श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी, सेनाद्वारा बल प्रयोग

श्रीलंकामा सरकार विरोधी प्रदर्शन जारी छ । सुरक्षा बलहरूले राजधानीको मुख्य सरकार विरोधी प्रदर्शन शिविरमा छापा मारेर प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्नुका साथै पालहरू भत्काएका छन् । सयौँ सेना र प्रहरी कोलम्बोमा राष्ट्रपति कार्यालय बाहिर बसेका प्रदर्शनकारीहरूमाथि जाइ लागेका हुन् ।
दुई घाइतेसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनालाई ‘राष्ट्रपति सचिवालयको नियन्त्रण फिर्ता लिने विशेष अभियान’ भनेको छ । प्रहरी कारबाहीमा एक सञ्चारकर्मी पनि घाइते भएका छन् । पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे गत साता देश छाडेपछि रनिल विक्रमासिंघेले बिहीबार राष्ट्रपति पदको शपथ लिएका थिए ।
६ पटक प्रधानमन्त्री भइसकेका विक्रमासिंघे जनतामाझ अलोकप्रिय व्यक्तिको रूपमा हेरिन्छन् । उनले प्रदर्शनकारी विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विरोध प्रदर्शन केही मत्थर भएको छ । राष्ट्रपतिलाई देशलाई आर्थिक संकटबाट बाहिर निकाल्ने मौका दिनेबारे प्रदर्शनकारीमा दुई मत देखिएको छ ।