बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टी–ट्वान्टीमा अब्बल सन्दीप एक दिवसीयमा कमजोर

यस्तो छ सन्दीपको कप्तानीमा नेपालको प्रदर्शन
बुधबार, ०४ साउन २०७९, १४ : ३२
बुधबार, ०४ साउन २०७९

नेपाली क्रिकेटमा सन्दीप लामिछाने नयाँ पुस्ताका खेलाडी हुन् । उमेर समूहका क्रिकेटदेखि लिएर सिनियर टोलीमा सन्दीपको अहिलेसम्म खेलाडीको रूपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । 

खेलाडीको रूपमा सफल भएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले कप्तानीको जिम्मेवारी दिएको छ । कप्तानको जिम्मेवारीमा भने सन्दीप जम्न भने लाग्न सकेका छैनन् । उसो त सन्दीपले लामो समयको अनुभव पछि कप्तानी सम्हालेका पनि होइनन् ।

क्यान र पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीको विवाद हुँदा क्यानले उनीहरूलाई कारबाहीमा राख्यो । खेलाडी कारबाहीमा पर्दा युवा तथा खेलकुद मन्त्रालयबाट दबाब आएपछि क्यानले खेलाडीलाई कारबाही गर्ने निर्णयबाट पछि हट्यो । तर खेलाडीहरू पुनः राष्ट्रिय टोलीमा आए पनि क्यानले सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिइसकेको थियो । 

टी–ट्वान्टी क्रिकेटमा राम्रो अनुभव भएका सन्दीपलाई नेपाली क्रिकेटको सबै खाले प्रतियोगिताका लागि कप्तानीको जिम्मेवारी दिइयो । विदेशी मुलुकहरूमा जस्तो नेपाली क्रिकेटमा फरक फर्म्याटमा फरक कप्तान बनाउने चलन छैन । 

राष्ट्रिय टोलीका कप्तान लेख क्षेत्रीदेखि लिएर विनोद दास, पारस खड्का हुँदै ज्ञानेन्द्र मल्ल र अहिले सन्दीप लामिछानेले सबै खेलहरूमा कप्तानी गर्दछन् । सन्दीपको कप्तानी पारी टी–ट्वान्टीमा सफल देखिए पनि एक दिवसीय क्रिकेटमा भने असफल देखिएको छ ।

तर नेपाली क्रिकेटमा देखिएको ब्याटिङको समस्या अहिले मात्र देखिएको भने होइन । याे लामो समयदेखिको भोग्दै आएको समस्या हो । मैदानमा कप्तानको भूमिका बलिङ पक्षमा धेरै देखिन्छ । तर ब्याटिङको हिसाबले पनि कप्तानको भूमिका रहन्छ ।

टिमको जित र हारको विषयमा कप्तान जति जिम्मेवार प्रशिक्षक पनि हो । नेपाली क्रिकेटलाई टी–ट्वान्टी विश्वकप खेलाएका पुबुदु दशानायकेले अहिले नेपाली क्रिकेटको प्रशिक्षकको जिम्मेवारी पाएका छन् । पुबुदुको पहिलो इनिङ्स जति सफल थियो । अहिले त्यो रूपमा सफल देखिएको छैन । 

नेपाली क्रिकेटमा सन्दीपले आफ्नो बागडोर आईसीसी टी–ट्वान्टी सिरिज र टी–ट्वान्टी विश्वकपमा लिए । त्योसँग आईसीसी विश्वकप लिगमा टूमा पनि सन्दीपको नेतृत्व देखियो । सन्दीपले आफ्नो कप्तानीमा नेपाललाई विश्वकप खेलाउने मौका थियो । त्यो मौका पनि सन्दीपले गुमाए । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा सोचे अनुसार खेल्न सकेन । 

गत फेब्रुअरी १८ देखि २४ चलेको टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट सेमिफाइनल खेलमा नेपाल कमजोर देखियो । 

सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भयो । सेमिफाइनल खेलमा पराजित भएको नेपाल अस्ट्रेलियामा हुने आईसीसी टी–ट्वान्टी विश्वकप खेल्नबाट चुक्यो । 

टी–ट्वान्टी विश्वकप खेलाउन पुबुदुलाई पनि मौका थियो । पुबुदु पनि उक्त मौकाबाट चुके । 

त्यस लगत्तै सन्दीपले नेपालका लागि एक दिवसीय क्रिकेटमा पनि कप्तानी गर्ने मौका पाए । उनको कप्तानीमा नेपालले आईसीसी विश्वकप लिग टू खेल्न गयो । लिग टूमा नेपाललाई उत्कृष्ट प्रदर्शन गराउने जिम्मेवारी सन्दीपको पनि थियो । उनी त्यसमा पनि सफल भएनन् । 

पछिल्लो समय भएको स्कटल्यान्ड टुरमा नेपालले गरेको प्रदर्शनले नेपाललाई एक दिवसीय मान्यता जोगाउन मुस्किल गर्नेछ । लिग टूको शीर्ष तीन टोलीले सन् २०२३ को एक दिवसीय विश्वकप खेल्न पाउनेछन् भने चौथो र पाँचौँ स्थानमा रहका टोलीको एक दिवसीय मान्यता थप चार वर्षका लागि जोगिनेछ । 

तर, पछिल्लो समयको प्रदर्शन हेर्दा सन्दीपको कप्तानीमा नेपाल कमजोर बनेको छ । समस्या सन्दीपको कप्तानीमा थोरै र नेपाली ब्याटरहरुको धेरै छ । खराब सट खेल्ने देखि लिएर गैर जिम्मेवारीपूर्ण तरिकाले ब्याटरहरु प्रस्तुत हुँदा कमजोर प्रदर्शन भयो । 

सन्दीपको कप्तानीमा नेपालको नतिजा 

कलन्दर सिरिज: ३ टी–ट्वान्टी खेल – १ जित, २ हार: 

सन्दीपले आईसीसीको मान्यता प्राप्त पहिलो पटक ओमान, आयरल्यान्ड र यूएईसँग चार देशीय टी–ट्वान्टी सिरिजमा कप्तानी गरे । सन् २०२२ फेब्रुअरी ११ देखि १४ सम्म चलेको उक्त सिरिजको तीन खेलमा नेपालले एक खेलमा जित निकाल्यो भने दुई खेलमा पराजित भयो । 

विश्वकप टी–ट्वान्टी ग्लोबल छनोट: ५ टी–ट्वान्टी – ४ जित, १ पराजित: 

त्यसपछि नेपालले सन्दीपको कप्तानीमा टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट खेल्यो । फेब्रुअरी १८ देखि २४ सम्म चलेको ग्लोबल छनोटमा नेपालले समूह चरणमा ओमान, क्यानडा र फिलिपिन्ससँग खेलेको थियो । सेमिफाइनलमा यूएईसँग र अन्तिम प्लेअफमा ओमानसँग खेलेको थियो ।

समूह चरणमा नेपालले तीन खेलमा तीनै खेलमा जित निकाल्यो । सेमिफाइनलको एक खेलमा यूएईसँग पराजित भएको नेपालले प्लेअफको अन्तिम खेलमा ओमानमाथि जित निकाल्यो । 

विश्वकप लिग टू–यूएई, पीएनजी र नेपाल: ४ एक दिवसीय – २ जित, २ हार: 

त्यसपछि सन्दीपले एक दिवसीय क्रिकेटमा कप्तानी सुरु गरे । आईसीसी विश्वकप लिग टू अन्तर्गत उनले नेपाल, पपुवा न्युगिनि, युएईविरुद्धको सिरिजमा एक दिवसीय क्रिकेटमा कप्तानको रूपमा डेब्यू गरे । 

सिरिज अन्तर्गत नेपाले पहिले खेलमा पीएनजीमाथि सहज जित निकाल्यो । युएईमा नेपालले घरेलु टोली युएई र पीएनजीसँग समान २–२ खेल खेल्यो । मार्च १५ देखि २२ सम्म चलेको उक्त सिरिजमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको भए पनि युएईविरुद्धको दुवै खेल हार्‍यो । 

पीएनजी टुर नेपाल: २ एक दिवसीय – २ हार: 

त्यसपछि नेपालले घरेलु मैदानमा पीएनजीविरुद्ध दुई खेलको एक दिवसीय सिरिज खेल्यो । मार्च २५ र २६ भएको दुई एक दिवसीय खेलमा नेपाल दुवै खेलमा पराजित भयो । 

त्रिदेशीय सिरिज – नेपाल, पीएनजी र मलेसिया: ५ टी–ट्वान्टी – ५ जित: 

त्यसपछि नेपालले सन्दीपको कप्तानीमा घरेलु मैदानमा मलेसिया र पीएनजीसँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्यो । जसमा नेपालले पाँच खेल मध्य पाँचै खेलमा जित निकाल्यो । लिग चरणका चार खेलमा जित निकालेको नेपालले फाइनल खेलमा पनि जित निकाल्यो । 

जसमा दुई खेलमा मलेसियालाई हरायो भने तीन खेलमा पीएनजीलाई हराउन सफल भयो । 

लिग टू – नेपाल, अमेरिका र ओमान: ४ एक दिवसीय – १ जित, २ हार र १ बराबरी: 

त्यसपछि नेपालले सन्दीपको कप्तानीमा लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकाको भ्रमण गर्‍यो । अमेरिकामा नेपालले चार खेल खेल्दा जम्मा एक खेलमा  जित निकाल्यो भने एक खेल बराबरीमा सकियो । 

जुन ८ देखि १५ सम्म नेपाल, अमेरिका र ओमनबीच सिरिज भएको थियो । नेपालले ओमान र अमेरिकासँगको एक–एक खेलमा पराजित भयो । त्यहाँ एक खेलमा ओमानलाई पराजित गर्‍यो भने अमेरिकासँगको खेल ‘टाई’ भयो । जसमा नेपालले अङ्क बाडेको थियो । 

लिग टू – स्कटल्यान्ड, नामिबिया र नेपाल: ४ एक दिवसीय – १ जित, ३ हार: 

सन्दीपकै कप्तानीमा नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गत भर्खरै स्कटल्यान्डको भ्रमण सकायो । त्यो त्रिकोणात्मक सिरिजमा पनि सन्दीपको कप्तानी सफल देखिएन । 

नेपालले सिरिजका चार खेल मध्य एक खेलमा जित निकाल्यो भने बाँकी तीन खेलमा पराजित भयो । यस सिरिजमा नेपालले नामिबियासँगको दुवै खेल हार्दा स्कटल्यान्डसँग खेल खेलमा पराजित हुँदा एक खेलमा जित निकाल्यो । 

नेपालले लिग टू अन्तर्गत २० खेलबाट १७ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको छैटौं स्थानमा छ । अङ्क तालिकामा सबै ३६ खेल खेलेको ओमान ४४ अंकसहित शीर्ष छ । त्यस्तै दोस्रो स्थानमा रहेको स्कटल्यान्डले २४ खेलबाट ३४ अङ्क जोडेको छ । तेस्रो स्थानको युएईको २२ खेलबाट २६ अङ्क छ । चौथो स्थानमा रहेको अमेरिकाले २४ खेलबाट २३ अङ्क जोड्दा पाँचौँ स्थानमा रहेको नामिबियाले १८ खेलबाट १८ जोडेको छ । 

नेपालले अब १६ खेल खेल्न बाँकी । नेपाललाई अब विश्वकप खेल्ने भन्दा धेरै एक दिवसीय मान्यता जोगाउने कुरामा आफ्नो महत्व राखेको छ । 

सन्दीपको कप्तानीमा नेपालको आईसीसीले मान्यता नदिएका खेलहरू पनि खेलेको छ । जसमा नेपालको मिश्रित नतिजा छ । जसमा अमेरिकामा रहेको नेपाली क्लबसँगको खेल । क्यानडासँगको अभ्यास खेलसँगै क्यानडामा रहेको नेपाली क्लबसँगको खेल र जिम्बावे एसँगको खेल हुन् । 

१३ टी–ट्वान्टी – १० जित ३ हार 

१४ एक दिवसीय – ४ जित, ९ हार र एक बराबरी । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप