सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

संघ र प्रदेशमा बहुमत ल्याउने काँग्रेसको लक्ष्य हो : उपसभापति खड्का

बुधबार, ०४ साउन २०७९, ०८ : ००
बुधबार, ०४ साउन २०७९

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन् । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा हेटौंडामा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए ।

उनले काँग्रेसको बहुमतको लागि कार्यकर्ता र क्रियाशील सदस्यहरुले आम मतदाताहरूलाई वर्तमान सत्ता गठबन्धनको मर्म बुझाउन जरुरी रहेको बताए । ‘आगामी निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने लक्ष्य बोकेर अघि बढ्नुपर्छ । काँग्रेसको मूलभूत एजेण्डा पूरा गर्न पनि बहुमतको लक्ष्य पुरा गर्नुपर्छ ।’ उनले भने, ‘काँग्रेसका कार्यकर्ता र क्रियाशील सदस्यहरुले आम मतदातालाई वर्तमान सत्ता गठबन्धनको मर्म बुझाउन सक्नुपर्छ । काँग्रेस वा शेरबहादुर देउवाले चाहेर मात्र गठबन्धन भएको होइन । यो राष्ट्रिय आवश्यकता हो ।’

दुइ तिहाई बहुमत पाएको नेकपाको जनविरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्यको लागि गठबन्धन भएको उनले बताए । उनले १२ बुँदे शान्ति सम्झौता पूरा गर्नका लागि काँग्रेसले माओवादी केन्द्रलाई साथमा लिएर सरकारको नेतृत्व गरिरहेको बताए ।

‘अधिनायकवाद, संविधान र लोकतन्त्र विरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो । १२ बुँदे शान्ति सम्झौता पूरा गर्न हामी माओवादीलाई साथमा लिएर अगाडि बढिरहेका छौ ।’ उनले काँग्रेसको बहुमतको लागि निर्वाचित जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा पार्टीलाई सधाउ पुग्ने गरी विकास निर्माणका काम गर्न पनि आग्रह गरे ।

निर्वाचनमा थप मेहनत आवश्यक छ : डिना

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसकी सह– महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले आगामी निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई सफल बनाउन स्थानीय तहमा प्राप्त नतिजाको आधारमा थप मिहिनेत गरेर अघि बढ्नुपर्ने बताइन् ।
‘आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अझै राम्रो गर्न आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने आवश्यकता छ । हामीले स्थानीय तहको निर्वाचनको नतिजालाई आधार मानेर थप सक्रिय रुपमा काम गर्नुपर्छ ।’ उनले भनिन् ।

क्रियाशिलबाटै उम्मेदवार छनौट गरौं : नेता बानियाँ

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनौट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । बानियाँले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घात अन्तर्घात बढेको भन्दै क्रियाशीलबाटै उम्मेदवार छनौट जरुरी रहेको बताए ।

‘पार्टीभित्र आफू केन्द्रीत राजनीति हावी भइरहेको छ । आफूले टिकट पाए ठिक नत्र वेठिक भन्ने प्रवृत्ति बढिरहेको छ । त्यसकारण क्रियाशीलबाट उम्मेदवार छानौँ । विद्युतीय मतदानको व्यवस्था गरौं ।’, उनले भने ।

सभापति बानियाँले मंसिरको पहिलो हप्ता हुने निर्वाचनमा संघ र प्रदेश दुवै तहमा काँग्रेसको बहुमत ल्याउने गरी जित्ने उम्मेदवारलाई टिकट वितरण गर्न जरुरी रहेको औंल्याए । ‘पार्टीभित्र बढ्दो अनुशासन हिनतालाई तोड्न जरुरी छ ।’, उनले भने ।

उनले स्थानीय तहमा मकवानपुर काँग्रेस पहिलो पार्टी भएपनि जनधार अझै बलियो बनाउन जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप