मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो इनिङ्समा फ्लप पुबुदु

बिहीबार, ०५ साउन २०७९, ०६ : ४७
बिहीबार, ०५ साउन २०७९

नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनी नेपाल छाडेर अब क्यानडाको क्रिकेट टोलीको नेतृत्व सम्हाल्नेछन् ।

पुबुदुले सन् २०११ बाट पहिलोपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकत्व सम्हालेका थिए । उनले प्रशिक्षकको जिम्मेवारी लिँदा नेपाली क्रिकेटले केही सुधारोन्मुख रूप लिँदै थियो । त्यसै समयमा नेपालको क्रिकेटको बागडोर सम्हालेका पुबुदुले साँच्चै क्रिकेटको रङ्ग नै बदलिदिए । 

नेपाली क्रिकेट डिभिजन चारमा रहँदा पुबुदुले डिभिजन दुईसम्म पुर्‍याए । यति मात्र होइन पुबुदुले नेपाली टोलीलाई टी–ट्वान्टी विश्वकप खेल्ने अवस्थासम्म पुगाए । यो सबैसँगै पुबुदु सन् २०१५ मा नेपाली क्रिकेटको प्रशिक्षकबाट बिदा भए । 

पुबुदुले सन् २०१४ मा मुख्य प्रशिक्षक हुँदा नेपाललाई पहिलो पटक विश्वकप खेलाउँदै इतिहास रचेका थिए । नेपाली क्रिकेट र खेलाडीहरूको सपनाको साकार विन्दु पुबुदु बने । पुबुदुको पहिलो इनिङ्स त्यो समयमा नै सकिएको थियो । 

त्यसपछि पुबुदुले नेपाली क्रिकेट सम्हाल्ने सपना त बुने तर नेपाली क्रिकेटमा लिप्त राजनीतिले उनलाई पछि फर्कने साहस दिएन । राजनीतिक विवादले क्यान निलम्बनमा परेसँगै आईसीसीले नै नेपाली क्रिकेट जोगाएर राखेको थियो । 

सन् २०२२ मा पुबुदुले नेपाली क्रिकेट सम्हाल्ने दोस्रो मौका पाए । पहिलो पटक नेपाललाई विश्वकप खेलाएकै कारण पुबुदु नेपाल फर्कँदा नेपाली समर्थकहरूले खुसी मनाए । नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुगाउने प्रशिक्षक पुनः दोस्रो इनिङ्स सम्हाल्दा कुन समर्थक पो खुसी नहोला । 

तर, पुबुदुको दोस्रो इनिङ्स सोचे अनुसार हुन सकेन । समर्थकको त्यो खुसी लामो समय टिकेन । उसो त एक दिवसीय मान्यता प्राप्त गरेको नेपाली टोलीका लागि पुबुदु उपयुक्त प्रशिक्षक होइनन् भन्ने चर्चा पहिले पनि चलेको थियो । 

अहिले पुबुदुको प्रशिक्षकत्वमा नेपालले १४ एक दिवसीय खेल खेलेको छ । जसमा मात्र ४ खेल जित्न सकेको छ । नेपालले ९ खेलमा हार बेहोर्दा एक खेलमा बराबरीको नतिजा निकालेको छ । 

टी–ट्वान्टी क्रिकेटमा भने पुबुदुले नतिजा राम्रो ल्याएका छन् । नेपालले टी–ट्वान्टी क्रिकेटमा १३ खेल खेल्दा १० मा जित र ३ मा हारको नतिजा आत्मसाथ गरेको छ । नेपालको एक दिवसीय मान्यता जोगाउन महत्त्वपूर्ण रहेको खेलमा भने पुबुदुले सोचे अनुसार नतिजा दिलाउन सकेनन् । उसो त उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई पहिलो पटक एक दिवसीय विश्वकप खेलाउन सक्ने मौका पनि पुबुदुको हातमा थियो । 

आईसीसी विश्वकप लिग टू अन्तर्गत १२ खेलमा नेपालले ७ खेलमा पराजित हुन पर्‍यो । एक खेलमा बराबरी भएर नेपालले एक अङ्क जोड्यो । सात खेलमा नै जित निकाल्न सके नेपालको विश्वकप खेल्ने सपना पनि नजिकिन्थ्यो । 

​उसो त नेपाली क्रिकेटमा किचलो भएको समयमा पहिलो पटक प्रशिक्षकको जिम्मेवारी छोडेका पुबुदु किचलो भएकै समयमा दोस्रो पटक नेपाल फर्किए । पहिलो पटक उनले प्रशिक्षकको जिम्मेवारी छोड्दा क्यान भित्र किचलो थियो भने अहिले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा खेलाडीको । 

क्यानले मिडियामा सार्वजनिक रूपमा क्यानविरुद्ध बोलेको भन्दै तीन जना खेलाडीहरूलाई कारबाहीमा पारेको थियो । त्यो समयका कप्तान ज्ञानेन्द्र मल्ल, उप–कप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई कारबाहीमा पारेको थियो । 

त्यसपछि चौतर्फी विरोध भएपछि चार खेलाडीलाई क्यानले कारवाही फुकुवा गर्‍यो । त्यसै समय पुबुदुले टिममा चार खेलाडीलाई बोलाए । चार खेलाडी टिममा फर्केपछि ज्ञानेन्द्रसँग कप्तानको जिम्मेवारी थिएन भने दिपेन्द्रसँग पनि उप–कप्तानको जिम्मेवारी थिएन । 

क्यानले सबै खेलाडीलाई प्रशिक्षणमा बोलाए पनि सुरुवातमा खेलाडीहरू क्याम्पमा जान मानेका थिएनन् । पछि क्यान र पुबुदुको जोड बलले खेलाडीहरू टिममा फर्किए । त्यो समयमा टिममा दुई धार भएको पुबुदुले बुधबार राजीनामा दिने समयमा बताएका थिए । 

उनले टिममा आफूले प्रशिक्षकको बागडोर सम्हाल्दा टिममा एकता नभएको र अहिले विस्तारै त्यसले राम्रो रूप लिँदै गएको बताए । उनले प्रतिशतको रूपमा पनि अहिले टिममा ९५ प्रतिशत मात्र एकता भएको बताए । 

‘टिममा मैले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा टिममा एकता थिएन । अहिले टिममा ९५ प्रतिशत एकता छ,’ पुबुदुले एकतर्फ टिममा अझै पनि एकता नभएको प्रस्ट पारेका छन् । 

पबुदुको पहिलो परीक्षाको रूपमा नेपाललाई पुनः विश्वकप खेलाउने रहेको थियो । नेपाली समर्थकले पनि उनीबाट त्यो आशा गरेका थिए । गत फेब्रुअरीमा विश्वकप खेल्नु अघि नेपालले चार देश सम्मिलित टी–ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले तीन खेलमा दुई खेलमा जित निकाल्यो भने एक खेलमा पराजित भयो । त्यसपछि पुबुदुको प्रशिक्षकत्वमा टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्यो । 

नेपालले छनोटको लिग चरणका तीन खेलमा जित निकाल्दै सेमिफाइनलमा पुग्यो । सेमिफाइनलमा नेपाल ओमानसँग पराजित हुन पुग्यो । सेमिफाइनलमा जित निकाल्न सके नेपालले यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकप खेल्ने पक्का थियो । 

सेमिफाइनलमा युएईसँग १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १०७ रनमा अल आउट हुँदै बाहिरियो । नेपाल बाहिरिएसँग पुबुदुको नेपाललाई दोस्रो पटक विश्वकप खेलाउने सपना चकनाचुर भयो । नेपालले विश्वकप छनोटको प्लेअफ स्वरूप ओमानसँग त्यसै समय अन्तिम खेलमा जित निकाल्यो । 

विश्वकप छनोट पछि पुबुदु नेपालाई एक दिवसीय विश्वकप खेलाउने बाटोमा लागे । पुबुदुको एक दिवसीय क्रिकेटमा दोस्रो इनिङ्स यूएई टुरमा सुरु भयो । जसमा नेपालले चार खेल खेल्दा दुई खेलमा जित निकाल्यो भने दुई खेलमा हारको नतिजा बेहोर्‍यो । 

पुबुदुको दोस्रो इनिङ्समा नेपालले गत मार्च र अप्रिलमा घरेलु मैदानमा पीएनजीसँग एक दिवसीय सिरिज अन्तर्गत दुई खेल खेल्यो । जसमा नेपाल दुबै खेलमा पराजित भयो । नेपालले मलेसिया र पीएनजीसँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज पनि खेल्यो । जसमा नेपालले पाँच खेल खेल्दा पाँचै खेलमा जित निकाल्यो । 

त्यसपछि नेपाल जुनमा विश्वकप लिग टू अन्तर्गत नै अमेरिका भ्रमण गर्‍यो । अमेरिका एक खेलमा जित, २ मा हार र एकमा ‘टाई’ भयो । त्यसमा पनि पुबुदुको असफलता नै देखियो । त्यस लगत्तै नेपालले लिग टू अन्तर्गत नै स्कटल्यान्ड र नामिवियासँग सिरिज खेल्यो । सिरिजको चार खेलमा नेपाल तीन खेलमा पराजित भयो भने एक खेलमा जित निकाल्यो । 

समग्रमा हेर्दा पुबुदुले नेपालका लागि पहिलो पटक प्रशिक्षकत्व गर्दा जति सफल भएका थिए, उनका लागि दोस्रो इनिङ्स शुभ हुन सकेन । अब उनी क्यानडाको राष्ट्रिय टोली सम्हाल्दैछन् । त्यसमा उनी सफल होउन् शुभकामना । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप