आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुनौली नाकामा दैनिक ८–१० जना संक्रमित फेला, होल्डिङ सेन्टरको अभाव

बुधबार, ०४ साउन २०७९, २० : ५१
बुधबार, ०४ साउन २०७९

भारतबाट सुनौली नाका हुँदै नेपाल भित्रिनेहरुमध्ये दैनिक ८–१० जनामा कोरोनाभाइरस संक्रमण पाइने गरेको छ । नियमित परीक्षणका क्रममा फेला परेका संक्रमितमध्ये अधिकांश भारतीय रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए ।

बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा मंगलबार ९ जना र बुधबार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये दुई जना नेपाली रहेको र अन्य भारतीय नागरिक रहेको शाहले रातोपाटीलाई बताए । रुपन्देहीमा पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको छ । खासगरी सीमा क्षेत्रमा कोरोना संक्रमित पाइएका हुन् । अहिलेसम्म जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा  नगरपालिका र बुटवल उपमहानगर गरी २४ जनामा संक्रमण पुष्टि भएको शाहले बताए । उनीहरू सबै होम आइसोलेसनमा बसेका छन् ।

होल्डिङ सेन्टरको अभाव

सीमा नाकामा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण गरेपछि संक्रमितहरुलाई राख्न प्रयोग गर्नुपर्ने होल्डिङ सेन्टरको अभाव महसुस भइरहेको हेल्थ डेस्कका कर्मचारी बताउँछन् । होल्डिङ सेन्टर नहुँदा संक्रमितहरुलाई होम आइसोलेसनमा बस्ने गरी घर पठाउनुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । यसरी घर पठाउँदा बाटोमै अन्यलाई संक्रमण सर्ने खतरा रहने भए पनि होल्डिङ सेन्टर नहुँदा अर्को विकल्प नभएको उनीहरु बताउँछन् ।

बुधबार नाकामा परीक्षण गरिएकामध्ये दुई नेपालीमा संक्रमण  पाइएको थियो । चितवन र धरान घर भएका ती दुवैलाई होल्डिङ सेन्टर नहुँदा आफै सवारी व्यवस्थापन गरेर जाने गरी घर पठाइएको छ । संक्रमण पाइएका भारतीयलाई भने भारततिरै फर्काउने गरिएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले रुपन्देहीमा स्थानीय तहले कोरोना संक्रमण बढ्दै गएको परिस्थिति र संक्रमण न्यूनीकरण तथा रोकथामका लागि सामान्य चासो देखाए पनि ठोस प्रक्रिया अगाडि नबढेको बताए ।

उनका अनुसार कोभिड नियन्त्रणको विषयमा हालै बैठक बसे पनि तत्काल होल्डिङ सेन्टर निर्माण गर्ने तयारीमा स्थानीय तह अग्रसर छैनन् । सुनौलीस्थित बेलहिया नाकामा अहिले सिद्धार्थनगर नगरपालिका र जनस्वास्थ्य कार्यालय रुपन्देहीका कर्मचारीले कोरोना चेकजाँच गरेका छन् । उनीहरूले बिहान ६ बजेदेखि राति १० बजेसम्म चेकजाँच गर्ने गरेका छन् । यहाँ अहिले एन्टीजेन परीक्षण गर्ने र रिपोर्ट नआउँदासम्म सामान्य टेन्टमा राख्ने गरिएको छ ।

एन्टीजेनको रिपोर्ट १५ देखि २० मिनेटभित्र आउने गरेको छ ।  नेपाल र भारत बाहेक अन्य मुलुकका नागरिकहरूलाई भने अध्यागमन कार्यालयले व्यवस्था गरेको ठाउँमा होल्ड गरेर राखिन्छ ।

नाकामा क्षयरोगदेखि एचआइभी परीक्षणसम्मको सुविधा

सीमा नाकामा रहेको हेल्थ डेस्कमा कोभिड परीक्षणका अतिरिक्त शंका लागेका व्यक्तिमा क्षयरोग र एचआइभीसम्मको परीक्षण हुने गर्दछ । जनस्वास्थ्य प्रमुख ढकालका अनुसार गम्भीर लक्षण देखिएका वा शंका लागेका व्यक्तिलाई क्षयरोग तथा एचआइभी परीक्षणसम्मको सुविधा नाकामा छ । तर धेरैलाई कोभिडबाहेक अन्य परीक्षण हुन्छ भन्ने पत्तो नभएको उनले बताए ।

‘स्वास्थ्यकर्मीहरूले चेकजाँच गर्दा शंका लागेका अन्य रोगबारे पनि परीक्षण गर्ने गरेका छौं,’ उनले भने । नाकामा अहिले सिद्धार्थनगर नगरपालिकाका ८ जना स्वास्थ्यकर्मी, प्रदेश सरकारबाट २ र अन्य विभिन्न स्वास्थ्य सम्बन्धी काम गर्ने परियोजनाबाट गरी कुल २० जनाको समूह खटिएको स्वास्थ्यकर्मी लोकेन्द्र कडेलले रातोपाटीलाई बताए । उनका अनुसार कोभिड दैनिक ३ सयभन्दा धेरै परीक्षण भएको छ भने क्षयरोग, मलेरिया, एचआइभी जस्ता रोगको परीक्षण पनि २० भन्दा माथि नै हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप