमार्थ हुन्नन् । जुन तरुवर आँधी तूफानको घर्षणबाट गुज्रिँदैन । त्यो अनाडी काँचो कमजोर हुन्छ । त्यसको मेरुदण्ड नै लुलो हुन्छ । त्यसको शरीरै फितलो बन्छ ।

जराको विषयमा कथिएको प्राचीन यहुदी कथाको मिथक मलाई औधी मीठो लाग्छ । एकचोटिको कुरा हो, एउटा किसान प्रकृतिदेखि साह्रै थाक्छ । प्रकृतिदेखि खुव रिसाउँछ । किनभने जव ऊ खेतवारीमा बालीनाली लाउँछ, अनि कहिले मुसलधारे वर्षा ओइरिन्छ । कहिले भुपट्ट खडेरी लाग्छ । कहिले कीरा फट्याङ्ग्राको फौजी हुलले बोटविरुवा सखाप पारीदिन्छ । कहिले बाली थन्क्याउने बेलामा या बाली फूल खेल्दाखेल्दै असिना पानीले सर्वनाश गर्छ । कहिले आँधी बतास यसरी आउँछ, लहलह भएको बाली सोत्तर बनाइ माटोमा मिलाउँछ । प्रकृतिको अनेकन ताण्डव लीला देखेपछि ऊ प्रकृतिलाई आँैलो ठड्याएर प्रश्न गर्छ । 

“यई ऽऽ ! तँलाई खेती किसानीको कला कहिल्यै आएन हगि ? म मेरा अनेकाँै पूर्खाहरूबाट खेतीकिसानीको अनुपम विरासत बोकेको पात्र हुँ । हे ! प्रकृति बरु मसित सिक्नु क्या खेतीको कला अर्थात् बोटविरुवालाई कति हावा, कति पानी, कति घाम, कति छायाँ दिनुपर्ने हो ? त्यो कुरा तँलाई म राम्ररी सिकाइदिन्थेँ । तँैले कहिले घामपानी अड्कल्न जानिनस् । तैँले कहिल्यै आँधीबतासको मात्रा मिलाउन जानिनस् । धिक्कार छ तँलाई । हामी किसानलाई तँैले जहिल्यै हैरानीमा पारिस् । तेरो गैरजिम्मेवार चरित्रदेखि हामी आजित छौँ । मिलेदेखि तँलाई पाठ पढाइदिने थिएँ ।” 

उसको कुरा प्रकृतिले गहिरो गरी सुन्छ ।

 अनि भन्छ, “हे मनुवा ! तिमी जे चाहन्छौ त्यही गर अब । तिम्रै हातमा छोडिदिन्छु सबै कुरा । आफ्नै खटनले जति वर्षा चाहिने हो, पानी बर्साऊ । जति सूर्यको रापताप चाहिने हो, त्यति प्रयोग गर । जति हावा चाहिने हो, त्यति हुरी चलाऊ । म चुपचाप बसिदिन्छु । तिम्रै मर्जीअनुसार चाहिने चिज प्रयोग गर । राम्रोसित फसल उब्जाऊ ।”

किसानले प्रकृतिबाट यत्रो अख्तियारी पाएपछि खुशी हुँदै खेतमा अनाजको बीउ छर्यो अर्थात् गहुँ खेती लायो । उसले छरेको गहुँ यसरी बढ्यो, यस अघि यस्तो बोट कहिल्यै आएकै थिएन । विरुवा नै सात आठ फिट अग्लो भयो । त्यसमाथि एक हातको बाला लाग्यो । किसान खुशीले गद्गद् भयो । उसले प्रकृतिलाई शवक सिकाउने विचार गर्‍यो । ऊ भित्रभित्रै आल्हादित थियो । खुशीले उसको चेहरा धपक्क बलेको थियो । कारण खेती किसानीको कला भगवानले पनि मबाटै सिक्नुपर्छ भन्ने कुरामा ऊ शतप्रतिशत ढुक्क थियो ।

जीवनमा पहिलोचोटि उसले सबचिजको खटनपटन आफ्नो हातमा लिएको थियो । गहुँ खेतीलाई कति हावापानी, कति सर्दीगर्मी अड्कल्नु पर्ने हो, त्यो अडकली अड्कली प्रयोग गरेको थियो । सोही माफिक बोटपनि आयो । बाला पनि लाग्यो । बाली काट्ने सिजन आयो । प्रशन्न मुद्रामा बाली काट्यो । जब खलामा लगेर गहुँ कुट्न थाल्यो । त्यसबेला ऊ निराश बन्यो, कारण गहुँका अधिकाँश बाला फोस्रा थिए । उसका आँखाबाट आँसुको झरना बहन थाल्यो । उसले नसोचेको कुरा भएको थियो ।

आफ्नो हात जगन्नाथ भने जस्तो यसपालि त कुनै साल भित्र्याउन नसकेको फसल थन्क्याउँछु भन्ने उसको सपना थियो । तर सपनामाथि तुषारापात भएको थियो ।

ऊ फेरि प्रकृतिको काखमा गएर प्रकृतिलाई आह्वान गर्दै सोधनी गर्‍यो, “ओई ! प्रकृति माते ! यो के अनर्थ भयो । यसपालि त मैले तिमीलाई दोष दिने ठाउँ छैन । किनभने सबै चिजको तजविजी अधिकार मेरै हातमा थियो । घामपानी कति प्रयोग गर्ने, हावाहुरीको मात्र कति लगाउने, डाडुपन्यू नै मेरो हातमा थियो । तालाचाबी नै मलाई सुम्पिएका थियौ । मैले पनि सबैचिज अड्कली अड्कली नै लाएको हुँ । बोटपनि आएकै हो । बाला पनि झुलेकै हो । तर, दाना भने शून्य बरावर लाग्यो । यो के अनर्थ भयो ? कहाँ गलत भयो । त्यो जान्न चाहन्छु प्रकृति माता !” 

प्रकृति माता मुसुक्क हाँस्तै बोलिन्, “ठिक छ मनुवा, म तेरो कमजोरी बताइदिन्छु । सुन ! बोटविरुवालाई मलजल हालेर मात्र पुग्दैन । घामपानीको ठिक्कको मात्रा जुटाइदिएर मात्र हुन्न । बालीविरुवालाई बेलाबेलामा चुनौती दिइरहनुपर्छ । विरुवाको लागि असिनापानीको झँटेलो खन्याउनुपर्छ । कहिले तुफानी आँधी वतासको वेग चलाइदिनुपर्छ । अनि कहिले खडेरीको दुर्भिक्ष खडा गर्नुपर्छ । तेरो गल्ती त्यहीँ नै भयो । तैँले न त खडेरी लाग्न दिइस्, न त आँधी हुरी चल्नै दिइस्, न त असिनापानी दर्किन दिइस् । यी केही चिज हुन नदिएपछि बिरुवालाई कुनै चुनौती नै भएन । विना चुनौती ऊ लिङ्रिङ्ग बढ्यो मात्रा । उसका जरा गहिराइमा जम्न पाएनन् ।’

प्रकृति माताले भन्दै गइन्, ‘बालीविरुवालाई हमेसा चुनौती दिइरहनुपर्ने हो, त्यो चुनौती उसलाई मिल्दा पनि मिलेन । ऊ त एक सुखको परिवेशमा आफ्नो टुप्पो बढाउनेतिर मात्र लाग्यो । जरा जति गहिराइमा गएर मजबुत हुनुपर्थ्यो, त्यो हुन सकेन । बाहिरी बोट त आठ फिट बढ्यो ता नि । तर गहुँका जरा आठ इन्च पनि गाडिन पाएनन् । बाहिर देख्नको डाल मात्रै भयो । भित्री जरा मजबुत हुनै पाएन । जरा मजबुत नभएपछि जराबाट दानाको लागि जुन जुन तत्त्वको पोषण पुग्नुपर्ने हो, त्यो पुग्न सकेन र तैँले अपेक्षित फसल भित्र्याउन सकिनस् मनुवा !” 

म भुलमा परेँ भनी किसानले क्षमायाचना गर्‍यो ।

किसानले प्रकृतिसामु आफ्नो हार स्वीकार गर्‍यो । खेतीपातीको उत्कृष्ट कला आफूमा छ भन्ने मिथ्या भ्रम त्यागेर प्रकृतिकै मर्जीमा शरणागत बन्यो । 

बाहिरी बोट देह हो, भित्री जरा आत्मा हुन् भन्ने कुरा प्रकृतिले किसानलाई सिकाएको थियो । जरालाई जति चुनौती दियो, त्यो त्यति मजबुत हुन्छ । जरालाई जति धेरै समस्यामा पार्‍यो, त्यो त्यति नै बलवान भएर बोटलाई शक्तिशाली बनाउँछ र समयका कठोरतम झापडहरू व्यहोर्न सक्ने हुन्छ ।

रुखका जरा काट्ने कि जरालाई पोषण दिने ? जरा उखेल्ने कि जरालाई नव–नव चुनौती दिने ? त्यो हाम्रो व्यवहारले निर्धारण गर्ने कुरा हो । बोटबिरुवाको एक उदाहरणबाट जीवनका जरा मजबुत गर्ने कला सिक्ता जाति नै हुन्छ ।

किनभने जीवनरुपी गाछीमा जरा जति गहिराइमा जान्छ, जरा जति मजबुत बन्छ । त्यति नै त्यसले सुगन्धित फूलहरू उमार्न सक्छ, त्यति नै त्यसले मनमोहक फलहरू फलाउन सक्छ । जराकै शक्तिमा त उभिएको हुन्छ, जीवनको हरियो गाछी पनि । यसलाई सुखसुविधा मात्र होइन, भीमकाय चुनौतीले हरिलोभरिलो पार्ने गर्छ ।

विरुवाकै कुरा सापटी लिएर भन्दा जसरी आँधीतूफानले नहल्लाएको रुखको जरा मजबुत हुँदैनन् । जसरी आँधीहुरीले नहल्लाएको रुखको मेरुदण्ड बलियो बन्दैन । त्यसरी नै दुःख, विपत, संघर्ष र चुनौतीले स्पर्श नगरेको मनुवाको मेरुदण्ड कमजोर, लुलो र फितलो हुने कुरा सत्य हो । र, सानोतिनो असिनापानी, आँधीहुरीले उनीहरूलाई लल्याकलुलुक बनाइदिन सक्छ । जीवनको जो हरियो गाछी छ, त्यो जराकै शक्तिमा त ठिङ्ग उभिएको हुन्छ । जय जराको शक्ति !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप