शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ भाइबीच छलफलको के छ राजनीतिक अर्थ ?

बुधबार, ०४ साउन २०७९, १६ : ५२
बुधबार, ०४ साउन २०७९

काठमाडौं । राजनीतिक दलका नेताहरुबीच भेटघाट तथा छलफल हुनु नौलो विषय होइन । तर, २०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि विघटन भइसकेको दल तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरुबीच पटकपटक भइरहेको भेटको भने विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ ।

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यबीच गत असार १९ गते पहिलोपटक छलफल भएको थियो । तत्कालीन नेकपाका अध्यक्ष तथा हाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । 

उनीहरुबीच गत मंगलबार बेलुका फेरि सिंहदरबारमा छलफल भयो । भेटघाटको कडीका रुपमा वामदेव गौतम सक्रिय छन् । उनले तत्कालीन नेकपालाई जोड्ने भन्दै एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छुट्टाछुट्टै भेटेर आग्रहसमेत गरेका थिए । तत्कालीन नेकपा जोड्ने विषयमा ओली अनिच्छुक भएपछि प्रचण्ड, माधव सहित यी पाँच जनाबीच शृङ्खलाबद्ध छलफल चल्दै आएको छ ।

यी पाँच भाइको बैठकलाई सबैभन्दा कठोर टिप्पणी एमालेले गरेको छ । नेपाली काँग्रेससँग प्रदेश र संघको चुनावमा बार्गेनिङ गर्न उनीहरु छलफलमा बसेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘तत्कालीन नेकपा बहुमत सचिवालय सदस्यको बैठक बसेको फोटो देखाएर काँग्रेससँग बढीभन्दा बढी सीट लिने प्रचण्ड–माधवको बार्गेनिङ कार्ड हो । वामदेवजीलाई कहीँ न कहीँबाट एक सीट जितेर आउनु छ,’ रातोपाटीसँग भट्टराईले भने, ‘संसदमा कसैको बहुमत नहोस्, त्यसपछि खेल्न पाइन्छ भन्ने प्रचण्डको योजना छ ।’

२०७४ सालको चुनावमा एमालेले माओवादीसँग तालमेल गरेको थियो । चुनावपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नै भयो । तर पार्टी एकता लामो समय टिक्न नसकेका कारण अब फेरि त्यही गल्ती आफूहरुले नगर्ने भट्टराईको भनाइ छ ।

‘आगामी चुनावमा राष्ट्रियस्तरमा कुनै शक्तिसँग हामी तालमेल गर्दैनौँ । स्थानीयस्तरमा कुनै पार्टीसँग तालमेल गर्ने अवस्था भए ढोका बन्द गर्दैनौँ,’ उनले भने, ‘तर, हामी एक्लै चुनाव लड्ने सामर्थ्य राख्छौँ ।’

तत्कालीन नेकपाका पाँच सचिवालय सदस्यको बैठकमा समाजवादी केन्द्र बनाउनेबारे छलफल भए पनि त्यो सार्थक नहुने उनले ठोकुवा गरे । समाजवादी केन्द्रको नाममा सीटको बार्गेनिङ गर्नेबाहेक केही हुन नसक्ने भट्टराईको भनाइ छ ।

यस्तै त्रिभुवन विश्वविद्यालयका राजनीतिकशास्त्र विभाग प्रमुख रामचन्द्र तिवारीले काँग्रेस वा एमालेसँग चुनावी तालमेलका लागि बार्गेनिङ गर्न पाँच नेताबीच छलफल भइरहेको टिप्पणी गरे । ‘अहिले तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यहरुको बैठक भनेर उहाँहरु छलफलमा बसिरहनु भएको छ । समाजवादी केन्द्र बनाउने कुरा पनि आइरहेको छ,’ तिवारीले भने, ‘अहिले नै समाजवादी केन्द्र बन्ने स्थिति देखिँदैन । ती सबैको एउटै पार्टी बन्ने अवस्था पनि देखिँदैन । बरु तेस्रो ध्रुवका रुपमा विकास हुन सक्छ ।’

तर, माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले संविधानमा निर्दिष्ट गरेको समाजवादमा पुग्न यस प्रकारको बैठकमा बहस र छलफल हुने गरेको बताए । ‘समाजवादी यात्रामा जाने उद्देश्यले हिजाका दिनमा पार्टी एकता गरेका थियौँ । केपीजीले तत्कालीन नेकपालाई तहसनहस पार्नुभयो । त्यसपछि यो व्यवस्था नै रहन्छ कि रहँदैन भन्ने अवस्थामा पु¥याउनुभयो,’ गजुरेलले भने, ‘अब फेरि असल कम्युनिस्ट क्रान्तिकारीहरुलाई एक ठाउँमा जोडेर समाजवादको यात्रामा जाने भन्ने हो । त्यसको प्रारम्भिक चरणको बहस र छलफल हो ।’

यो बैठकलाई काँग्रेससँग ‘सीट बार्गेनिङ टुल’को रुपमा लिन नहुने गजुरेलले बताए । असल नियतका साथ कम्युनिस्ट क्रान्तिकारीहरुलाई जोड्ने प्रयासलाई दोषारोपण गर्नु गलत भएको उनको भनाइ छ ।

यसरी नै जोडिएर शक्ति ठूलो हुँदै गएमा कम्युनिस्ट क्रान्तिकारीको ठुलो शक्ति बन्न सक्ने गजुरेल बताउँछन् ।

स्मरणीय छ, तत्कालीन नेकपामा ओलीका स्वेच्छारिता रोक्ने उद्देश्यले सचिवालय सदस्यहरुमध्ये यिनै पाँच भाइ यसरी नै छलफल गर्थे । त्यतिबेला ९ सदस्यीय सचिवालयमा ओली सहित ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा एकातिर हुन्थे भने प्रचण्डसहित माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ अर्कोतर्फ एक ढिक्का हुन्थे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वीरेन्द्र ओली
वीरेन्द्र ओली
लेखकबाट थप