सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

१ वर्षीया बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने प्रयास !

बुधबार, ०४ साउन २०७९, १६ : ४८
बुधबार, ०४ साउन २०७९

विराटनगरबाट एक वर्षीया बालिकालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । 

पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह रहेका छन् । रविन्द्रकुमार साह अपहरणको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।  दुई जनाको मिलेमतोमा बुढीगंगा–१ बस्ने दिपेन यादवकी १ वर्षकी छोरीलाई विराटनगर १२ रोड शेष चोकछेउबाट गत साउन २ गते बिहान ९ बजे अपहरण गरेका थिए । 

२ वर्षदेखि चिनजानमा रहेकी अनुले योजनाबद्ध रुपमा दिपेन यादवलाई बच्चा हेर्न मन लागेको भन्दै बोलाएकी थिइन् । यादवले पनि आफ्नो १ वर्षे बालिकालाई कारमा लिएर अनुलाई बच्चा देखाउन रोडशेष ल्याएका थिए । त्यही क्रममा चिया खाने निउ बनाएर अनुले दिपेनको आँखा छलि बच्ला लिएर भागेकी थिइन् । अनुसन्धानका क्रममा अनुले बच्चा लिएर आउँदा रविन्द्र साह मोटरसाइकल लिएर स्टेण्डबाइ बसेको खुलेको प्रहरीले जनाएको छ । 

त्यसपछि रविन्द्र साहको प्र.१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकल चढी दुहबी इनरुवा, सप्तरीको राजविराज हुँदै कुनौली पुर्याई, उक्त स्थानबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई रविन्द कुमार साह सोही दिन विराटनगर फर्केका थिए । 

योजनाकार रविन्द्रले अनु साहको मोबाइलमार्फत पीडित परिवारलाई फेसबुकमार्फत बालिका हराएको कुरा पोष्ट गरेको कुरा हटाउन धम्की समेत दिएका थिए । भारतको दरभंगामा अनु साहले बच्चालाई लिएर दुई दिनदेखि बस्दै आएकी थिइन् । खोजी गर्ने क्रममा आज बिहान ८ बजे नेपाल भारतको बोर्डर एरियाबाट अपहरित बालिकाको सकुशल उद्धार गरिएको र अनुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । 

यस्तै घटनाका योजनाकार रविन्द्र साहलाई भने बुढीगंगा १ स्थित निजले संचालन गरेको श्रीराम टेडर्सबाटै प्रहरीले पक्राउ गरेको थियो । उनीहरु दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । फौजदारी संहिता २०७४ अनुसार निज प्रतिवादीहरुलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिमाना हुने व्यवस्था छ । 

प्रहरीले उनीहरुको साथबाट ५ थान मोबाइल, बेबी फिडिङको खाली प्याकेट १ थान, मोटरसाइकल १ थानलगायत बरामद गरेको छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप