मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

युुट्युबमा हेरेरै ड्रागन फ्रुट खेती

बिहीबार, ०५ साउन २०७९, १२ : ४२
बिहीबार, ०५ साउन २०७९

गुर्भाकोट नगरपालिका–१४ भर्लेनीका ३२ वर्षीय हिराबहादुर घर्ती गोर्खा वेलफेयर ट्रस्ट क्याम्प चिसापानी, सुर्खेतमा कार्यरत थिए । उनले त्यहाँ मेडिकल साइटमा काम गर्थे । त्यो बेला ड्रागन फ्रुट खेतीको बारेमा सुनेका उनले त्यसबारे जान्न युट्युबमा त्यस सम्बन्धी सामग्री हेर्न थाले ।

उसो त उनको जागिर पनि राम्रै थियो । मासिक ९० हजारदेखि एक लाखसम्म तलबभत्ता नै हुन्थ्यो । तर पनि उनलाई ड्रागन फ्रुट खेतीतर्फ आकर्षण बढ्यो । ०७८ असारदेखि उनले भर्लेनी गाउँस्थित आफ्नै एक बिगाहा जमिनमा उनले ड्रागन फ्रुट खेती सुरु गरे । उनले व्यावसायिक खेतीका क्रममा फलाएको ड्रागन फ्रुट दुई पटक बेचिसकेका छन् । अब तेस्रो लट करिब २० दिनपछि तयार हुने उनले बताए ।

हिराबहादुरले ९७४ पोलमा झण्डै चार हजार जति सेतो र रातो ड्रागन फ्रुट रोपिएको जानकारी दिए । उनले ड्रागन फ्रुट फर्म नै दर्ता गरेर सञ्चालन गरेका छन् । पहिलो लटमा १५ केजी उत्पादन भएको थियो । जो प्रतिकेजी ८ सयका दरले बिक्री गरेको उनले बताए ।

घर्तीले अहिलेसम्म एक करोड रुपैयाँ लगानी भइसकेको बताए । उनले अहिलेसम्म कृषि विकास निर्देशनालयबाट ५० हजार रुपैयाँबाहेक कुनै सहयोग र अनुदान पाएका छैनन् । उनले २० लाख रकम आफ्नै तलबबाट र बाँकी कृषि विकास बैंकबाट ऋण लिएको जानकारी दिए ।

हिराबहादुर भन्छन्, ‘पढेलेखेका युवाले जागिरै गर्नुपर्छ भन्ने छैन, आफ्नै बाँझो खेतबारीमा परिश्रम गरे पनि पुग्छ । पौरखी हातहरु आधुनिक कृषि प्रणालीलाई अँगालेर खेतीपातीतर्फ लम्किनुपर्छ ।’

ड्रागन फ्रुट जेठ महिनादेखि भदौ असोज महिनासम्म बढी उत्पादन हुन्छ । वर्षमा चार चरणसम्म फल्ने यो फलले शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नेदेखि मुटु स्वस्थ राख्ने क्षमता राख्दछ । उनी भन्छन्, ‘ड्रागन फ्रुटले शरीरको तौल सन्तुलन गर्न, क्यान्सर सम्बन्धी रोग, बाथ रोग लगायत अन्य धेरै रोग निराकरणका लागि महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले ड्रागन फ्रुट सेवन फाइदाजनक त छँदैछ, यसको व्यवसाय पनि राम्रै हुने देखिन्छ ।’

एक वर्षसम्म ड्रागन फ्रुट खेती र जागिर दुवैतिर समय र सन्तुलन मिलाउँदै आएका हिराबहादुरले अब जागिरको मोह चटक्कै त्यागिसकेका छन् । जागिर छाडेर दुई महिनादेखि उनी पूर्ण समय खेतीमै व्यस्त हुन थालेका छन् ।

ड्रागनको फूल फूल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ । यो एक पटक रोपिसकेपछि १६ वर्षसम्म उत्पादन भइराख्छ । हिराबहादुरले ड्रागनको बिरुवा समेत प्रतिगोटा २ सय रुपैयाँमा बेच्ने गरेको बताए ।

मंगलबार उनको ड्रागन फ्रुट फार्ममा पुगेका कृषि विकास निर्देशनालयका प्रमुख एवं कृषि विज्ञ चित्र रोकायले ड्रागन फ्रुट खेतीबाट आफू प्रभावित भएको बताए । उनले भने, ‘सुर्खेतको धेरैजसो भूभाग बाँझो छ । किसानहरु कृषि पेसा छाडेर विदेशिने प्रचलन पनि बढ्दै गएको छ । यस्तो अवस्थामा नयाँ सोच बोकेर आएका युवा कृषकहरु ड्रागन फ्रुट खेती, किवी फ्रुट, अम्बाजस्ता फलफूल खेतीमा आकर्षित गर्नुपर्छ । त्यसका लागि सरकारले पनि ध्यान दिनुपर्छ ।’

रोकायले हिराबहादुर जस्ता युवा कृषकलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘इच्छाशक्ति भएका युवाहरुलाई निर्देशनालयले सहयोग गर्छ ।  बजारीकरण, ब्याज अनुदानका कार्यक्रमहरुमा जोड्ने र अन्य प्राविधिक सहयोग गर्दै उहाँहरु जस्ता कृषकसँग हातेमालो गर्दै अघि बढ्छौं ।’​ रोकायका अनुसार सुर्खेतको झण्डै १० हेक्टर क्षेत्रलफल जमिनमा अहिले ड्रागन फ्रुट खेती भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप