वीपीलाई स्मृति दिवसमा मात्र सम्झने ?

person explore access_timeसाउन ६, २०७९ chat_bubble_outline0

कर्मकाण्डी पाराले वीपीको महायात्राको दिनलाई सम्झने गरिन्छ । मानौँ कि त्यो दिन नमनाउँदा सायद काँग्रेस होइँदैन, किन वीपीलाई सम्झने भन्नेमा खोक्रा कुराहरूले घण्टौँ भाषण गरेर बल्ल बल्ल आएका स्रोताहरूलाई पनि झिँझो लगाउने गरेको पाइन्छ । धेरैलाई थाहा छैन होला, वीपी यस्ता ढोँगी कार्यक्रमविरुद्धमा हुुनुहुन्थ्यो र तपाईंलाई के भनेर सम्झियून् भन्ने जिज्ञासामा आफूलाई एउटा मुलुकलाई माया गर्ने मानिस थियो भनेर सम्झिए पुग्ने भनेर कतै जबाफ दिनुभएको थियो ।


मेरो विचारमा तर वीपी सम्झनुपर्ने व्यक्ति चाहिँ हो तर सैद्धान्तिक रूपमा विचलित र प्रजातन्त्रका विरुद्धमा लाग्नेहरूका लागि भने वीपी आदर्श पुरुष नहुन सक्नुहुन्छ किनभने वीपीले नेपालको मात्र होइन, आफ्नो मात्र होइन, आफ्ना समर्थकहरूको मात्र होइन, आफ्ना नेपालीहरूका लागि मात्र होइन, संसारका सम्पूर्ण शोषित, पीडित साना देश र गरिबीबाट पीडित सबै देशका नागरिकका लागि बोल्नुहुन्थ्यो । उहाँले अँगाल्नुभएको समाजवाद कहिले पनि सत्ताको वरिपरि घुम्ने केही सिद्धान्तहीनहरूको गफका लागि मात्र थिएन, कहिले पनि सुधार हुनु नपर्ने एकतन्त्रीय स्वभावको समाजवादको पक्षमा होइन कि उहाँले सबैको समानता, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायको पक्षमा उभिने समाजवादको पक्षमा थियो । त्यहाँ एकतन्त्रीय स्वभाव हुँदैनथ्यो र सबैले सबैलाई समरूपको भावनाले हेर्ने विश्वको कल्पना गर्नुहुन्थ्यो ।



यसको स्पष्ट अवधारणा उहाँले संयुक्त राष्ट्रसङ्घमा दिनु भएको आफ्नो मन्तव्यमा झल्किएको थियो, जसलाई त्योबेलामा भनिएको थियो– सानो देशको ठूलो नेता जसले तत्कालीन विश्व समुदायलाई तरङ्गित हुनेगरी आफ्ना कुरा राखेको थियो । विश्वको राजनीतिबाट अलग थलग पारिएको साम्यवादी देश जनवादी गणतन्त्र चीनका पक्षमा यसरी उभिनुभएको थियो कि चीनको उपस्थितिबिना यो राष्ट्रसङ्घ अपूरो हुन्छ । स्मरणीय छ, त्यो बेलामा जुन बेला वीपी संयुक्त राष्ट्रसङ्घमा मन्तव्य दिइरहनुभएको थियो, त्योबेलामा चीनको नाममा फर्मोसाको प्रतिनिधित्व थियो जसलाई शक्ति राष्ट्रहरूको समर्थन थियो । सायद त्यही स्मरण गर्दै आदर गर्नका लागि भर्खरै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानछाउले सुन्दरी जेलको वीपी सङ्ग्रहालयको भ्रमण गरेर वीपीप्रति आदर देखाउनुभएको हो । त्यसो त नेपाल र चीनका बीचमा निर्णायक वार्ता गरेर सगरमाथा नेपालको हो भन्ने पार्ने र चीनलाई चित्त बुझाएर नेपालको सीमाभित्र पार्ने श्रेय वीपी र त्यो मध्यस्थता गर्ने अनि नेपालको हक नेपाललाई फिर्ता दिने श्रेय चीनका अध्यक्ष माओत्सेतुङलाई जान्छ । नेपालीहरू ती वीपी–माओ जस्ता महान् नेताहरूप्रति नतमस्तक हुन्छन् र सदैव नेपाल चीन मैत्रीको प्रतीकका रूपमा उभिएको सगरमाथाप्रति सम्मान गर्छन् ।



अनि वीपीले साना देशका पक्षमा उभिँदै भन्नुभयो– ठूला देशले, धनी देशले, हुनेले गरिब देशहरूलाई  सहयोग गर्नुपर्छ तर सहायताको नाममा उनीहरूको देशको आन्तरिक मामिलामा हस्तक्षेप भने गर्न पाइँदैन । वीपीले त्यो बेलामो शीतयुद्धलाई इङ्गित गर्दै भन्नुभएको कुरा आज विश्व दुई धुरीबाट बहुधुरीमा बाँडिँदा पनि त्यो सम्भावना अझ बढी देखिन थालेको छ र सबैभन्दा पछिल्लो उदाहरणका रूपमा युक्रेन र रुसको असमान शक्तिका बीचको युद्धलाई लिन सकिन्छ । आजको नेपालमा यतिबेर सहायता, सहयोग र ऋणको नाममा ठूला शक्तिको खेलमैदान भएको जुन देख्न सकिन्छ, त्यसको अनुमान वीपीले उहीबेलामा गर्नुभएको बुझ्न सकिन्छ । कति देशहरू टाट पल्टन लागेको, टाट पल्टेको अनि ऋणदाताहरू आफ्नो  ऋणको चुक्तासम्म मात्र अमानवीयरूप देखाएको हेर्न देख्न पाइन्छ ।

आज पनि अन्तर्राष्ट्रिय मञ्चमा आधुनिक नेपालमा आदरसाथ लिइने राजनीतिक व्यक्तित्वको नाम भनेको वीपी कोइरालाको हो । म न्युजिल्यान्डको अकल्यान्डमा भएको विश्व पुनस्र्थापनासम्बन्धी समारोहमा भाग लिन सन् १९९६ मा जाँदा त्यहाँ नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने कोस्टारिकाका पूर्वराष्ट्रपति डाक्टर ओस्कार आरियास सान्चेजलाई भेट्दा उहाँले म नेपालबाट भन्दा उहाँले वीपीको नाम आदरसाथ लिनुभएको थियो र आफूलाई राजनीतिमा प्रभाव पार्ने नेताको रूपमा सम्झनुभएको थियो । डाक्टर ओस्कार सान्चेजले दक्षिण अमेरिकामा शान्ति स्थापनाका लागि राष्ट्रपति हुँदा नै नोबेल पुरस्कार  पाउनु भएको थियो । त्यतिबेर खुसीले मेरो छाती फुलेको थियो किनभने नेपाल जस्तो देशको पूर्वप्रधानमन्त्री र एउटा प्रजातान्त्रिक नेतालाई विश्वका चर्चित नेताहरूले पनि आदर गर्ने रहेछन् र आप्mनो प्रेरणाका स्रोत मान्ने रहेछन् । त्यसको कारण हो डाक्टर ओस्कार पनि अन्तर्राष्ट्रिय समाजवादको सदस्य हुनुहुन्थ्यो क्यारे जुनबेला वीपी त्यसको उपाध्यक्ष हुनुहुन्थ्यो । 

त्यसो त वीपीको छवि प्रजातान्त्रिक नेताको मात्र थिएन, समाजवादीको चिन्तक तथा व्यवहारवादी सामाजिक रूपान्तरणका नेताको रूपमा विश्वभर परिचित थियो । केही समय गृहमन्त्री र जम्मा १८ महिना मात्र प्रधानमन्त्रीका रूपमा कार्य गर्दाका कामहरूले नै आधुनिक नेपालको प्रजातान्त्रिक जग बसाल्न कोसिस गरिएको थियो । दुर्भाग्य नै भन्नुपर्छ, तत्कालीन राजा महेन्द्रमा पलाएको अति महत्त्वाकाङ्क्षाले मुलुकको तीव्र आधुनिकीकरण र प्रजातन्त्रको संस्थागत विकासमा अवरोध आएकै हो । २०४७ सालदेखि उहाँकै सिद्धान्त मान्ने हुँ भन्नेहरूको प्रत्यक्ष तथा परोक्ष रूपमा सत्तामा सहभागिता छ र पनि मुलुकको अवस्था यस्तो छ कि कुनै पनि बेला के हुने भन्ने आशङ्का र अन्योलमा बाँच्नुपरेको अवस्था छ राजनीतिक रूपमा, आर्थिक रूपमा ।

आधुनिक नेपालको सबैभन्दा चर्चित व्यक्तित्व जसको महायात्राको पनि ४० वर्ष बितिसकेको छ र पनि उहाँको चर्चा राजनीतिक वृत्तमा, सामाजिक वृत्तमा, साहित्यिक वृत्तमा र समाज रूपान्तरणको उदाहरणमा आज पनि सबैभन्दा बढी भएको छ । भइरहेको छ र सायद अरू केही दशकसम्म उहाँकै सिद्धान्त वरिपरि नेपालको राजनीति घुमिरहने छ जबसम्म नेपाली जनताको अवस्था उहाँको कल्पनाको जस्तो हुने छैन । यी ६ दशकमा सबैभन्दा बढी आलोचना, प्रशंसा र सिद्धान्तप्रतिको निष्ठाका बारेमा चर्चामा रहनु भएका वीपीका बारेमा केही अनुसन्धान भइरहेका छन् । तर उहाँका नाममा खुलेका संस्थाहरूले खासै अनुसन्धान गरिरहेका देखिँदैनन् । कम्तीमा पनि वीपीले यो देशका लागि गरेका कामहरू, यो देशको राजनीतिलाई संस्कारित र प्रजातान्त्रिक बनाउन गरेका कामहरूको अनुसन्धान जरुरी छ किनभने वीपी स्वयं आफूलाई देवत्वकरण कसैले गरोस् भन्ने चाहनु हुन्थेन र पनि उहाँका राम्रा कामहरूको, उहाँले गरेका राम्रा प्रयासहरूको गलत अर्थ लाग्दा भने चित्त दुखाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो– म लेफ्ट ह्यान्डेड क्रिटिकको मारमा परेको छु । अर्थात् कसैले अनावश्यक प्रशंसा गर्ने अनि कसैले त्यसै विरोध मात्र गर्ने ।

म वीपीको महायात्राको एउटा साक्षी पनि भएकाले लाग्छ, नेपाली जनताले उहाँप्रति सम्मान व्यक्त गर्न र नेपालीहरू जस्तोसुकै अप्ठ्यारोमा पनि कृतज्ञता ज्ञापन गर्न सक्छन् भन्ने देखाउन २०३९ साल साउन ७ गते उहाँको अन्तिम यात्रामा सडकमा उत्रिएर भनेका थिए– वीपी कोइराला अमर रहून्, तिम्रा सपनाहरू पूरा गर्न हामी लागिरहने छौँ । नभन्दै उहाँको महाप्रयाणको ७ वर्षपछि नै नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएको थियो २०४६ साल चैत २६ गते । त्यसपछिका राजनीतिक विकास क्रममा उहाँको प्रत्यक्ष नेतृत्व नभए पनि उहाँकै प्रजातान्त्रिक सिद्धान्तको आलोकमा आजसम्मको यात्रा तय भएको देख्न पाइन्छ ।

वीपीलाई एउटा असल मानिसका रूपमा सम्झिनु हाम्रो पनि कर्तव्य हुनेछ र मुलुकको प्रजातन्त्रीकरणको जगमा रहेको एउटा नाम वीपी  सायद नेपाली इतिहासमा एउटा चम्किलो ताराको रूपमा चम्किरहनुहुनेछ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।