कविता : अनुत्तरित जिन्दगी
जीवनको नयाँ अध्याय सुरु भएको छ
हरेक पाठहरुसँगै
अन्तिम पाना पल्टाउदै गर्दा
म खोज्नेछु
सुख दुःख
आफ्नो बिरानो
भोगाइ सिकाइ गल्ती कमी कमजोरी ।
समयको यो परिधिभित्र
औंला उठाउने र औंला समाउनेहरुको
सामिप्यताको कडी
संसारिक मोह, माया धन दौलत
र, जीवनकालका सम्बन्धहरु
म किन, म को ?
म कसका लागि र को मेरा लागि ?
मसँगै जोडिएका सम्बन्धहरुले प्रश्न तेर्साए
र त ?
अनुत्तरित जीवन बाँच्नुको अर्थ
कर्कलाको पातमा अडाएको बुद्ध
हरेक सूर्योदय र सूर्यास्तभित्र
पारी देखिने ठूलो पहाडको
थुम्कोलाई सोध्न मन छ
हरेक सुरु, हरेक अन्त्य भित्र
घाम पानी
सितलता गर्मी
समयसँगै फेरिने पृथक ऋतुहरु
फुल्दै गरेका फुलहरु
पलाउँदै गरेका पालुवाहरु
उम्रदै गरेका बीजहरु
बिज, फुल, फल अनि
नाङ्गा डालीहरुका भरिएका कथा
र, झरेका ब्यथामा
म खोज्दै हिँडे जीवनको औचित्य
विधि, विचार, विधान
इज्जत स्वाभिमान
फगत उसको दृष्टिकोणलाई मैले
मेरो जीवन बनाएँ र उसका आँखाले
छुट्टाएका सही र गलत भित्र पौडीरहे
स्वासको उपस्थिति हुँदै चिनिन
र, सकियो
अन्तिम पृष्ठ जीवनको ।
न त फेरि पल्टाउन सक्छु पृष्ठहरु
न त सच्याउन सक्छु पुस्तिका
न त परीक्षाको मौका दिन्छ जिन्दगी
मौन परिधिभित्र समाजले थुपारेका
वर्ग संघर्षभित्र चिन्न सकिन
त्यसैले म मेरो किताबको शीर्षक
म आफै लेख्नेछु
मौन शिथिल अनुत्तरित घेराभित्र
पृथक पृथक पृथक जिन्दगी ।
...