मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘चिया पार्टी’ दर्ताका लागि आएपछि निर्वाचन आयोग चकित, दर्ता नगरेपछि नाम फेर्ने तयारी

बिहीबार, ०५ साउन २०७९, १८ : १६
बिहीबार, ०५ साउन २०७९

निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काइदिएको छ । आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको हो । 

पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको सो दलका महामन्त्री रविकिरण हमालले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘केहीदिन अघि हामी पार्टी दर्ताका लागि आयोग गएका थियौँ । आयोगका पदाधिकारीसँग कुरा गर्दा पार्टीको नाम हलुका जस्तो भयो भन्नुभयो । झण्डामा गाँजाको सात वटा पात राखेका थियौँ । सो कारण देखाउँदै उहाँहरुले दर्ता गर्न नसक्ने पत्र काट्नुभयो ।’

सडकदेखि दरबारसम्म सबैतिर चिया पाक्ने गरेको र चियाले तल्लो तप्काका मान्छेदेखि माथिल्लो तहका मान्छेहरूलाई समेट्ने भएकोले पार्टीको नाम चिया पार्टी राखिएको हमालले जानकारी दिए । चिया सामाजिकीकरण गर्ने, सबैको समान पहुँचको माध्यम भएकोले पनि चिया पार्टी गठन गरिएको उनले बताए । 

आयोगले भन्यो–‘हामीलाई जिस्क्याउन आउनुभयो कि क्या हो ?
चिया पार्टी दर्ताका लागि आएपछि आयोगका पदाधिकारी भने चकित भएका छन् । पार्टीको नाम देख्नेबित्तिकै आयोगका पदाधिकारीले हामीलाई जिस्काउन आउनुभएको त हैन भन्दै प्रश्न गरेका थिए । 
चिया पार्टीको झण्डा संविधानको भावना विपरित भएकोले पार्टी दर्ता नगरी फिर्ता पठाइदिएको आयोगका उप न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । 

उप न्यायाधिवक्ता वाग्लेले भने–‘पार्टीको नाम हाम्रो चिया पार्टी भनेको रहेछ झण्डामा गाँजाको पात रहेछ त्यो त सिधै गैरकानुनी भयो । राजनीतिक दलप्रति वितृष्णा बढ्यो भन्दैमा जे मन लाग्छ त्यही पार्टी खोल्ने कुरा हुँदैन । कम्तिमा संविधानको प्रस्तावना, लोकतन्त्रका मुल्य मान्यताप्रति प्रतिबद्ध त हुनुपर्यो । चिया पार्टीले लोकतन्त्र, संविधानको मूल्य मान्यतालाई पनि संवोधन गरेको पाइएन । लागू औषध ऐन २०३३ ले गाँजालाई निषेध गरेको छ । कानुनले प्रतिबन्ध लगाएको लगाएको कुरा झण्डामा राख्दा आयोगले कसरी दर्ता गर्न सक्छ र ?’

सो पार्टीमा २१ सदस्य रहेको महामन्त्री हमालले जानकारी दिए । सबै नेताहरु ४० वर्षभन्दा कम उमेर समूहका यूवाहरु रहेको उनको भनाई छ । साथै पार्टीमा ५० प्रतिशत महिला सहभागिता रहेको, डाक्टर, इन्जिनियर, विभिन्न पेशामा आवद्ध व्यक्तिहरु पार्टीमा आवद्ध रहेको उनले बताए । 

आयोगले चियाको नाममा पार्टी दर्ता गर्न नमानेपछि पार्टीको नाम परिवर्तन गरेर एक दुई दिनभित्रै आयोगमा अर्को नाममा पार्टी दर्ताका लागि जाने हमालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप