शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लघुकथा : महँगो आइसक्रीम

शनिबार, ०७ साउन २०७९, ०६ : १७
शनिबार, ०७ साउन २०७९

बुधबार र शनिबार हाम्रो यतातिर तरकारीको हाटबजार लाग्छ । पशु हाटबजार भने मङगलबार लाग्छ । आज शनिबार छुट्टी छ । म मात्र होइन, बाबा पनि छुट्टीमा हुनुहुन्छ । बिहानै ‘होम वर्क’ भ्याएर म अझै फुर्सदिलो भएको छु । आमालाई भने सायदै फुर्सद हुँदो हो । साताभर लाएर थन्किएका कपडा धुनबाट मुक्ति पाउनु भनेको आमाका लागि कमैया मुक्ति जत्तिकै महान उत्सव हुन्छ । हामी फुर्सदमा भए पनि आमा बेफुर्सदमा हुनुहुन्छ आज पनि ।

‘आज शनिबार, केही नयाँ तरकारी लिएर आउनुस् त । मुख फेर्न पर्यो ।’ आमाले बाबासँग बिहान भन्नुभएको थियो । घाम अलिकसेलाउन थालेपछि हामी बाबुछोरा हाटबजारतिर लाग्यौं । कोही गेटबाट बाहिरिँदै थिए, कोही भित्रिँदै थिए । हामी भित्रिनेमा पर्यौं । 

प्लास्टिकको ओछ्यानमा लमतन्न सुतिरहेका थिए, सानाठूला माछाहरू । केही चुलेसीमा रेटिँदै थिए । माछा खुइल्याएको र काटेको हेर्दा बेग्लै खुसी लाग्ने । मैले बाबाको मुखमा हेर्दै भनें, ‘बाबा, माछा लैजाऊँ है ।’

 बाबाले माछाको मोलमोलाइ गर्नु भयो र साहुजीलाई एक सय रुपैयाँको नोट थमाउदै भन्नुभयो, ‘अलि महङ्गो भएन र भाइ ?’

‘खरिदै महङ्गो पर्छ सर, किलोमा पाँच दस त खानै पर्यो ।’ माछा साहुले सहजै जवाफ फर्कायो । बाबाले थप केही भन्नु भएन । एक पाउ माछा राखेको प्लास्टिक झोला समातेर म बाबाको पछिपछि लागेँ । 

केही पर चना चटपटेको ठेला थियो । ठेलामा बाँधिएको डोरीमा तुर्लुङ्ग झुन्डिएको थियो ‘मेघाश्री’को लहरो । बाबाले तीनवटा थैलो चुँड्नु भयो र बीस रुपैयाँ ठेलामा राखिदिनु भयो ।

एउटा टहरोको कुना लागेर नास्ता पसल थापिएको रहेछ । कोही जिलेबी तार्दै थिए भने कोही सेल, कोही समोसा र पकौडा । अनि कोही चाउमिन फड्कार्दै थिए । राताराता जिलेबीले मेरो जिब्रो निचर्दै थिए ।

बाबाले एउटा मेघाश्रीको पुरिया च्यात्नु भयो र मुखमा खन्याउनु भयो । मरक–मरक चपाउनु भयो र प्याच्च थुक्नु भयो । अगाडिको पसलमा ताजा देखिने ‘बेम्टी’ (लामो जरो हुने जंगली च्याऊ) थियो । बाबा त्यतै लाग्नुभयो, मोल सोध्नु भयो ।

 ‘दुई सयमा एक पाउ हजूर,’ साहुनीले भनी ।

‘आमाम्मा, यो त खसीभन्दा महँगो भयो । सात सयमा त खसीको मासु नै आउँछ ।’ बाबाले जिब्रो टोक्नु भयो।

‘खसीको मासुमा हाड हुन्छ सर, यसमा हुँदैन । अनि फेरि मासु सधैँ पाइन्छ, बेम्टी सधैँ कहाँ पाइन्छ र ?’ उसले तर्क झिकी ।

नकिन्ने भन्दै हामी अघि बढ्यौं । बाबाले मेघाश्रीको अर्को पुरिया च्यात्नु भयो र अघि जसरी मुखमा खन्याउनु भयो । 

हाटघरको एक फन्को मार्दा नमार्दै बाबाका तीनै पुरिया मेघाश्री सकिए । उहाँले चालीस रुपैयाँँ दिँदै मलाई अन्य सामान किन्न पठाउनु भयो । आउँदा उहाँ निउरो छानिरहनु भएको थियो । 

‘कसरी हो यो ?’ 

 ‘दसको एक मुठा ।’

 ‘सुनभन्दा महङ्गो भएन र ?’

 ‘सरको औँठीसित साटौँ न त । सरको एउटा औँठी र मेरो सबै साग ।’ साहुनीले हँसाउनु हँसाई । 

 दुई मुठा साग लिएर हामी हिँड्यौँ । मलाई भने अघि देखेको जिलेबीले तानिरहेको थियो । मेरै उमेरका केटाकेटी चिसो चिसो आइसक्रीम चुस्दै हाम्रै छेउ भएर गए । घुटुक्क थुक निलेको आफैले पत्तो पाइनँ ।

 ‘बाबा, आइसक्रिम किन्दिनुस् न । कस्तो गर्मी भो ।’ मैले सविनय निवेदन चढाएँ । 

‘धेरै गर्मी भए जा जमरा खोलामा गएर नुहा । कति महँगो छ यो आइसक्रिम, तँलाई के थाहा ?’ बाबाले हकार्नु भयो । तर, फेरि मेरो टाउको मुसार्दै बीस रुपैंया पर्ने एउटा आइसक्रिम किनिदिनु भयो ।

 बाबाले मेघाश्रीको र्ओे पुरिया पनि फँक्याउनु भयो । म एउटा हातमा तरकारीका दुई पोलिथिन झोला हल्लाउँदै उहाँको पछिपछि लागें ।

 मेरो महँगो आइसक्रिम आधा बाटोमै सकियो । उहाँको मेघाश्री भने धन्न घरसम्म पुगेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप