शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रदर्शनकारीमाथि श्रीलंकाली सेनाको बल प्रयोग, कयौं घाइते

शुक्रबार, ०६ साउन २०७९, २१ : ३२
शुक्रबार, ०६ साउन २०७९

श्रीलंकाली सेनाले (बिहीबार–शुक्रबार) मध्यरातमा संसद भवन अगाडि पाल टाँगेर बसेका सरकार विरोधी प्रदर्शनकारीमाथि बल प्रयोग गरेको छ  । सो क्रममा केही आन्दोलनकारी घाइते समेत भएका छन् । सञ्चारमाध्यमका अनुसार २ पत्रकारसहित ९ जना पक्राउ परेका छन् ।

देशका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिहीबार सपथ लिएपछि सरकार विरोधी प्रदर्शनकारी विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए । विक्रमासिङ्घेको चेतावनीको केही घण्टापछि सेनाले कारबाहीको योजना बनाएर राति अबेरसम्म कार्यान्वयन गरेको थियो ।

किन कारबाही ?
पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेको बहिर्गमनको मुख्य माग लिएर सडकमा उत्रिएका आन्दोलनकारीहरु राजापाक्षको राजीनामा पछि पनि घर फर्किएका छैनन् ।  श्रीलंकाका संगठनहरूले नयाँ राष्ट्रपति रनिल विक्रमासिंघेले पनि राजिनामा दिनुपर्ने माग राखेका छन् । बिहीबार रनिलको सपथ ग्रहण समारोहको समय र त्यसपछि पनि उनीविरुद्ध नाराबाजी भएको थियो ।

नयाँ राष्ट्रपति र नयाँ सरकारले वर्तमान संकटबाट बाहिर निकाल्न नसक्ने प्रदर्शन जारी राख्नेहरुको भनाई छ । सरकारबाट आम नागरिकले अहिलेसम्म कुनै राहत नपाएकोमा तिनको असन्तुष्टि छ ।  मिडिया कभरेजका लागि त्यहाँ उपस्थित नभएको बेला मध्यरातमा श्रीलंकाली सेनाले प्रदर्शनकारीहरूमाथि दमन गरेको थियो ।

श्रीलंकाली सेनाले खासै उलेख्य मिडिया कभरेज नभएको बेला पारेर मध्यरातमा प्रदर्शनकारीहरूमाथि दमन गरेको थियो । 

रनिलको विरोध किन ?
प्रदर्शनकारीहरूले रनिल विक्रमासिंघ पनि राजापाक्षे परिवारका व्यक्ति भएकाले उनले राजापाक्षे परिवारको इसारामा कदम चाल्ने आरोप लगाएका छन् । आन्दोलनकारीले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘अहिलेको मुलुकले नयाँ निर्वाचनको खर्च धान्न सक्दैन तर उसले केही कदम अवश्य चाल्न सक्छ । हामी चाहन्छौं कि नयाँ सरकारमा राजापाक्षेका कुनै पनि समर्थकलाई स्थान नदिइयोस् । विक्रमासिङ्घे संलग्न हुने सरकारलाई हामी कहिल्यै स्वीकार गर्दैनौं । रनिल राजपाक्षे परिवारलाई बचाउने काम गर्दै आएका छन् र गरिरहनेछन् ।’

मानवअधिकार आयोग आक्रोशित

बिहीबार र शुक्रबार राति भएको सेनाको कारबाहीका बारेमा प्रश्न उठेको छ । एक प्रदर्शनकारीका अनुसार बिहीबार–शुक्रबार झण्डै मध्यराततिर १ः ३० बजे त्यहाँ सेना पुगेको थियो । त्यो समय मिडिया कभरेजका लागि कोही नभएकोले उक्त समय छनौट गरिएको उनले आरोप लगाइन् ।

सेना पुग्दा अधिकांश आन्दोलनकारी सुतिरहेका थिए । मानवअधिकार आयोगले सेनाको प्रदर्शनकारीमाथिको व्यवहारलाई क्रुर भनेको छ । उक्त घटनामा कैयौं घाइते भएका छन् भने दुई पत्रकार बेपत्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप