रनिल विक्रमासिङ्घे श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित, १३४ सांसदको समर्थन
श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् ।
कुल २२३ सांसदले मतदान गरेका छन् भने २ सांसद मतदानमा अनुपस्थित रहे । २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ ।
राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गर्दै श्रीलंकालाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।
यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्ता गर्ने बताए ।
गोटाबाया राजापाक्षेले श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।
रनिल विक्रमासिङ्घेको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ । उनले गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन् ।
जुलाई १३ मा श्रीलंकाका राष्ट्रपति गोटाबाया देश छाडेर माल्दिभ्सपछि सिंगापुर गएका थिए । त्यसपछि राष्ट्रपतिको जिम्मेवारी रनिल विक्रमासिङ्घेले पाए । अहिले संसदले पनि यसलाई अनुमोदन गरेको छ ।
यसअघि गोटाबायाका भाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्रीको कुर्सी छोडेका थिए र त्यसपछि उनी कहाँ बेपत्ता छन् भन्ने कसैलाई पनि आधिकारिक जानकारी छैन । राष्ट्रपति भवनमाथि अघिल्लो हप्ता शनिबार श्रीलङ्काका सर्वसाधारणले कब्जा जमाएका थिए ।
तर, राष्ट्रपति रनिल विक्रमासिङ्घे पनि श्रीलंकामा अलोकप्रिय छन् र उनको निजी निवासमा पनि आक्रोशित भीडले आगजनी गरेको थियो ।