मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगल, पानी परे जाग्राम
![मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगल, पानी परे जाग्राम](https://rpcdn.ratopati.com/media/albums/mugu-aaglagi-pidit_JVTnjncb9f.jpg)
मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास छ ।
आगलागीबाट गमगढी बजारका २१ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए । अहिलेसम्म उचित बासस्थान नपाएका पीडित बर्खा लागेसँगै थप बिचल्लीमा परेका छन् । राम्रोसँग ओत लाग्ने घर नहुँदा उनीहरू वर्षा लागेसँगै बिचल्लीमा परेका हुन् । उनीहरू घाम लाग्दा शीतलता लिन जंगलतिर धाउँछन् भने राति पानी परेमा जाग्राम बस्नुपर्ने अवस्था रहेको गुनासो गर्छन् ।
दिनमा पानी पर्दा छिमेकी वा आफन्तको घरमा ओत लाग्न जान्छौँ । तर, राति पानी परे ओत लाग्ने नमिल्ने भएकाले रातभर जाग्राम बस्नुपर्छ,’ अग्नि पीडित झम्बा तामाङले बताइन् । उनी मात्र होइनन अन्य अग्नि पीडितहरूको पीडा उही छ । घाम र पानीबाट मात्र होइन पीडितहरु सर्पजस्ता विषालु जीवजन्तुबाट उत्तिकै जोखिममा छन् ।
पछिल्लो समय लगातार परेको वर्षाका कारण सर्पले सास्ती दिने गरेको उनीहरु बताउँछन् । पानी परिरहेका कारण राति पहिरो र सर्प आउँछ कि भनेर हेरिरहनुपर्छ,’ पीडित गुरु तामाङको दुखेसो छ । सरकारले मात्र होइन यहाँ क्रियाशील विभिन्न संघसंस्थाले सुरुमा चासो देखाए पनि पछि पीडितको समस्या समाधानमा चासो नदिएको पीडितहरु गुनासो गर्छन् ।
आगलागी भएको दोस्रो दिन नै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही स्थलगत अनुगमन गरेर घरहरूको पुनर्निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने वचन दिएका थिए । घरको पुनर्निर्माणको लागि पीडित र छायाँनाथ रारा नगरपालिकासँग नक्सा पास गर्न बारम्बार पहल गरेको र घर बनाउँदा भुकम्प मापदण्ड, भवन आचारसंहिताको मापदण्ड पालना गरी वडा कार्यालयबाट सिफारिसमा पहिलो किस्ताको रकम प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
‘प्रदेश सरकारबाट आएको रकम कोषमा जम्मा भएको छ,’ प्रजिअ महतले भने,’ पीडितले नक्सा पास गरेर आए प्रदेश सरकारबाट प्राप्त रकम प्रदान गरिनेछ ।’ प्रदेश सरकारले क्षतिपुर्तिको आधारमा अधिकतम ४ लाखसम्म रकमको राहत दिने प्रजिअ महतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
-
‘बेहुली फ्रम मेघौली’को गीत ‘बिहे गर्ने कि नगर्ने’मा प्रदीप, दीपासहित थुप्रै कलाकार
-
पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
-
समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी
-
प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति
-
प्रचण्डसँगको भेटपछि खनालले भने– हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ