बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय र क्याम्पस धाउँदै मन्त्री : सहर सुन्दरतामाथि विद्यार्थीले दिए यस्ता सुझाव

बिहीबार, ०५ साउन २०७९, १० : ३५
बिहीबार, ०५ साउन २०७९

विद्यार्थीहरुले सहरमा सडक भएपनि त्यसको सुन्दरताको निम्ति सरकारले उल्लेख्य पहल नगरेको बताएका छन् । बुधबार सहरी विकास मन्त्रालयद्वारा आयोजित ‘विद्यार्थीहरूसँग मन्त्री’ विषय अन्तरक्रियामा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले यस्तो बताएका हुन् । सहरी योजनामा दोस्रो वर्ष अध्ययनरत सिर्जन पौडेलले काठमाडौँ लगायतका मुख्य सहरहरुमा सडक, सडकपेटी र पार्क बनाइएपनि त्यसको संरक्षणमा संघीय सरकारको पहल न्यून धारणा राखे ।  कुनै पनि भौतिक संरचना बनाएपछि काम पूर्ण भइहाल्छ भन्ने खालको भ्रम पालेर हिँड्ने हो भने सहरको सुन्दरता र विकास कागजमा मात्रै सीमित हुने उनको धारणा छ ।

सहरीविकास मन्त्री मेटमणि चौधरीले स्नातकोत्तर र पीएचडी तहमा अध्ययनरत विद्यार्थीसँग गरेको उक्त अन्तरक्रियामा सहरको सुन्दरता बढाउनका लागि सरकारले गर्नुपर्ने पहलका सन्दर्भमा उल्लेख्य सुझाव आएको थियो । सुझावसँगै मन्त्रालयका कामलाई मन्त्री चौधरीको नेतृत्वमा कसरी अघि बढ्छ भन्ने मुल मुद्दामा विद्यार्थीहरुको प्रश्न सिलसिला पनि चलेको थियो । विद्यार्थीहरुले ओपन स्पेस अर्थात् खुला ठाउँको मापदण्ड पुर्याएर मात्र सहरी विकासका योजनाहरुले गति पाउन सक्ने कुरामा आफ्नो मत राखेका थिए । 

सहरी योजनामा पीएचडी गरिरहेकी सुस्मिता मैनालीले आफ्नो दक्षता अनुसारको काम इन्जिनियरलाई दिएर त्यस अनुरुपका विकासमा ध्यान दिनुपर्ने धारणा राखिन् ।  नेपालमा सहरी विकास त्यति ठुलो चुनौती नरहेको उनको तर्क थियो । ‘विगतमा हामीले देखेका र विगतमा बनाइएका भक्तपुर, कीर्तिपुर लगायतका पुराना सहर संरचनाहरुबाट पनि हामीले लोक संस्कृतिलाई जोगाएर कसरी विकास गर्न सकिन्छ भन्ने कुरा सिक्न सकिन्छ’, उनले भनिन् ।
अर्का विद्यार्थी शोभित मानन्धरले सहरी विकास भनेको सभ्यता र संस्कृतिको रक्षासँगै गरिने विकास नै भएको तर्क गरे ।  स्नातकोत्तर पहिलो वर्ष अध्ययन गरिरहेका मानन्धरले सभ्यता जोगाएर गरिएको विकास नै पूर्ण विकास भएको धारणा राखे । 

 सहरी विकास मन्त्रालयमा सहरी विकास योजना अध्ययन गरेका योजनाकारहरुलाई महत्व नदिएको उनको गुनासो थियो । त्यसप्रति मन्त्रालयले ध्यान नदिनुको कारण समेत उनले जिज्ञासाका रुपमा राखेका थिए । 
विद्यार्थीहरुले सहरको सुन्दरता जोगाउन र बढाउनको निम्ति गर्न सकिने आफ्ना धारणा सुनाएपछि मन्त्री चौधरी उक्त सुझावप्रति सकारात्मक देखिए । सबैको प्रश्न र सुझाबलाई एकैपटक सम्बोधन गर्दै मन्त्री चौधरीले एउटा व्यक्ति वा एउटा संस्थाले मात्र देश विकास  सम्भव नहुने भएकाले यसमा सबैको साझा दायित्व हुनुपर्ने धारणा राखे । 

 ‘हाम्रो देशमा दोष थुपार्ने बानी साह्रै नराम्रो छ । आफ्नो गल्ती अरुको टाउकोमा राखेर आफू उम्किने पाए जीतको अनुभव गर्ने प्रथा छ’, उनले भने, ‘यो चलनको अन्त्य भएपछि यी तमाम कुराहरु गतिशील रुपमा अघि बढ्नसक्छ ।’
मन्त्री चौधरीले सहरको सुन्दरताको निम्ति आफूले सक्रिय भएर काम गर्नेपनि प्रतिबद्धता जनाए । सहरको सुन्दरताको निम्ति मन्त्रालयले दक्ष जनशक्तिलाई प्राथमिकता दिने भन्दै दरबन्दी खुलाएरै भएपनि पदपूर्ति गरिने बताए । उनले विद्यार्थीहरूसँगको सहकार्यलाई निरन्तरता दिने भन्दै यसले योजनामा निकै ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।  

कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेश सिंह, सहसचिव पद्म कुमार मैनाली, पुल्चोक इन्जिनियरिङ कलेजका प्रमुख डा. इन्द्र प्रसाद आचार्य लगायतले मन्तव्य पनि राखेका थिए । 
‘विद्यार्थीहरूसँग मन्त्री’ कार्यक्रमको बुधबारको दोस्रो श्रृङ्खला हो । शुक्रबार साँखुको भगवती माध्यमिक विद्यालयमा पनि उनले विद्यार्थीहरूसँगको अन्तक्रिर्या गरेका थिए । उनले विद्यालय तथा क्याम्पसहरुमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अग्रिम अधिकारी
अग्रिम अधिकारी
लेखकबाट थप