बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

संसदमा प्रेम सुवालको प्रश्न :  नेपालको सीमास्तम्भ पिलर नम्बर १ सय ९५ खोइ ?

बुधबार, ०४ साउन २०७९, १२ : ३६
बुधबार, ०४ साउन २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारतले नेपालको सिमाना मिचेको विषयमा संसद र सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद  सुवालले कञ्चनपुरको पुर्नवास फाँटमा रहेको पिलर नम्बर १ सय ९५ ढालिएको वर्षौं भएको बताएका छन् । ढालिएको सीमास्तम्भ निर अचेल नेपालीलाई जान नदिएको उनले बताए । 

सांसद सुवालले भने–‘पिलर नम्बर १ सय ९६ भारत सरकारले वर्षौदेखि गायव पारेको छ । सो पिलर ढालेर ५ किलोमिटर नेपाल छिरेर नक्कली पिलर बनाएको जनताको गुनासो छ । भारत सरकारले डुढुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको नेपालको भूभाग रहेको जंगल माओवादी द्वन्द्वकालमा गायव बनाएको स्थानीय जनता बताउँछन् । स्थानीय जनताका अनुसार २ लाख ५० हजार बर्ग मिटर क्षेत्रमा रहेको प्याराताल लगायतका क्षेत्रको करिब २ सय बिघा जमिन अतिक्रमण गर्न १ सय ९५ नम्बरको पिलर ढालेको र १ सय ९६ नम्बरको पिलर गायव बनाएको बताइन्छ ।’

उनले भारतले कञ्चनपुरको पुर्नवास, परासन, खुङ्कंकड, रामपुर, बिलासपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, गठ्ठा चौकी र ब्रह्मदेवको नेपालको भूमी मिचेको स्थानीय जनताको गुनासो रहेको बताए । उनले जति जति नेपालका सरकारी पदाधिकारी र नेताहरु भारत भ्रमणमा जान्छन् त्यति त्यति नै भारतले सीमा अतिक्रमण गर्दैै लगेको बताए । 

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा भारत भ्रमणमा गएका बेला भारतले नेपालको भूमी मिच्ने काम तीब्र पारेको भन्दै प्रचण्डलाई यसबारे सदनमा बोल्न समय दिनुपर्ने बताए । उनले भारतीय प्रहरी टोली  नेपालमा गोप्य रुपमा आएको र त्यसका रअका ६ जना सदस्यपनि रहेको सुन्नमा आएको बताए । उनीहरु यूरोनियम तस्कर खोज्दै आएको र यसबारे गृहमन्त्रीलाई सदनमा जवाफ दिन माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप