बागलुङ कालिका मन्दिरको आम्दानी साढे दुई करोड
बागलुङ कालिका भगवती गुठीले एक वर्षमा रु दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि हालसम्म उक्त आम्दानी भएको हो । माघसम्म तत्कालीन अध्यक्ष राजु खड्का नेतृत्वको र फागुनपछि कुमार खड्का अध्यक्ष रहेको समितिले काम गरेको थियो ।
अघिल्लो समितिको रकम अपनत्व लिएको गुठीले असार मसान्तसम्म उक्त अङ्कको आयव्यय भएको सार्वजनिक गरेको हो । खर्चतर्फ तलबका लागि रु १८ लाख ९१ हजार र बिजुली महसुल रु एक लाख १४ हजार खर्च भएको उल्लेख छ ।
हाल निर्माण सम्पन्न भएको सत्तलका लागि रु ६२ लाख ६५ हजार र पूजा खर्चतर्फ रु दुई लाख ९३ हजार देखाइएको छ । कर्मचारीको पोशाकका लागि रु तीन लाख ५९ हजार ६५०, मेसिनरी तथा उपकरण खरिद शीर्षकमा रु १२ लाख ४६ हजार खर्च गरेको देखिएको हो । खाद्यान्न तथा आवासतर्फ रु दुई लाख ४१ हजार, दैनिक भ्रमण भत्ता शीर्षकमा रु एक लाख ९६ हजार, सामान खरिदमा रु तीन लाख चार हजार र चैत्रास्टमी मेलाका लागि रु १८ लाख खर्च भएको हो ।
आम्दानीतर्फ भक्तजनले चढाएको चामलबाट रु दुई लाख ७९ हजार, बोकाको टाउको बिक्री रु सात लाख ३४ हजार, कुखुराको रु ८० हजार, राँगाको रु १७ हजार आम्दानी भएको हो । भाडामा दिएको सटरबाट रु १७ लाख ४७ हजार, आर्थिक सहयोगमार्फत रु १० लाख ७६ हजार कमाइ भएको देखिएको हो ।
आम्दानी र खर्चमध्ये बैंकमा रु ७८ लाख ९४ हजार र साना नगदी कोषमा रु आठ हजार ९०० रहेको देखिएको छ । उहाँले आजदेखि नै कालिका भगवती मन्दिरको गेट रातको समयमा बन्द गर्ने निर्णय गरेको सुनाए । “अनधिकृत मानिस प्रवेश गर्ने, सुरक्षामा चुनौती” भएको र मन्दिरमा अन्य घटना पनि हुनसक्ने भन्दै गेट बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै हाल सवारीसाधन पार्किङ गरिरहेको स्थान मानव सेवा आश्रमको जिम्मामा दिने निर्णय गरेको छ । उक्त स्थानमा उठ्ने सवारी शुल्क आश्रमले व्यवस्थापन गरेर आम्दानीको रूपमा लैजान पाउने भएको हो । यहाँ शुल्क उठाउँदा बढी लिएको वा अन्य समस्या आएको भन्दै उजुरी आएपछि सेवा मूलक काममा खर्चर्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।
गुठीले मन्दिर परिसरभित्र रहेका पुराना जीर्ण संरचनालाई पुरातात्विक हिसाबले निर्माण गर्ने, मन्दिर बाहिर सुविधासम्पन्न विद्याश्रम र धर्मशाला बनाउने, ऐतिहासिक धार्मिक सङ्ग्रहालय बनाउने योजना अगाडि सारेको छ । मन्दिर परिसरमा अखण्ड धुनी निर्माण गर्ने, काठबाट निर्मित हवन कुण्ड बनाउने, भक्तजनलाई शुद्ध खानेपानीको व्यवस्थापन गर्ने, महिला मैत्री, फरक क्षमता भएका व्यक्तिको सहज हुने शौचालय बनाउने रणनीतिक योजना बनाइएको छ ।
नियमित भजन कीर्तनलाई निरन्तरता दिने, वेबसाइट निर्माण, भक्तजनको रेकर्ड सुरक्षित गर्न सकिने मेसिन जडान गर्ने, जङ्गली जनावरको संरक्षण गर्ने, गरिब जेहेन्दार, अनाथ र असहाय बालबालिकाको शिक्षा आर्जनमा अभिभावकत्व ग्रहण गर्ने उद्देश्यले शैक्षिक कोष निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ ।
गुठीले सामाजिक एवं मानवीय हितका लागि कालिका भगवतीको नामाङ्कित गरेर एम्बुलेन्स, शववाहन तथा दमकलको व्यवस्थापन गर्ने लक्ष्यसमेत रणनीतिक योजनामा समावेश छ । यसअघिको समितिले बनाएको गन्तव्य कालिका अभियानलाई निरन्तरता दिएर बढीभन्दा बढी भक्तजन भित्र्याउने समेत लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख