मौद्रिक नीतिमाथि चेम्बरको प्रतिक्रिया– हात्ती आयो हात्ती आयो फुस्स
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मौद्रिक नीति कसिलो आएको बताएका छन् । चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमाथि रातोपाटीमा प्रतिक्रिया दिँदै निजी क्षेत्रले सोचेअनुरुप नआएको बताएका हुन् ।
उनले भने, ‘मौद्रिक नीति कसिलो आयो । यो हात्ती आयो हात्ती आयो फुस्स जस्तो भयो ।’ चालू वर्षको मौद्रिक नीतिले ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न मुस्किल देखिने उनको भनाइ छ ।
यसैगरी, ब्याजदर वृद्धि गरिँदा बजार महँगी ७ प्रतिशतभन्दा माथि जाने र त्यसले समेत आर्थिक वृद्धिको लक्ष्य प्रभावित पार्ने मल्लको भनाइ छ । यस्तै, गत वर्ष १९ प्रतिशतसम्मको सिमामा रहेको कर्जा विस्तारको लक्ष्य यो वर्ष साढे १२ प्रतिशतमा ल्याइएको छ ।
यसले आर्थिक गतिविधि चलायमान नहुने हुँदा समेत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मुस्किल रहेको उनले बताए । ‘उच्च आर्थिक वृद्धि हासिल गर्न कर्जाको विस्तार पनि सोहीअनुसार हुनुपर्छ,’ मल्लले भने, ‘तर, राष्ट्र बैंकले कर्जाको लगानीलाई नै संकुच लगायो ।’