सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम नयाँ पार्टी गठनमा जुट्दा जसपाको तेस्रो धार अलमलमा

बुधबार, ०४ साउन २०७९, १४ : ५१
बुधबार, ०४ साउन २०७९

जनता समाजवादी पार्टी नेपालबाट कारवाहीमा परेका डा.बाबुराम भट्टराई नयाँ पार्टी गठन गर्ने तयारीमा रहेकै बेला सो पार्टीको तेस्रो धार भने अलमलमा देखिएको छ । जसपामा आन्तरिक विवाद उत्कर्षमा पुगेर अध्यक्ष उपेन्द्र यादव र तत्कालीन संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अलगअलग बैठक आयोजना गर्दा तेस्रो धार तटस्थ रहेको थियो ।

जसपा अध्यक्ष यादव पक्षको बैठक मधेस प्रदेशको वीरगञ्जमा बस्यो भने संघीय परिषद् अध्यक्ष डा. भट्टराई पक्षको बैठक काठमाडौंको जडीबुटीमा आयोजना भएको थियो । दुवै पक्षले आफ्नो पक्षमा बहुमत पुर्‍याउन नेता तथा कार्यकर्ता तानातान गरेका थिए । अन्ततः अध्यक्ष उपेन्द्र यादवको पक्षमा बहुमत पुग्यो । ४९९ सदस्यीय केन्द्रीय समितिमा यादवको पक्षमा ३०७ जनाले हस्ताक्षर गरेका छन् । 

उपेन्द्र यादव पक्षका २० जना कार्यकारिणी समितिका सदस्य उपस्थित थिए भने अध्यक्ष भट्टराईको पक्षमा बाबुराम भट्टराई, हिसिला यमी, महेन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, प्रशान्त सिंह र रमेश यादव गरी सात जनामात्र थिए ।

पाँच जना कार्यकारिणी सदस्यहरु हेमराज राई, भक्तबहादुर शाह, रामनरेश राय यादव, दुर्गा सोव, राजकिशोर यादव र अमृता अग्रहरी तटस्थ बसे । उनीहरुले पार्टी विभाजन नहोस्, बरु जसपामै रहेर संघर्ष गरौं भन्दै दुवै पक्षलाई बैठक स्थगित गरी संवादबाट विवाद टुङ्ग्याउन आग्रह गरेका थिए । तर दुवै पक्षले बैठक स्थगित गर्न मानेनन् ।

तटस्थ बसेकामध्ये दुर्गा सोवलाई जसपाले कारवाही गरेको छ । जसपामा तेस्रो धारको रुपमा देखिएका उनीहरुले कुन पक्षमा जाने भनेर अहिलेसम्म निर्णय गरेका छैनन् । तेस्रो धारको नेतृत्व गर्दै आएका रामनरेश राय यादवले भने, ‘साथीहरुसँग छलफल जारी छ, चाँडै कुनै निष्कर्षमा पुग्छौं ।’

केही दिनदेखि आफू अस्वस्थ्य रहेका कारण साथीहरुसँग छलफल गर्न नपाएको बताउँदै उनले पार्टी विभाजन नहोस् भन्ने प्रयासका लागि आफूहरु तटस्थ बसेको तर शीर्ष नेताहरुले आफूहरुको कुरा नमानेपछि अन्ततः पार्टी विभाजनको अवस्थामा पुगेको जनाए ।

पार्टीले कारवाही नगरेका कारण हालसम्म आफूहरु जसपामा नै रहेको बताउँदै उनले अझै पनि दुवै पक्षलाई मिलाउने प्रयास आफूहरुको रहेको प्रस्ट पारे । आफू तटस्थ बसेका कारण उपेन्द्र यादव र बाबुराम दुवै पक्षले सम्पर्क गरिरहेको उनको भनाइ छ । उनले दुवै पक्षलाई आफूले मिल्नका लागि सल्लाह दिइरहेको पनि सुनाए । उनीहरु नमिले अन्तिममा आफूहरुले कुनै निर्णय लिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप