बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौंडा क्याम्पसमा छात्राहरुमाथि दुर्व्यवहार प्रकरण : दुई कार्यालय सहयोगी निलम्बित

बुधबार, ०४ साउन २०७९, १५ : ३१
बुधबार, ०४ साउन २०७९

हेटौंडा क्याम्पसले परीक्षामा सहभागी हुन गएका छात्राहरुलाई दुर्व्यवहार गर्ने दुईजना कार्यालय सहयोगीलाई त्रिभूवन विश्वविद्यालयका कुनै पनि परीक्षाहरूमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको छ । बुधबार बसेको क्याम्पस प्रशासन, विद्यार्थी संगठन र राजनीतिक दलहरूको संयुक्त बैठकले घटनामा संलग्न भएका उनीहरुलाई निलम्बन गरेको हो ।

मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट बिएड दोस्रो वर्षको परीक्षामा सहभागी हुन हेटौंडा क्याम्पस गएका २ जना छात्राहरुलाई चिट ल्याएको भन्दै २ जना कार्यालय सहयोगी कर्मचारीले दुव्र्यवहार गरेका थिए । ती कर्मचारीले परीक्षा दिन पुगेका २ छात्राको भित्री बस्त्र समेत खोल्न लगाएर जाँच गर्ने गरेको भन्दै विद्यार्थीहरुले बुधबार प्रदर्शन गरेका थिए । उनीहरुले हेटौंडा क्याम्पस तोडफोड समेत गरेका थिए ।

पीडित विद्यार्थीले आफु महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएर अभद्र व्यवहार गरेको बताइएको छ । आक्रोशित विद्यार्थीहरुले ढुङ्गा प्रहार गरेर हेटौंडा क्याम्पसको भवनको सिसाहरु फुटाएका थिए । विद्यार्थीले प्रहार गरेको ढुङ्गाले लागेर दुईजना सुरक्षाकर्मीसमेत घाइते भएका छन् भने प्रदर्शनमा संलग्न ४ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हेटौँडा क्याम्पसमा बसेको सर्वपक्षीय बैठकको ४ बुँदे सहमतिअनुसार पक्राउ परेका ४ जना विद्यार्थीहरुलाई प्रहरीले छाडेपछि प्रदर्शन रोकिएको थियो । सहमतिअनुसार हेटौंडा क्याम्पसले अन्य परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने तथा परीक्षा दिन आएका विद्यार्थीहरुलाई विभिन्न समयमा अभद्र व्यवहार भएको भन्ने गुनासोको सबालमा ३ दिनभित्र प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको सिफारिस गर्न छानविन समिति निर्माण गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप