आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट एक वर्षमा १५६ वटा मुद्दा फर्स्यौट

बुधबार, ०४ साउन २०७९, १७ : १४
बुधबार, ०४ साउन २०७९

जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक वर्षमा विभिन्न प्रकृतिका १५६ वटा मुद्दा फर्स्यौट गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला प्रशासन कार्यालयमा विभिन्न प्रकृतिका १४९ मुद्दा दर्ता भएका थिए भने अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३६ मुद्दा थिए ।

कुल १८५ वटा मुद्दामध्ये १५६ वटा फर्स्यौट भएको सो कार्यालयले जनाएको छ । २९ वटा मुद्दा भने चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ । कार्यालयमा कालो बजारी, अभद्र व्यवहार, जुवातास तथा सार्वजनिक अपराधका घटना लगायतका विषय सम्बन्धी मुद्दा दर्ता भएका थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आर्थिक वर्ष २०७८/७९ मा ५३ नयाँ संस्था दर्ता भएका छन् भने ३०७ संस्था नवीकरण भएका छन् । कार्यालयले २ वटा पत्रपत्रिका दर्ता गरी सञ्चालनको अनुमति दिएको छ ।

१८ हजार ५६३ नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा १८ हजार ५६३ जनालाई नयाँ नागरिकता वितरण गरेको छ । जसमध्ये ९ हजार ८३३ जना महिला र ८ हजार ७०८ जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

उनका अनुसार प्रशासन कार्यलयले २२ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको छ भने १० हजार २१६ जनालाई प्रतिलिपि नागरिकता वितरण गरेको छ । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार ९१८ जनालाई नागरिकता वितरण गरेको थियो । जसमा ९ जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरिएको थियो भने ५ हजार १४९ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको वार्षिक विवरणमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ५३२ राहदानी वितरण गरिएको उनले बताए । विभागबाट प्रिन्ट भएर आएका ४१५ वटा राहदानी भने वितरण हुन बाँकी रहेको उनको भनाइ छ । कार्यालयले विभागबाट बनाउने गरी ६ हजार ९४७ राहदानीमा साधारण सिफारिस गरेको छ भने ४ हजार १३८ द्रुत सिफारिस गरेको छ ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ५२४ राहदानी वितरण गरेको थियो, जसमा ८५० वितरण हुन बाँकी रहेका राहदानी थिए । सो आर्थिक वर्षमा ४ हजार ३७४ राहदानीमा कार्यालयले साधारण सिफारिस गरेको थियो भने २ हजार ९५१ द्रुत सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप