शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वाप्पका प्रतिनिधिले भेटे प्रधानमन्त्री, पीपीपी मोडका आयोजनालाई प्राथमिकता दिन जोड

बिहीबार, ०५ साउन २०७९, १९ : ५०
बिहीबार, ०५ साउन २०७९

वर्ल्ड एसोसिएशन अफ पब्लिक प्राइभेट पार्टनरसीप युनिट्स एण्ड प्रोफेश्नलका प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । अध्यक्ष जियाद अलेक्जेन्डर हायेकको नेतृत्वको तीन सदस्यीय वाप्पको टोलीले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री देउवासँगको भेटमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत पूर्वाधार तथा अन्य व्यवसायिक सम्भाव्यता भएका परियोजनाहरू कार्यान्वयन गरी अघि बढाउने विषयमा छलफल भयो । यसका लागि सरकारको सेवा प्रवाहलाई अझै चुस्त र गुणस्तरीय बनाउन सकिने भन्दै यसले स्वदेशी एवं प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गरी दिगो र समावेशी आर्थिक विस्तारको आधार तयार हुने विषयमा छलफल भएको बताइएको छ ।

प्रतिनिधिमण्डलले पीपीपी तथा लगानी सम्बन्धी कानुनी र संस्थागत व्यवस्थामार्फत नेपालले सार्वजनिक–निजी साझेदारीमार्फत स्रोतको खाडल पूर्ति गरी आर्थिक विकासको लाभ हासिल गर्न गरिरहेको भन्दै प्रशंसा गर्यो । यस्तै, उक्त प्रतिनिधिमण्डलले नेपालले पीपीपी अन्तर्गत लगानी सहजीकरणमा प्रतिस्पर्धी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।

पीपीपी आकर्षक भएपनि आफैंमा जटिल विषय भएको भन्दै यसका विविध पक्ष–वित्तीय, कानुनी, प्राविधिक, वातावरणीय, सामाजिक, राजनीतिक, कार्यक्रम, परियोजना, स्थानीय र अन्तर्राष्ट्रिय परिदृश्य लगायतको कुशल तादम्यताबाट मात्र प्रभावकारी परिणाम निकाल्न सकिने भएकाले पीपीपीका क्षेत्रमा काम गर्ने संस्थाको सोही अनुसार क्षमता विकास हुनुपर्ने प्रतिनिधिमण्डलको धारणा थियो । प्रतिनिधिमण्डलले लगानी बोर्डको कार्यालय वाप्पको सदस्य भएकाले सहयोगका लागि सधैं तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।

छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले संस्थागत र व्यवसायिक क्षमता विकासमा वाप्पकातर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिए । यस्तै, उनले प्रधानमन्त्रीको अध्यक्षतामा गठित बोर्ड सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनबाट निर्देशित रहेको र पीपीपी परियोजना विकासलाई नेपाल सरकारले उच्च महत्व दिएको बताए ।

भट्टले लगानी बोर्ड नेपालले ३३ परियोजनाका लागि १० खर्ब ४० अर्ब लगानी स्वीकृत गरिसकेको बताउँदै पीपीपी परियोजना विकासमा नेपालले आफूलाई प्रमाणित गर्दै अघि बढेको बताए । यस्तै, बोर्डको रणनीतिक योजना अनुसार सन् २०२५–२६ सम्म १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने लक्ष्य रहेको जानकारी गराए ।

उक्त भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पीपीपी अन्तर्गत रहेर विकास निर्माणको काम अघि बढाएको बताए । उनले स्वच्छ र नवीकरणीय उर्जा, दिगो एवं उत्थानशील पर्यटकीय एवं स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी पूर्वाधार, विद्युतीय यातायात, सुरुङमार्ग, सडक, औद्योगिक उत्पादन, कृषि प्रशोधन लगायत विविध क्षेत्रमा लगानीको सम्भाव्यता रहेको भन्दै पीपीपी परियोजनालाई लगानी सम्भाव्य बनाउन वाप्पको विज्ञताको लाभ लिन इच्छुक रहेको बताए । उनले नेपाल लगानीका लागि उदीयमान गन्तव्य भएकाले त्यसको सन्देश लिएर सद्भावना दूतका रूपमा नेपालको समृद्धितर्फको यात्रामा साझेदार बन्न प्रतिनिधिमण्डललाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप