शुक्रबार, ०५ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मैले अमेरिकामा खाएको फोटोको ट्रोल बनाउँदा तपाईको भान्छा सस्तो हुन्छ भने शुभकामना छ : प्रदीप ज्ञवाली

बिहीबार, ०५ साउन २०७९, १५ : १२
बिहीबार, ०५ साउन २०७९

नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले अचाक्ली ढंगले मूल्य बृद्धि हुँदा पनि सरकारले रोक्न नसकेको आरोप लगाएका छन् । बिहिबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद ज्ञवालीले सत्तारुढ दलका कार्यकर्ताले विषयान्तर गर्न आफूलाई ट्रोल बनाएको दावी गरे ।  

उनले खाद्यान्नमा ४० प्रतिशत मूल्यबृद्धि भएको, पेट्रोलियम पदार्थमा ४२ प्रतिशत मूल्यबृद्धि बढेको बताए । सरकारले फलाम उद्योगलाई सहुलियत दिएपनि निर्माण सामाग्रीमा पनि मुल्य बढेको बताए । सार्वजनिक यातायातमा २८ प्रतिशत र ढुवानी भाडामा २६ प्रतिशत भाडा बढेको उल्लेख गर्दै मुद्रास्फीति झन्डै १० प्रतिशत बढेको बताए । तर मजदुरको ज्यालाको दर भने नबढेको उल्लेख गरे । 

उनले भने–‘योबीचमा मुद्रास्फीति झन्डैझन्डै ९ प्रतिशत बढेको छ । यसको अर्थ के हो भने हामीसँग सय रुपैयाँ छ भने त्यो सय रुपैयाँ आफै अवमूल्यन भएर अहिले ९१ मा झरेको अवस्था हो । ज्यालादारीहरुको दैनिक न्यूनतम ज्याला नबढ्ने, तर निरन्तरको मुद्रास्फीतिले खल्तीको पैसाको भाउ घट्दै जाने । आम सर्वसाधारण र नागरिक कसरी बाँचिरहेका छन् ? सरकारको ध्यान छ यस विषयमा ? मूल्य नियन्त्रणका अनेकौँ उपायहरु गर्न सकिन्छ । विपन्न बर्गलाई राहत दिन सकिन्छ । सुपथ मूल्य पसलहरु चलाउन सकिन्छ । तर सरकारको ध्यान यी कुनैपनि विषयमा छैन् ।’

सांसद ज्ञवालीले आफूले अमेरिकामा आएको खानाको फोटोलाई ट्रोल बनाइएको गुनासो समेत गरे । उनले भने–‘अहिले सत्तारुढ दलका कार्यकर्ताहरु मुल्य बढ्यो भनेर स्वीकार गर्नुको साटो कसले यो विषय उठायो भन्नु भन्दापनि फोटोसप गरेर हुन्छ कि ट्रोल बनाउनेतिर लाग्छन् । अस्ति मैले यही कुरा सार्वजनिक कार्यक्रममा बोलेको थिएँ । साथीहरुले मैले अमेरिकामा खाना खाइरहेको एउटा फोटो छापेर दुईथरी तरकारी खाएको कुरा गर्नुभयो । त्यसो गरेर उहाँहरुको भान्छामा सस्तो हुन्छ भने मेरो शुभकामना छ । सस्तो होस् । तर के तपाईहरुले विषयान्तर गरेर नेपालमा अचाक्ली ढंगले बढेको मूल्यबृद्धिको नियन्त्रण हुन्छ र ?’ केहीदिन अघि सांसद ज्ञवालीले आफ्नो भान्छामा दुईथरी तरकारी पाक्ने अवस्था नरहेको बताएपछि सामाजिक सञ्जालमा उनले दुई तिन थरी तरकारीका साथ खाना खाइरहेको फोटो भाइरल भएको थियो । 

उनले मूल्यबृद्धिको समस्यालाई विषयान्तर गर्न एम अधिकारीको बहस चलाएको आरोप समेत लगाए । उनले गर्भनर अधिकारी आफ्नो दलमा नरहेको बताए । उनले भने–‘यी सारा समस्याहरुलाई गम्भीरतापूर्वक सोच्ने बेलामा बहस हामीले कहाँ चलाइरहेका छौँ ? एम अधिकारी को हो भनेर खोजिरहेका छौँ । सम्बन्धित व्यक्ति भन्नुहुन्छ म २०७३ सालदेखि त्यो पार्टीमा छैन, सम्बन्धित पार्टी भन्छ २०७३ साल देखि उहाँ हुनुहुन्न ।’उनले जनताको समस्या एकातिर भइरहेको विषयलाई विषयान्तर गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप