बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

लघुकथा : गणतन्त्र आएर नै...

शनिबार, ०७ साउन २०७९, १० : ०३
शनिबार, ०७ साउन २०७९

स्थानीय निर्वाचन नजिकिँदै गर्दा सबै पार्टीहरु र स्वतन्त्र उम्मेदवारहरुको प्रचार प्रसार पूर्ण यौवनमा थियो । मतदातालाई आश्वस्त र विश्वस्त बनाउनका लागि पार्टी र सबै उम्मेदवारहरुले आफ्ना योजनालाई शाब्दिक जालोभित्र सिंगारेर ल्याएका थिए ।

स्वतन्त्र उम्मेदवारको चुनावी र्याली अघि बढिरहेको थियो । राजनीतिक पार्टी, संसदीय व्यवस्था, विभिन्न दलका नेताहरु र गणतन्त्रको  विरोधमा नारा लाउँदै र चुनावी पचाँ बाँड्दै अघि बढिरहेको थियो । जुलुसको अभद्र नारा र  उच्छृङ्खल गतिविधिलाई मानिसहरुले अचम्म र अनौठो मानेर हेरिरहेका थिए ।

अर्कोतिर आफूलाई क्रान्तिकारी भन्ने पार्टीको चुनावी जुलुस पनि यतै आइरहेको थियो । स्वतन्त्र र पार्टीको चुनावी जुलुस आमने सामने भयो ।

‘मित्रहरु, तपाईहरु पनि चुनावमा जित्न अघि सर्नु भएको र हामी पनि जित्नैका लागि अघि बढेका हौं । तर गणतन्त्रलाई यसरी गाली चैं गर्नु भएन है ।’

‘किन गाली गर्न नहुने ?’ स्वतन्त्रबाट कोही चिच्यायो ।

‘किनकि यही गणतन्त्रकै कारण तपाईंले आज बोल्न पाइरहनु भएको छ । र, यो गणतन्त्र कसैले थालीमा सजाएर दिएको हैन । यसका लागि जनताका सत्र हजार छोराछोरीले आफ्नो जीवनको बलिदानी दिएका छन् ।’

‘यस्ता थोत्रे वकवास नगर ब्रो । हामीलाई यो गाँडतन्त्र नि चाहिएको छैन र तिमेरुको बलिदानी सलिदानी नि चाहिएको छैन  । हामी त स्वतन्त्र र फुक्का रहने हो, ब्रो ।’

भनाभनले चर्को रुप लिन थाल्यो । दश बाह्र जना प्रहरीले भीड तितरबितर पार्ने प्रयास सफल हुन सकिरहेको थिएन । स्वतन्त्रको तर्फबाट मुखै छाड्न थालेपछि क्रान्तिकारीहरुले झण्डा बेरेको लट्ठीलाई नै डण्डा बनाएर स्वतन्त्रमाथि बर्साउन थालेपछि भागाभाग सुरु भयो । भीडमा नारा लागिरहेको थियो, ‘गणतन्त्र जिन्दावाद ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप