शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय विशेष समितिले भेट्यो पूर्व अर्थसचिव ढुंगाना

बुधबार, ०४ साउन २०७९, १२ : २०
बुधबार, ०४ साउन २०७९

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माविरुद्ध लागेको आरोपमाथि छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व अर्थ सचिवसँग बयान लिएको छ । समितिले आज बिहान बसेको बैठकमा अर्थमन्त्री विरुद्ध लागेको आरोपको विषय छानबिन गर्नेक्रममा पूर्व अर्थसचिव शिशिरकुमार ढुंगानासँग बयानका लागि भेटघाट गरेको हो ।

समितिका सचिव सुरेन्द्र अर्यालले पूर्वअर्थसचिव ढुंगानासँग बयान लिएको रातोपाटीलाई बताए । भने, ‘छानबिनका क्रममा आज विहान १० बजेसम्म ढुंगानासँग बयान लिइयो ।’ समितिले ढुंगानासँग अर्थमन्त्रालयमा जडित सीसीटीभीको क्षमता, बजेट निर्माण प्रक्रिया लगायतका विषयमा बयान लिएको हो ।

समितिले आज जनार्दन शर्मासँग बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको संलग्नता रहे÷नरहेको विषयमा बयान लिने कार्यक्रम तय भएको थियो । तर, आज रहेको दुवै सदनको बैठकका कारणले अहिलेसम्म समय तय भइसकेको छैन । ‘आज बिहान शर्मासँग बयान लिन भ्याइएन,’ अर्यालले भने, ‘हाउस छोट्याएर बेलुका समय मिलाएर बयान लिन सकिन्छ । अन्यथा भोलि बयान लिन सकिन्छ ।’

बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्ति पसेर करका दर हेरफेर गरेको आरोप लागेपछि तत्कालिन अर्थमन्त्री शर्माले यही असार २२ गते पदबाट राजीनामा दिएका थिए । सोही दिन ११ सदस्यीय सदस्य रहनेगरी संसदीय विशेष समिति गठन गरिएको थियो । समितिले भोली बिहीबारसम्म प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।

तर, १० कार्यदिनसहित गठन भएको समितिले अहिलेसम्म अर्थमन्त्री शर्माविरुद्ध केही प्रमाण भेट्टाएको छैन । यस्तै, अर्थ मन्त्रालयबाट बजेट भाषणको अघिल्लो दिन अर्थात जेठ १४ गते रातीको सीसीटीभी फुटेज समेत पाएको छैन । यसैगरी, अर्थमन्त्रालयका पदाधिकारी र सचिवद्वयमध्ये कसैले पनि बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको बयान दिएका छन् ।

अर्थ मन्त्रालयका कर्मचारीले आरोप पुष्टी हुनेगरी बयान नदिएपछि समितिले नेपाल प्रहरीको साइबर ब्यूरोसँग समेत परामर्श गरेको छ । मेटिएको सीसीटीभी फुटेज पुनः निकाल्न सम्भाव्यता रहे÷नरहेको विषय बुझ्न साइबर ब्यूरोका प्रतिनिधिसँग छलफल गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप