आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिन्छ : मन्त्री  श्रेष्ठ

बुधबार, ०४ साउन २०७९, १८ : ०४
बुधबार, ०४ साउन २०७९

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुरको विमानस्थल विस्तारको लागि एक्सनमा उत्रिने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर विमानस्थल विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।  मन्त्री श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको कामले अब गति लिने समेत बताए ।

भरतपुर विमानस्थल विस्तार नभएर भरतपुरमा १८ सिटे विमान मात्रै आवतजावत गर्ने अवस्थामा आइसकेको मन्त्री श्रेष्ठले उल्लेख गरे ।  ०७५ सालपछि गठन भएको मन्त्रीमण्डलमा म ७ औँ मन्त्री हुँ’ उनले भने, ‘सातलाई लक्की सेभेन पनि भन्ने चलन छ । महानगर प्रमुखले हान्नु पर्छ भन्नुभयो । म फेरि खेलकुद कै मान्छे हुँ । संयोग मिलेको छ । भरतपुर विमानस्थल अब पक्का विस्तार हुन्छ ।’

पर्यटनमन्त्री श्रेष्ठले विमानस्थल विस्तारबारे मन्त्रालयले उच्च प्राथामिकतामा राखेकाले यसका लागि बजेट विनियोजन गरी कामलाई अगाडि बढाउने उनको भनाई छ । भरतपुर महानगरपालिका देशको मध्य भागमा भएकाले पनि कम्तीमा पनि १२ देखि १६ घण्टासम्म ७२ सिट क्षमताको ठूलो जहाज ल्याण्ड गराउन मिल्ने गरी विमानस्थल विस्तारको आवश्यकता औंल्याए ।

‘महानगरले भरतपुर भ्रमण वर्ष २०८० घोषणा गरी सकेको छ’ उनले भने‘, यसका लागि पनि विमानस्थल रात्रीकालिन उडान पनि गर्नुपर्यो । विमानस्थल विस्तारको काम अगाडि बढाउन कुनै बाधा पनि छैन । चितवनवासी यसमा एकजुट हुनुभएकै छ । विस्तारको काममा नेपाली सेनाको पनि पूर्ण साथ छ । कामले अब सार्थकता पाउँछ ।’

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विमानस्थल चितवन जिल्लाका लागि मात्र नभई अन्य छिमेकी जिल्लाका बासिन्दाको लागि पनि आवश्यक रहेको बताइन् । मेयर दाहालले भरतपुर विमानस्थलको विस्तार गर्ने काममा पर्यटनमन्त्री श्रेष्ठलाई गोल हान्न आग्रह गरिन् ।

विमानस्थल विस्तार गर्न मापदण्ड विपरितका संरचनालाई हटाउन महानगरपालिका तयार रहेको बताउँदै मेयर दाहालले चौविसकोठीबाट पश्चिम जाने बाटो विमानस्थलको तल्लो भाग, अण्डर ग्राउण्ड वा नहर हुँदै लान सकिने विचार व्यक्त गरिन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले भरतपुर विमानस्थलको विस्तारमा ढिलाई नहुने स्पष्ट पारे । भरतपुर विमानस्थलको दक्षिणतर्फ घरहरु मापदण्ड विपरित निर्माण भएपछि विमान अवतरणमा जोखिम हुँदै आएको छ । देशका धेरै जसो विमानस्थलमा रात्रिकालीन उडान हुँदै आएपनि भरतपुरमा भने धावन मार्गको लम्बाइ अपुग भएकाले उडान गर्न सकिएको छैन ।

अहिले भरतपुर विमानस्थलको धावन मार्गको लम्वाई १२ सय मिटर छ । यसलाई थप १ हजार मिटर बढाएर ७२ सिटे विमान र रात्रिकालीन उडान भर्न सकिन्छ । यसका लागि उत्तरतर्फको नेपाली सेनाको घोडा प्रजनन केन्द्र रहेको करिब ३ विगाह जग्गा समेटेर धावन मार्ग बढाएर विमानस्थलको स्तरउन्नति गर्ने गरी महानगरपालिकाले पहल गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप