आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चियाको विकास र विस्तारमा सरकारले ध्यान नदिएको भन्दै झलनाथले दिए यस्ता सुझाव

बिहीबार, ०५ साउन २०७९, १८ : ०२
बिहीबार, ०५ साउन २०७९

नेकपा (एकीकृत समाजवादी) सांसद तथा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालले सरकारले चियाको विकास र विस्तारमा बेवास्ता गरेको आरोप लगाएका छन ।  बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता खनालले देशमा चियाको उत्पादन बढिरहे पनि यसको नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको भन्दै सरकारसँग गुनासो पनि गरे । 

उनले चियाको बारेमा सरकारलाई गम्भीर भएर सोच्न आग्रह गर्दै राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या खेप्नुपरेको बताए । तत्काल चियाका अक्सन सेन्टर खोल्न सरकारलाई सुझाव खनालले चियाको न्यूनतम मूल्य तोक्न माग समेत गरे । 

चियाको  विकास र विस्तार गर्न खनालले दिएका सुझाव :

–सरकारले राष्ट्रिय चिया नीतिलाई अविलम्ब अद्यावधिक गर्नुपर्छ । 
–चियाको उत्पादन, विकास, विस्तार र यस क्षेत्रमा देखा परिरहेका चुनौती, समस्या, सम्भावना र समाधानका बारेमा केन्द्रीय स्तरबाट एउटा अनुसन्धान आयोग बनाएर अध्ययन गराउनुपर्छ ।
–विकासका लागि एउटा नमूना बगानका रुपमा स्थापित गर्नुपर्छ । 

–देशका विभिन्न भागमा राज्य र नीजि क्षेत्रका उत्पादकहरु मिलेर संयुक्त साझेदारीमा बगान र कारखानाहरू विकास गर्ने नीतिलाई प्रोत्साहन दिनुपर्छ । 
–सयौं वर्ष अगाडि राणाकालमा स्थापित भएको चिया कारखाना त्यसका मेसिनहरु,भवनहरु सबै नै हाम्रा प्राचिन सम्पदाका रुपमा रहेका छन् । तिनलाई संरक्षण गर्ने र नेपाली चियाको इतिहासलाई संरक्षण गर्ने इलाममा चिया म्युजियम खडा गर्नुपर्छ । 
–चिया रोपन र बगानलाई विस्तार गर्दै बढीभन्दा बढी किसानहरूलाई चिया रोपन व्यवसायमा संलग्न हुन प्रेरित गर्नुपर्छ । 

–सबै चिया उत्पादकहरूलाई र बिशेष गरेर साना चिया उत्पादकहरू र सच्चा चिया बगानहरूलाई सहुलियत दिने हिसाबले चियाको न्यूनतम समर्थन मूल दिन कारखाना स्थापना गरेर चिया प्रशोधनमा लागेकाहरूलाई कारखाना सम्बन्धी समस्या समाधन गर्न सघाउनुपर्छ । साथसाथै उनीहरूलाई पनि सम्बन्धित पालिकाहरूले वा संघीय सरकारले चियाको न्यूनतम समर्थन मूल दिन र दिलाउन ठोस निर्देशन दिनुपर्छ ।

–नेपाली ब्राण्डको चियाका लागि अन्तर्राष्ट्रिय बजारको सुनिश्चितता गर्नुपर्छ । त्यसका लागि राज्यले सक्रिय भूमिका खेल्नुपर्छ । सबभन्दा लाभकारी बजारमा नेपाली चिया बेच्ने प्रबन्ध मिलाउनुपर्छ । 

–नेपालमा अविलम्ब चिया अक्सन केन्द्र खोल्नुपर्छ । त्यसका लागि सरकारले अविलम्ब पहल गर्नुपर्छ र नेपाली चिया उत्पादक र बिक्रेताहरूका लागि सहज परिस्थिति निर्माण गर्नुपर्छ । चिया र चिया बगानहरूको स्वास्थ्यलाई दिगो र असल जनाइराख्न राम्रो स्याहार सम्भार, सिञ्चाईको प्रबन्ध र प्राङ्गारिक मलको व्यवस्था अविलम्ब गरिनुपर्छ ।

–भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमका प्रयोगशालाहरूको सुविधा विकास गर्नुपर्छ । तब मात्र चिया निर्यात प्रक्रिया सहज हुनसक्छ । 

–नेपालमा विकास गर्दै गइरहेका चिया बगानहरूको स्तरउन्नती बनाउन स्वयं बगानहरूलाई नै धितो राखी कर्जा लिन सक्ने प्रबन्ध सरकारले गर्नु जरुरी छ ।  
–नेपाली चिया निर्यात गरे बापत हाल नेपाल सरकारले उपलब्ध गराउँदै आएको ५ प्रतिशत नगद प्रोत्साहनलाई १० प्रतिशत बनाउनुपर्छ । त्यसले हाम्रो चियालाई अन्तर्राष्ट्रिय बजारमा बढी प्रतिस्पर्धी बनाउन सक्छ । जबकि हामीले स्टिल, सिमेन्ट जस्ता वस्तुहरुमा ८५ प्रोत्साहन दिने गरेकै छौं । 

–हामीले भन्सार नाकाहरुमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमका प्रयोगशालाहरूको सुविधा विकास गर्नुपर्छ । तब मात्र चिया निर्यात प्रक्रिया सहज हुनसक्छ ।
–नेपालमा विकास गर्दै गइरहेका चिया बगानहरूको स्तर उन्नत बनाउन स्वयं बगानहरूलाई नै धितो राखी कर्जा लिन सक्ने प्रबन्ध सरकारले गर्नु जरुरी छ । 

–अन्त्यमा, चिया जस्तो महत्वपूर्ण पेय पदार्थ र नगदे बालीको विकास, विस्तार र सुदृढीकरणका निम्ति अविलम्ब कदम चाल्न सरकारलाई ठोस निर्देशन दिन सभामुख महोदयलाई हार्दिक आग्रह समेत गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप