बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्य भेट्दैन, बजार महँगी र तरलता अभाव बढ्छ’

शुक्रबार, ०६ साउन २०७९, २१ : ३८
शुक्रबार, ०६ साउन २०७९

चालू आर्थिक वर्षको मौद्रिक नीतिले बजेटमार्फत सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य भेट्न नसक्ने उद्योगी÷व्यवसायीले बताएका छन् । उद्योगी÷व्यवसायीले रातोपाटीसँग कुरा गर्दै मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले गरेको कडाइले सरकारी लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भवन नहुने बताएका हुन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति ल्याएको छ । यसबाट बजेटले लिएको उच्च आर्थिक वृद्धिको लक्ष्य भेट्टाउँदैन ।’ यद्यपि, मौद्रिक नीतिमार्फत ल्याइएको दोहोरो ब्याजदर प्रक्रिया भने सकरात्मक रहेको उनको भनाइ छ ।

खासगरी, राष्ट्र बैंकले कृषि र उद्योगलाई कम ब्याजदर कायम गर्ने नीति लिएको छ । यस्तै, अन्य क्षेत्रमा परिचालन हुने ऋणको ब्याजदर भने यसवर्ष पनि बढाउने नीति राष्ट्र बैंकले लिएको छ । यसबाट महँगी बढ्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् ।

‘उद्योग र कृषि बाहेकका क्षेत्रमा ब्याजदर बढाइँदा बजार महँगी लक्ष्यभन्दा माथि पुग्छ,’ मल्लले भने, ‘मुद्रा स्फिर्ती ७ प्रतिशत भित्र राख्ने लक्ष्यअनुसार सोही सिमामा बस्दैन ।’ ब्याजदर बढ्दा त्यसको प्रत्यक्ष प्रभाव बजारमा पर्ने मल्लको भनाइ छ । यस्तै, कर्जाको सिमा १२.६ प्रतिशतमा ल्याउनुसमेत उचित नभएको उनले बताए ।

उच्च अंकको आर्थिक वृद्धिका लागि सोही अनुसारको लगानी आवश्यक पर्छ । तर, राष्ट्र बैंकले कर्जाको सिमा घटाएर साढे १२ प्रतिशतमा राखेको छ । यसले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मुस्किल पर्ने व्यवसायीहरूको भनाइ छ । 
यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कसिलो मौद्रिक नीति आएको बताए । उनले राष्ट्र बैंकले तत्कालका लागि हेरेर दीर्घकालीन समस्या उत्पन्न हुने गरी मौद्रिक नीति ल्याएकाले यसबाट तरलताको अभाव नहट्ने र लगानी विस्तार समेत नहुने श्रेष्ठको भनाइ छ ।

यस्तै, सेयरमा गत वर्षको मौद्रिक नीतिमार्फत लिइएको ४÷१२ को नीतिमा केही खुकुलो बनाइनु सकरात्मक भएको व्यवसायीहरूको भनाइ छ । गत वर्ष एउटा बैंकबाट ४ करोडका दरले कूल १२ करोड सेयर कर्जा लिन पाउने व्यवस्था गरेको थियो । यो वर्ष एउटै बैंकबाट १२ करोड रुपैयाँसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । व्यवसायीहरूका अनुसार यो नीतिले सेयर बजारमा केही सकरात्मक प्रभाव पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप