शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशले निर्माण गरिरहेकाे शीत भण्डार भदौबाट सञ्चालनमा आउने

शनिबार, ०७ साउन २०७९, १० : २०
शनिबार, ०७ साउन २०७९

कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीत भण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् । 

उक्त शीत भण्डारमध्ये दुई महिनादेखि एउटा सञ्चालन भइसकेको र आठ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मेसिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो सातामा नै सञ्चालनमा ल्याइने बताइएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा सरोज पाण्डेका अनुसार सरकारले रु ९७ करोड ८३ लाख ६३ हजार लागतमा प्रदेशका १० वटा शीत भण्डार निर्माण सुरु भएको र अब नुवाकोटका दुईबाहेक अन्य सबैमा मेसिन जडान भइरहेको छ । सहकारी संस्था तथा निजी क्षेत्रसँगको साझेदारीमा मन्त्रालयले शीत भण्डार निर्माणको काम अघि बढाएको उनले जनाए।  
  
मन्त्रालयले १० वटै शीत भण्डार निर्माण बापत रु ६५ करोड ४८ लाख ६० हजार निर्माण कम्पनीलाई भुक्तानीसमेत दिइसकेको सचिव पाण्डेको भनाइ रहेको छ । चितवनको खैरहनी–६, धादिङको बेनीघाट रोराङ–७, रसुवाको कालिका–२, सिन्धुलीको सुनकोसी–५, सिन्धुपाल्चोकको लिसङ्खुपाखर–७ र इन्द्रावती, दोलखाको जिरी–५, रामेछापको मन्थली, शीत भण्डारको भौतिक निर्माण करिब अन्तिम क्षणमा पुगेको जनाउँदै सचिव पाण्डेले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा भने ६५ प्रतिशत मात्र काम भएकाले उक्त शीत भण्डार भने छ महिनाभित्र सञ्चालन गरिने बताए ।

प्रदेश सरकारले अधिकांश शीत भण्डारको निर्माणका लागि दुई वर्षको समय अवधि दिएर ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७८ मा नै हस्तान्तरण हुनुपर्ने थियो । मन्त्रालयले नुवाकोटको विदुर–५ र बेलकोटगढी–१० मा पाँच हजार मेट्रिक टन क्षमताका शीत भण्डार निर्माणका लागि ५० प्रतिशत र साझेदार संस्था तथा निजी कम्पनीको ५० प्रतिशत लगानी गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । विदुरमा कूल रु १९ करोड ८५ लाख ८१ हजार र बेलकोटगढीमा रु २० करोड ३९ लाख ६८ हजार लागतमा शीत भण्डार निर्माण ठेक्का सम्झौता भएको थियो तर कोरोना महामारीका कारण काम रोकिएर निर्माण सम्पन्न हुन दुई वर्ष ढिला भएको मन्त्रालयका सचिव पाण्डेले प्रष्ट्याए । 

दुई वर्षसम्म कोरोनाका कारण ठेकेदार कम्पनीले काम गर्न नपाएको विवरणमा उल्लेख भएको जनाउँदै उनले अब भने केही दिनमा नै सञ्चालनमा ल्याइने बताए। मन्त्रालयका अनुसार खैरहनी–६ मा साना किसान कृषि सहकारी संस्थासँगको साझेदारीमा २०७५ साल चैत १३ मा शीत भण्डार निर्माण सम्झौता गरेर काम सुरु गरेकामा हालसम्म करिब ९५ प्रतिशत सम्पन्न भएको छ । 

एक हजार ५०० मेट्रिक टन क्षमताको यस शीत भण्डार निर्माणका लागि रु १२ करोड ९४ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म रु ११ करोड ५२ लाख भुक्तानी भइसकेको छ । बेनीघाट रोराङमा एक हजार ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि कृषक सुधार फलफूल तथा तरकारी सहकारी संस्थासँग साझेदारी भएको छ । मन्त्रालयले रु १२ करोड ८३ लाख ७० हजार लागतमा सम्झौता गरेकामा हालसम्म रु १० करोड ९८ लाख ६४ हजार भुक्तानी दिएको छ । हालसम्म ९५ प्रतिशत काम सकिएको दाबी गरिएको छ ।

सिन्धुपाल्चोककै इन्द्रावतीमा पोखरे साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गर्न रु पाँच करोड ३५ लाख ४९ हजार लागतमा ठेक्का सम्झौता भएको हो । उक्त शीत भण्डारको ९४ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ । रामेछापको मन्थलीमा ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि कूल रु पाँच करोड ३० लाख ९५ हजारमा ठेक्का सम्झौता भएको थियो । 

त्यसैगरी सिन्धुलीको सुनकोसी–५ मा मुकुटेश्वर बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण कार्य ९६ प्रतिशत सम्पन्न भएको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर–७ मा गोल्मुथान कृषि सहकारीसँगको साझेदारीमा शीत भण्डार निर्माणको ठेक्का सम्झौता भएको थियो । पाँच सय मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि कूल रु पाँच करोड ३५ लाख  लागतमा ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो । हालसम्म ९५ प्रतिशत काम सकिएको मन्त्रालयले जनाएको छ ।

दोलखाको जिरी नगरपालिका र जिरी कृषि सहकारी संस्थासँगको साझेदारीमा रु पाँच करोड ३७ लाख लागतमा ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण सुरु भए पनि हालसम्म ९४ प्रतिशत काम सकिएको बताइएको छ ।

रसुवाको कालिका गाउँपालिकामा साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको साझेदारीमा ३०० मेट्रिक टन क्षमताको शीत भण्डारमा अन्तिम कार्य भइरहेको बताइएको छ । केही शीत भण्डारमा मेसिनसमेत जडान भएर बत्तीको मिटरमात्र जडान बाँकी भएको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप