बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘नेपाली हास्यव्यङ्ग्य कविता’मा लक्ष्मण गाम्नागेको जाँगर

शनिबार, ०७ साउन २०७९, १० : १०
शनिबार, ०७ साउन २०७९

यस समयका उम्दा हास्यव्यङ्ग्य सर्जक लक्ष्मण गाम्नागे सिस्नुपानी नेपालका अध्यक्ष हुन् । उनका घिटिक घिटिक बाँचेर शहरमा, लाठीचार्ज, तीन न तेह्र, कति धुनु गधाहरूलाई, स्वाहा, पत्याउँदा पत्याउँदै आदि हास्यव्यङ्ग्य संग्रह आएका छन् । 

साथै, गाम्नागेका पसिनाका पाइला उपन्यास तथा पुराना चिठीहरूको संग्रह प्रिय चिठीहरू पनि प्रकाशन भएका छन् । उनले अन्य लेखकहरूका हास्यव्यङ्ग्य लेख, कविता संकलन र सम्पादनमा समेत उत्तिकै समय दिएका छन् । हास्यव्यङ्ग्य क्षेत्रमा लागेका सर्जकहरूलाई लेखन र प्रकाशनमा हौसला समेत प्रदान गर्दछन् । उनै गाम्नागेद्वारा संकलित र सम्पादित ‘नेपाली हास्यव्यङ्ग्य कविता’ कृतिबारे यस लेखमा चर्चा गरिन्छ । 

हास्यव्यङ्ग्य कविताहरूको यस प्रकारको कृति दुर्लभप्रायः छ । नेपाली हास्यव्यङ्ग्य साहित्यका दुई महारथीहरू भैरव अर्याल र वासुदेव लुइँटेलको युगमा २०२४ सालमा हास्यव्यङ्ग्य कविताको संकलन ‘छ्याकन’ आएको थियो । त्यसपछिको लामो खडेरीलाई चिर्दै प्रस्तुत कृति ‘नेपाली हास्यव्यङ्ग्य कविता’ आएको हो ।

भैरव पुरस्कार गुठीद्वारा २०७५ सालमा प्रकाशित यस पुस्तकमा ३८ लेखकहरूका ७५ कविता संग्रहित छन् ।  जसमा भानुभक्त आचार्यबाट सुरु भएर गायत्री परिरोशनीसम्मका हास्यव्यङ्ग्य कविताको माला उनिएका छन् । 

पहिलो कविताका रूपमा भानुभक्त आचार्यका २ छेस्का समावेश छन् । हरहिसाब नमिलेकोमा भानुभक्त आचार्यले पाएको सरकारी जागिर पनि २ वर्षमैं खोसिएको भनिन्छ । सोही कारण उनी कुमारी चोकको निगरानीमा रहेका र हालखबर सोध्ने कमाण्डर इन चिफ कृष्णबहादुर राणालाई आफू बडो आनन्दमा रहेको भनी बताएछन् । यस्ता आदिकविको आदिकालीन हास्यव्यङ्ग्यचेतयुक्त कविताका छेस्कामध्येका एक टुक्रा यहाँ उल्लेख गरिन्छः

रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछु ।

रात् भर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्मा म छु ।।

लाम्खुट्टे उपिञा उडुस इ सँगि छन् इन्कै लहड्मा बसी ।

लाम्खुट्टेहरू गाउँछन् इ उपिञा नाच्छन् म हेर्छु बसी ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा आधुनिक समयमा राजनेताहरूमा आएको परिवर्तनमाथि व्यङ्ग्य गर्दछन् । नेता भएपछि नजवाफझैं व्यवहार गर्ने, पद र शक्तिको रवाफ देखाउने, खानपानमा मनलाग्दी खाने पिउने र प्रजातन्त्रको खोक्रो ढ्वाङ् घन्काउने नेतृत्वप्रति कटाक्ष गर्दै लेखिएको नयाँ जवाना शीर्षकको कविताबाट एक अंशः

नवाफी रवाफी कवाफी छ नेता,

विलासी गिलाँसी सुवासी विजेता ।

प्रजातन्त्रको ढ्वाङ् रित्तो करायो,

जवाना अनौठो नयाँ आज आयो ।

विना होसमा नयाँ नयाँ शब्द थुपारेर शब्दकोश बढाउने अनि बढो जोशले वाचन गर्दैमा त्यस्ता पङ्तिलाई कविता नमान्ने र त्यस्ता पङ्तिकारलाई कवि नठान्ने भन्दै वासुदेव शर्मा लुइँटेलले रचेका म लामो कुरा जान्दिनँ कविताको स्वाद पनि चाखिहालौं न ।

शब्द फूटाई, गाली, ढाली

दुनियाँभरका बुट्टा हाली

होशविनाको कोश बनाई

जोशसँग पढ्ने पङ्तिलाई

कविता कहिल्यै मान्दिनँ

तिमीलाई कवि ठान्दिनँ

म लामो कुरा जान्दिनँ ।

यस संग्रहमा भूपि शेरचनको मेरो चोक, भैरव अर्यालको कुकुर स्वर्गे हुँदा, केशवराज पिँडालीको भूँडीगत जस्ता उच्च हास्यव्यङ्ग्य चेतयुक्त कविता यस संग्रहका गहनाका रूपमा सजिएका छन् ।

भरतराज पन्तको म गएँ शीर्षकको कविताले असमानता, विषमता, पक्षपात विरुद्धमा चोटिलो व्यङ्ग्यमार्फत् आवाज उठाएका छन् । उनकै कविताको एक अंशः

असमानताको बीभत्स नाच देखेर

विषमताको विष–वमन देखेर

पक्षपातको पक्ष–पात देखेर

अविछिन्न बादल झरी देखेर

डराएर होइन अचम्मको रिस उठेर

बस्न मन लागेन–म गएँ ।

यसै कविताको अर्को अंश जहाँ अन्यायी शासकको उछित्तो काढिएको छ । जस्ताको तस्तैः

शिक्षाको भिक्षा शिक्षितले दिँदैन

उद्योगको नयाँ ढोका शासक खोल्दैन

पत्कर बोल्दैन

कुकुरको क्रान्ति छ, मुर्दाको शान्ति छ

अड्डामा गयो इन्साफ छैन,

अस्पताल गयो औषधी छैन

बसेर मात्र हुँदैन, त्यसैले– म गएँ ।

हास्यव्यङ्ग्य लेखन साहित्य लेखनमध्येको निकै गम्भीर लेखन मानिन्छ । लेखनका लागि विषयवस्तु मात्र भएर पुग्दैन, व्यङ्ग्यचेतको पनि उतिकै खाँचो पर्दछ । व्यङ्ग्यचेत भएर मात्र हुँदैन, समसामयिक, ऐतिहासिक, राष्ट्रिय अन्तर्राष्ट्रिय आदि विषयवस्तुबारे झनै जानकार हुन आवश्यक छ । लेखेर अरूलाई हसाउनु झनै कठिन कार्य हो । लेखनका हिसाबले हास्यव्यङ्ग्य लेखन एक पूण्य कार्य भने अवश्य हो । 

चलचित्र, रेडियो टेलिभिजनका विविध कार्यक्रम, पत्रिकाका विभिन्न स्तम्भ, अनलाइनका पृष्ठ आदिमा आजकाल हास्यव्यङ्ग्यले झनै महत्व पाउन थालेको छ । यसर्थ हास्यव्यङ्ग्य लेखनमा सक्रिय लेखकहरूले नयाँ, पुराना साहित्यिक रचनाबारे जानकार हुन सके आफ्ना रचनामा निखारता ल्याउन मद्दत पुग्ने नै छ । यो पुस्तक आफैंमा एउटा हास्यव्यङ्ग्य कविताको विश्व ज्ञानकोश हो ।

महँगीबारे धेरै निवन्ध, कथा, कविता लेखिएका र व्यङ्ग्यचित्र कोरिएका छन् । हास्यव्यङ्ग्य सर्जक श्रीधर खनाल भन्छन्, हामी नेपालीलाई नेताचाहिँ अर्कैका राम्रा लाग्छन् । हामीलाई विदेशी नेताहरूले कुनै काम गर्दा मुक्तकण्ठले प्रशंसा गर्न मन लाग्छ भन्ने आशयले नेता सम्बन्धमा चर्चित गीतकार कालीप्रसाद रिजालद्वारा रचित के सम्झेर मलाई नेता भनेको ? शीर्षकबाट यस्ता कविता कोर्दछन्ः

के रे ?

एकचोटी फेरि भन्नुस् त

फेरि एकचोटी भनेर त हेर्नुस्

तिरिमिरी झ्याइँ बनाइदिउँ गाला चड्काएर ?

तोरीका फूल देखाइदिउँ थाप्लो पड्काएर ?

अर्कालाई त्यसै मनपरी भन्ने !

के सम्झेर मलाई नेता भन्नुभयो ?

म छट्टु हुँ कि विदेशीको टट्टु

के ठानेर तपाईंले मलाई 

नेतामा गन्नु भयो ?

यस कवितामा बदमासी नगरेको मान्छे कसरी नेता प¥यो भन्दै चरम व्यङ्ग्य गरिएको छ । यो कविता पढेपछि नेता हुनलाई थुप्रै धुर्त्याई, जाली, फटाहापन, बदमासी, जेलनेल आदिको योग्यता हुनुपर्ने पो रहेछ भन्ने जो कोहीले अनुमान गर्न सक्छ ।

हँ, फगत सत्ताका लागि

के मैले गठबन्धन गरेँ ?

कि भ्रष्टाचार गरेर

डिल्लीबजार खोरमा परेँ ?

भन्नुस् ल भन्नुस्,

मैले आफूलाई विदेशीको दलाल बनाएँ ?

कि सिन्को नभाँचेर 

लाखौंलाख भत्ता पचाएँ ?

होइन भने बताउनुस्,

मैले कुन त्यस्तो निकृष्ट कर्म गरेँ

कि मान्छेबाट पदच्यूत भएर

आज नेतामा झरेँ ?

ईज्जतदार मान्छेलाई नेतामा झारेर अवमूल्यन गरेकोमा सर्जकले कवितामार्फत् चित्त दुखाएका छन् । कुर्सीका लागि सिद्धान्तको बली नचढाएको, वन फाँडेर कमिशन नहसुरेको, संसदको हाटबजारमा भेडाबाख्रा भएर नबसेको मान्छेलाई विनासित्तिमा नेता भनिदिँदा कवि मन अमिलो बनाउँछन् र कवितामा दुःख पोख्दछन् ।

चलचित्र निर्देशक तथा साहित्य सर्जक यादव खरेल विज्ञान तथा प्रविधि मन्त्री शीर्षकको कविताको दोश्रो अंशमा यस्तो लेख्दछन्ः

होइन मिल्छ कि मिल्दैन ?

ट्रकको चेसिस नम्बर फेरेर

वारिको पारि पारिको वारि तार्न ?

आफ्ना मान्छे लगाएर

गाँठवालाहरूलाई किड्न्याप गरेर

‘फिरौती’को रकम झार्न ?

सल्लाहकारले भने–

यो त मिल्दैन गृहमन्त्री भए मात्र मिल्छ

यसको त आफ्नै काम छ

विज्ञान र प्रविधिको विकास गर्ने मन्त्रालय भनेर

यसको ठूलो नाम छ ।

पुरानो मन्त्रिमण्डल ढाल्ने बेलामा आफूलाई राम्रै मन्त्रालय दिउँला भनेर फकाएर दल बदलको बेलामा मालदार मन्त्रालय अर्थात् केही नदिएर पनि विदेशबाट सामान ल्याएर कमिशन खान नपाइने, विना लाइसेन्सको राइफल झिकाउन नपाइने व्यवस्था नै नभएको फोकटको मन्त्रालय दिएर दिनेले इमान र जमान गुमाएको भन्दै कवि गुनासो गर्दछन् ।

कवि कोमलप्रसाद पोखरेल म फर्केर आएँ युएस्से पुगेर शीर्षकको कवितामा धुलोधुवाँ, फोहरको गन्ध, मातेर सडकमा हिँड्न नपाइने, नारा लगाएर सात्तो खान पनि नपाइने अमेरिका पुगेर नियास्रो मान्दै नेपाल फिरेको बारे कविता लेख्छन् । उनका कवितामा स्पष्ट रूपमा यी कुरा पढ्न पाइन्छः

यहाँ देख्न पाइन्न मान्छे हिँडेको

जथाभावी संसाँझ टाउको गिँडेको

यहाँझैं धुलो सुँघ्न पाइन्न लेस

म फर्केर आएँ त्यसैले स्वदेश ।

समाचारको हेडलाइन पढेका भरमा तर्क प्रस्तुत गर्ने पाठक छौं । यसै सन्दर्भमा किताब बोक्दैमा कोही विद्वान नहुने अर्थात् किताब सुँघेर ज्ञान लिने हाम्रो आनीबानीमाथि उनको यस कविताकै अर्को अंशमा अमेरिका र नेपालको तुलनात्मक अवस्थामाथि व्यङ्ग्य गरिएको पाइन्छ ।

त्यहाँ पढ्दछन् शास्त्रभित्रै डुबेर

त्यसैले ठगी चीट शून्यै रहेछ

यतै ज्ञान पाइन्छ पुस्तक सुँघेर

भनी फर्किआएँ म आफ्नै स्वदेश ।

यौनमा उदार अमेरिकीहरूका सन्दर्भमा कविले नेपालसँग तुलनात्मक रुपमा अर्को अंश यसरी सिर्जना गरेका छन्

त्यहाँ एक लोग्ने प्रथा लागू छैन

चितायो बितायो कसैले छुँदैन

मलाई त्यही रोग सर्ला भनेर

छिटै फर्किआएँ युएस्से पुगेर ।

यता हेर्छु जोर ढुकुर् छन् घुमेका

उता हेर्छु त्यस्तै चखेवा चुमेका

म एक्लो परेवा बिजोडी भएर

नसक्ने भएँ बस्न, आएँ फिरेर ।

अमेरिकामा छोराछोरी र पत्नी भकुर्न नपाइने बरू यतै प्रजातन्त्र रहेको हुनाले देश फिरेको बताउने कवि पश्चिमा चालचलन देखेर छक्कै परेछन् ।

नयाँ माल हेरेर चाखेर किन्छन्

छिटै वाक्क मानेर मिल्काइदिन्छन्

पुरानै बरू टिक्छ धेरै भनेर

म फर्केर आएँ युएस्से पुगेर ।

असाध्यै त्यहाँ वस्तु छाडा रहेछन्

खुलेआम बाली त खाँदा रहेछन्

यतै जोगिएला कि बाली भनेर

म फर्केर आएँ युएस्से पुगेर ।

थुप्रै साहित्य विधामा कलम चलाएका रामकुमार पाँडेका सयभन्दा बढी पुस्तक प्रकाशित छन् । नेपालमा गाईजात्रालाई संस्थागत तवरबाट व्यवस्थित गर्नेमा उनको नाम जहिल्यै शीर्षस्थानमा पर्दछ । उनै साहित्यकार रामकुमार पाँडे जय नेपाल शीर्षकमा कविता लेख्छन् । भाषण, शासन, आसन आदिलाई जय नेपाल भन्दै व्यङ्ग्यवाण हान्दछन् । यस्तै विदेशी ऋण लिएर गरिएको विकास निकास नभएको ढलझैं अव्यवस्थित र अनुत्पादित भएकोमा कवि छड्के हान्दछन् । उनीमाथि नै विद्यावारिधि समेत भैसकेको अवस्थामा उनी लेखनमा व्यङ्ग्यको चरम सीमामा पुग्दछन् ।

ऋणको विकास दानको विकास ढलको निकास जय नेपाल

योजना बैठक भोजभतेर चिलिम उद्योग जय नेपाल

व्यभिचारी ब्रह्मचारी दारी सारी जय नेपाल

यो व्यवस्था त्यो व्यवस्था आफ्नो अवस्था जय नेपाल ।

सक्रिय हास्यव्यङ्ग्य लेखनमा रहनु भएका विश्व शाक्यको इन्कलाब जिन्दावाद र पोखराको बाटो गरी २ वटा कविता यस पुस्तकमा समावेश भएका छन् । घुस खाँदा औंलो नठड्याइकन यो त सामाजिक सुविधा हो भनेर शाक्य व्यङ्ग्य गर्दछन् । इनकलाब जिन्दावादमा सजिएका कविताका एक टुक्राः

कोही बुद्धिजीवी काँग्रेस

कोही बुद्धिजीवी माले

कसैलाई समाजवादीले टाले

कसैलाई कम्युनिष्टले ढाले

टाल्न नसक्ने, पाल्न नसक्ने

बीच बीचमा बसी कराउन थाले–

इन्कलाब–जिन्दावाद ।

‘बाबु हराएको सूचना’ कविता उत्तमकृष्ण मजगैयाँले लेखेका हुन् । नेपाली हास्यव्यङ्ग्य कविताको यस संग्रहमा उनको यस कविता पनि रहँदा यस कृतिको अझ ओज बढेको छ । सरसामान किनेर ल्याउने, पोछा लाउनेदेखि भान्छाका कामसम्म गर्ने बाबु हराउँदा उनका बुहारीलाई साह्रै चिन्ताले गलेर फतक्क भएको, बाबुले कहिल्यै नखोलेको बाकस अब फोर्नुपर्ने बनाएको भनेर बाबुआमाप्रतिको स्वार्थपूर्ण आदरभावबारे गम्भीर व्यङ्ग्य गरेका छन् ।

हास्यव्यङ्ग्य स्रष्टा तथा बुढ्यौली साहित्य समाजका संस्थापक कृष्णमुरारी गौतम (चट्याङ मास्टर)को माग्ने कविता नेपाली हास्यव्यङ्ग्यमा निकै चर्चित कविता हो । यस संग्रहमा सुसज्जित यस कविताको एक अंशः

माग्ने अब यस्तरी माग्ने, विश्व थर्काई माग्ने

जति देश र संस्था छन्, एउटै नछोडी माग्ने

ऋण, दान, अनुदान, जे मिल्छ उही माग्ने

माग्दा माग्दा धनी हामी, दिने बन्नेछ माग्ने ।

यस संग्रहमा मुला सम्बन्धमा लेखिएका ३ वटा कविता समावेश छन् । जसमध्ये बमबहादुर सिजालीको मुलाको महिमा, संग्रहका सम्पादक गाम्नागेको मुला कविता र हास्यव्यङ्ग्य श्रष्टा तथा फित्कौलीका प्रधान सम्पादक तथा सञ्चालक नरनाथ लुइँटेलको मुला कविता समावेश गरिएका छन् ।

गाम्नागे अभावलाई ढाँट्न, आफ्ना छोराछोरीलाई छक्याउन, दुनियाँलाई सुनाउन कवितामार्फत् पत्नीलाई विहान आलु र मुला, बेलुका मुला र आलु पकाएर मुख फेरि फेरि खानका लागि आग्रह गर्दछन् ।

प्रिय,

बैँसको उन्माद र नेताको आश्वासन

जँड्याहाको अङ्ग्रेजी र बौलाहाको भाषण

त्यही सम्झिदेऊ, प्रिय एकै ठानिदेऊ

मलाई माफ गरिदेऊ

लौन भोक लाग्यो, घरभित्र आऊ

मिट मसला हालेर मुलालाई मासु बनाऊ

मलाई उल्लु बनाऊ र थप्पडी मारेर रमाऊ

अहिले आलु र मुला पकाऊ,

भरे मुला र आलु पकाऊ ।

लुइँटेलको मुलागान कविता यस्तो रहेको छः

माननीय बन्न थाल्यो मुलुकको मुला

हैसियत उसकै ठूलो फूलमन्त्री मुला

रेक्टर र डाइरेक्टर छानी छानी मुला

कसका बाउको के जान्छ र जियम् खानी मुला ।

उनी कविताको अन्त्य यसरी गर्दछन्ः

मुलाबाहेक उम्रन्न कि खाली मुलाघारी

कि भइसक्यो हाम्रो देश मात्रै मुलाबारी ?

धीरेन्द्र प्रेमर्षिलाई हास्यव्यङ्ग्य लेखन मात्रै नभई प्यारोडी गायकका रुपमा पनि चिनिन्छ । यस्तै सिस्नुपानी देउसीमा देउसी भट्याउने भनी चिनिएका टङ्कराज आचार्य हास्यव्यङ्ग्य लेखनमा उत्तिकै सक्रिय रहेका छन् । प्रेमर्षिका पशुपतिनाथले आफ्नो रक्षा गरून् र कसो होला भन् त बूढी अनि आचार्यका आऊ मिलेर घाँस चरौं र डम्पिङ साइट व्यङ्ग्य कविता संग्रहमा सुरक्षित छन् ।

नेपाली हास्यव्यङ्ग्य लेखनमा महिला हस्ताक्षर निकै न्यून रहेको देखिन्छ । सिस्नुपानी नेपालकी सचिव हरिकला उप्रेतीको हास्यव्यङ्ग्यका पुस्तक प्रकाशित छन् । संग्रहमा अनुरोध शीर्षकमा समता र आदर्शको भाषण ठोक्ने, रात परेपछि रक्सी पिएर भोका र नाङ्गा छोराछोरीलाई बिर्सने, बोत्तल सम्राट पुरुषको धज्जी उडाउने काम गरिएको छ । उनको हास्यव्यङ्ग्य कवितांशः

बल बुद्धि विवेकले सधैं पूर्ण हजुर

जन्माउने नारी होइन आकाश धर्ती हजुर

कमजोर छौं सारा नारी बोझै धेर भो हजुर

अधिकार धेरै भयो फिर्ता लिनुस् हजुर ।

स्थापित हास्यव्यङ्ग्य सर्जकको रूपमा नाम लेखाइसकेकी गायत्री परिरोशनी समसामयिक गतिविधिमा हुने गरेका विकृति विसंगतिमाथि झटारो हान्न सफल छिन् । उनका हास्यव्यङ्ग्य निवन्ध, कथा, कविता आदिमा सशक्त रूपमा कलम चलिरहेको पाइन्छ । परिवर्तनसँगै मानिसका आनीबानी, चालचलन, पहिरन, खानपान अनि नैतिक अनैतिक यावत् सँस्कार भित्रिएकामा उनी व्यङ्ग्य गर्दछिन् । यसै सन्दर्भमा यस संग्रहको अन्तिम कविता म पाखे भएकी छु कविताबाट एक अंशः

खुट्टा छैनन् मेरा 

फेसनवादलाई पछ्याउन

बनाउन जानेकी छैन बहुरङ्गी कपाल

लगाइदिन पाएकी छैन छोरालाई

एउटा कानमा मुन्द्रीसम्म पनि

अनि सिकाउन पाएकी छैन छोरीलाई

कुमारीले बच्चा जन्माउने सभ्यता

त्यसैले त म आज साँच्चै

गँवार भएकी छु

म पाखे भएकी छु ।

यस्ता पुस्तक प्रकाशनमा व्यक्तिगत र संस्थागत जोडको आवश्यक रहेको छ । नेपाली हास्यव्यङ्ग्य कविताका पाठक, अन्वेषक, समालोचकलाई मात्र नभई यस्ता पुस्तक विद्यालय, विश्वविद्यालयका शिक्षक विद्यार्थीहरूलाई समेत महत्वपूर्ण खुराक बन्न सक्नेछ । 

शासकहरू सुध्रिएका छैनन् । भ्रष्टाचार, बेथिति संस्थैपिच्छे नविन ढंगले बढिरहेको छ । बदमासीमाथि व्यङ्ग्य गर्ने खुराक दिनदिनै छिनछिनै मिलिरहेको छ । आजकाल लेखिने सिर्जनामा पनि हास्य खुराकलाई छोडेर व्यङ्ग्यलाई मात्रै जोड दिने गरिएको पाइन्छ । हास्य र व्यङ्ग्य दुवैलाई सँगसँगै लैजान सके यो साहित्यले अझ सन्तुलन प्राप्त गर्नेछ ।

यस संग्रहमा ३८ लेखकमध्ये ३ महिला र ३५ पुरुष रहेका छन् । यसबाट हास्यव्यङ्ग्य लेखनमा यो अवस्थाले महिला लेखकहरूको त खडेरी नै रहेको भनेर स्वीकार्न सकिन्छ । किशोर किशोरीहरूमा पनि यस्ता साहित्य लेखनको भोक जगाउनु आवश्यक रहेको छ । जसका स्थानीय तहदेखि केन्द्रसम्मका संघसंस्था र सरकारहरूले समेत लागि कार्यशाला, बहस, प्रतियोगिता तथा पुरस्कारको व्यवस्था गर्नु अत्यावश्यक देखिन्छ । 

यसरी नेपाली हास्यव्यङ्ग्य कविताको क्षेत्रमा यथेष्ट योगदान दिएका हास्यव्यङ्ग्य श्रष्टा लक्ष्मण गाम्नागे र प्रकाशक भैरव पुरस्कार गुठीले सबै थरीको खुराक एकै पुस्तकमा पाइने गरी प्रकाशन गरिएको यस पुस्तकबाट हास्यव्यङ्ग्यको घरमा थुप्रै ईँटा थप्न सफल भएका छन् । थपिरहुन् ।

लेखक सिस्नुपानी मकवानपुरमा आबद्ध छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप